‘विस्तारवादी नीति’का कारण सबै छिमेकीसँग भारतको सीमा विवाद

प्रकाशित मिति : २०७७ असार ३


काठमाडौं । नेपाल–भारत सीमा विवादले अहिले नेपाल र भारतबीचमा तनाव उत्पन्न गरिरहेको छ । नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूभाग आफ्नो नक्सामा गाभेपछि सतहमा देखिएको तनाव नेपालले उक्तभूमि सहितको नयाँ नयाँ राजनीतिक र प्रशासनिक नक्शा जारी गरेपछि र विशेषगरी निशान छाप र संविधानमा समेत कायम गर्न सर्वसम्मत रुपमा संविधान संशोधन गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । नेपाल–भारतको यो पछिल्ले स्थितिलाई भारतले लामो समयदेखि नेपालमाथि लाद्दै आएको विस्तारवादी नीतिको उपजको रुपमा विश्लेषण गरिएको छ ।

यही अवस्थामा चीनसँगको सीमा विवादमा सोमबार राती लद्दाखको गलवान क्षेत्रमा चीन र भारतका सैनिक बीच भिडन्त हुँदा कर्नेलसहित भारतका २० जना सेना मारिन पुगेका छन् र चीनसँग भारतको सम्बन्ध तनावपूर्ण बन्न पुगेको छ । चीन र भारतबीच सम्भावित युद्धको आँकलन र विश्लेषण गर्न थालिएको छ । भारतीय सेनाले पूर्व सहमति विपरीत सीमारेखा तोडेकोले घटना घटेको भन्दै वार्ताबाट विवाद समाधान गर्नुपर्ने धारणा चीनले सार्वजनिक गरेको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक बोलाएका छन् र उच्चस्तरीय छलफललाई तीव्र पारेका छन् ।

चीनसँगको सीमा विवाद
भारतको सबैभन्दा धेरै सीमा विवाद चीनसँग छ । साना राष्ट्रलाई बलमिच्याइँ गर्ने भारत चीनसँग यस्तो व्यवहार देखाउन सक्दैन ।

यी दुई राष्ट्रका बीच सीमाकै कारण पटक पटक युद्ध समेत भइसकेको छ । युद्धमा भारतले हारको स्वाद चाखिसकेको छ । तर पनि भारतले चीनको जमिनमा आँखा गाड्न भने छोडेको छैन ।

अक्साई चीन क्षेत्र एउटा ज्वलन्त उदाहरण हो । उत्तर पश्चिम तर्फ तिब्बती क्षेत्र र दक्षिणतिर कुनलुन हिमाल रहेको सो चिनियाँ क्षेत्रमा भारतले आँखा गाड्ने गरेको छ । करिब ३५ हजार २ सय ४१ किलोमिटर क्षेत्रफललाई चीनले आफ्नो सिन्जियाङ स्वायत्त क्षेत्र मान्दै आएको छ । भारतले भने यसलाई लद्दाखको भूभाग भएको भन्दै आफ्नो दावी छोडेको छैन ।

त्यस क्षेत्रमा बुद्धिस्टहरुको बाहुल्य छ । त्यहाँ केही मुस्लिम आदिवासी पनि छन् । सो क्षेत्रलाई भारतले लाइन अफ कन्ट्रोल मानेको छ । तर पनि सो क्षेत्रमा चीन र भारत दुबै पक्षका सैनिकबीच नियमित रुपमा भिडन्त हुने गरेको छ । यो भूमि पहिला पाकिस्तानले उपभोग गरेपनि सीमा विवाद मिलाउने क्रममा चीनलाई हस्तान्तरण गरेको थियो । तर, भारतले भने दावी छोडेको छैन ।

यस्तै देप्सांगको मैदानमा पनि उस्तै विवाद छ । चीन अक्साईचिन र भारतको लद्दाखसँग जोडिएको सो क्षेत्रको अधिकांश भूभाग चिनियाँको नियन्त्रणमा छ । सन् १९६२ मा यही क्षेत्रका लागि भारत र चीनको युद्ध भएको थियो । तर, अहिलेसम्म पनि सीमा विवाद सुल्झेको छैन ।

विवादको घेरामा परेको भारत–चीन सीमामा पर्ने अर्को क्षेत्र हो देमचोक क्षेत्र । सो क्षेत्र अन्तर्गत देमचोक, चुमार, कौरिक, शिप्की ला, नेलाङ, पुलाम, सुम्दा, साङ, जधाङ र लप्थल पर्छन् । यी मध्ये देमचोक चीनको कब्जामा छ भने अन्य क्षेत्र भारतको नियन्त्रणमा छ ।

देमचोक र चुमार क्षेत्र लद्दाखको लेह जिल्लासँग जोडिएको छ । यस्तै कौरिक र शिप्की ला क्षेत्र हिमाञ्चल प्रदेशको किन्नौर जिल्लासँग जोडिएको छ । उत्तराखण्डको उत्तरकाशी जिल्लासँग नजिक नेलाङ, पुलाम, सुम्दा, साङ जधाङ र लप्थल क्षेत्र भने तिब्बतको जाण्डा काउन्टीको क्षेत्र रहेको छ । यी क्षेत्र चीनको अधिनमा छ । यी सबै विवादित भूमि आफ्नो रहेको चीनले दावी गर्दै आएको छ । भारतले पनि यी क्षेत्रलाई आफ्नो दावी गर्ने गरेको छ ।

यस्तै उत्तराखण्डको बाराहोटी क्षेत्रस्थित चरण भूमि भारतले कब्जा गरेको छ । त्यसलाई पनि चीनले आफ्नो भूमि भन्दै आएको छ ।

यस्तै काराकोरम पारीको करिब ५ हजार ८ सय वर्ग किलोमिटर भूभागमा पनि भारतले चीनसँग बखेडा झिकेको छ । शिनजियाङ स्वायत्त क्षेत्रको कारगिलिक काउन्टीको सो भूभाग चीनको नियन्त्रणमा छ । तर, भारत यो क्षेत्र जम्मू र कश्मीर अन्तर्गत पर्ने भन्दै चीनसँग विवाद गरिरहेको छ । भारत र पाकिस्तान छुट्टिएपछि यो क्षेत्र पाकिस्तानको भागमा परेको थियो । त्यहाँ सन् १९६३ सम्म पाकिस्तानले नियन्त्रण कायम राखेको थियो ।

सन् १९६३ मा पाकिस्तानले चीनसँग सीमा सम्बन्धि सम्झौता गरेर यो क्षेत्र चीनलाई दिएको थियो । तर, भारत भने अझै पनि यो क्षेत्रमा दावी गरिरहेको छ ।

अरुणाञ्चल प्रदेश पनि यस्तै विवादित क्षेत्र हो । सन् १९१४ मा तिब्बती सरकार र ब्रिटिश सरकारबीचको सम्झौतालाई आधार मानेर भारतले सो भूमि कब्जा गरेको छ । तर, तिब्बत र ब्रिटिशको सो सम्झौतालाई भने चीनले कहिल्यै मान्यता दिएको थिएन ।

सन् १९७२ मा यसलाई अरुणाञ्चल प्रदेश नामाकरण गरियो । यसको दक्षिण तर्फ भारतको आसाम, नागाल्याण्ड पर्छ भने पूर्व तर्फ म्यानमार, पश्चिम तर्फ भुटान र उत्तर तर्फ चीन पर्छ । तिब्बतको दक्षिण भाग भएकाले पनि चीनले यसमा दावी गरेको हो ।

पाकिस्तान

भारतले छिमेकीसँग सधैं विवादको सम्बन्ध राख्दै आएको छ । यसरी हुने विवादमध्ये पाकिस्तानसँगको विवाद सबैभन्दा जटिल मानिन्छ । उस्तै स्वभावका भारत र पाकिस्तान भूमि सम्बन्धी विवादमा सधैं खरो रुपमा उत्रने गरेका छन् ।

कश्मीर क्षेत्रको विवाद सबैभन्दा जटिल विवाद हो । सन् १९४७ मा भारत र पाकिस्तान छुट्टिएपछि नै यो क्षेत्रको लागि विवाद हुन सुरु गरेको हो । नेपाल र म्यानमार जस्ता असल मित्रसँग कटु व्यवहार गर्ने भारतले पाकिस्तानसँग भने त्यसरी व्यवहार गर्न भने सक्दैन ।

सो क्षेत्र अन्तर्गत भारतले जम्मू र कश्मीर क्षेत्र कब्जा गरेको छ भने पाकिस्तानले कश्मीर र गिल्गित–बल्तिस्तान क्षेत्र कब्जा गरेको छ । यी क्षेत्रका लागि यी दुई राष्ट्रबीच तीन पटक युद्ध समेत भइसकेको छ ।

कश्मीर विवाद मात्र होइन भारतको पाकिस्तानसँग सियाचिन हिमनदी, साल्टोरो पर्वत र सर क्रिक दहमा समेत विवाद छ ।

२५ सय ५३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको सियाचिन हिमनदी काराकोरमको पूर्व क्षेत्रमा पर्छ । यो क्षेत्रमा भारतले कब्जा गरेको छ । यो हिमनदी गैर धु्रवीय क्षेत्रमध्ये विश्वकै दोस्रो लामो हिमनदी हो ।

यस्तै साल्टोरो पर्वतलाई भारतले जम्मू र कश्मीरको भूमि मानेको छ भने पाकिस्तानले गिल्गित–बल्तिस्तानको क्षेत्र मानेको छ । यसको मुख्य चुचुरोमा भारतले कब्जा गरेको छ भने पश्चिम क्षेत्रमा भने पाकिस्तानले आफ्नो सेना राखेको छ ।

सर क्रिक क्षेत्र भने पानीको दह हो । करिब ९६ किलोमिटर क्षेत्रफल भएको यो दहको पूर्वीय क्षेत्र पाकिस्तानले कब्जा गरेको छ भने अन्य क्षेत्रमा भारतले कब्जा गरेको छ ।

म्यानमार

भारतको ठूला देशसँग मात्र नभइ साना देशसँग पनि सीमा विवाद हुँदै आएको छ । भारतको मणिपुरसँग जोडिएको म्यानमारको काबा उपत्यका र नामफोलोङ गाउँका साथै तमु क्षेत्रका सीमामा भारतले म्यानमारसँग अनावश्यक विवाद गर्दै आएको छ ।

तर पाकिस्तान र चीनले जस्तो प्रतिवाद नगरेपनि म्यानमारले आफ्नो भूमिमा निरन्तर दावी गर्दै आएको छ ।

श्रीलंका

भारत र श्रीलंकाको सीमामा पर्ने निर्जन भूमि कच्छथिभुमा पनि भारतले विवाद सुरु गरेको थियो । यो क्षेत्रलाई क्याथोलिक धर्मस्थल मान्दै श्रीलंकाले पवित्रस्थलको दर्जा दिएको छ । सन् १९७४ मा इन्दिरा गान्धीको नेतृत्वमा रहेको भारतीय सरकारले यो भूमि श्रीलंकाको नै रहेको स्वीकारेको थियो । त्यसबेला कानूनी आधार र ऐतिहासिक प्रमाणका आधारमा भारतले श्रीलंकाको दावी मान्न बाध्य भएको थियो । तर, भारतीय संसद्ले सो सहमतिलाई पारित गरेन ।

केन्द्र सरकारले समेत श्रीलंकाकै मानेको यो भूमि तमिलनाडु राज्य सरकारले श्रीलंकासँग फिर्ता मागेको थियो । तर श्रीलंकाली राष्ट्रपति माहिन्दा राजापाक्षेले यसलाई ठाडै अस्वीकार गरे । अन्तर्राष्ट्रिय समुदायले समेत आफ्नो प्रमाणलाई वैधता दिइसकेकाले यसलाई फिर्ता दिन नसक्ने तमिलनाडु राज्य सरकारलाई उनको जवाफ थियो ।

बंगलादेश

भारत र बंगलादेशको सीमामा पर्ने दक्षिण तालपट्टिमा समेत विवाद छ । ‘बे अफ बंगाल’ क्षेत्रको निर्जन बलौटे भूमि बंगलादेश क्षेत्रमा पर्छ । सन् १९७० को भोला नामको आँधीका कारण यो क्षेत्रमा नदीले सीमा छुट्टयाएको थियो । तर यी भूभाग आफ्नो भन्दै भारतले बंगलादेशसँग विवाद गर्दै आएको छ ।

यस्तै भारत र बंगलादेशको सीमामा रहेको चित्रमहल क्षेत्रमा पनि यी दुई देशले लामो समय विवाद गर्नुप¥यो । सीमा समस्या समाधानका लागि धेरै प्रयास भएपनि भारतको तर्फबाट अनेक अड्चन आइरहे ।

विवादित भूमिलाई मिलाउन भारत र बंगलादेशको तर्फबाट सन् १९७४ मा सम्झौता भयो । तर भारतीय संसद्ले यसलाई स्वीकृती दिएन ।

अनावश्यक विवादका कारण दुई देशको सम्बन्ध सधैं तनावपूर्ण रह्यो । तर सन् २०११ मा नयाँ सन्धी गरेपछि भने भारतीय संसद्ले त्यसलाई पारित ग¥यो । यो सँगै ४१ वर्षसम्म कायम रहेको यो क्षेत्रको विवाद समाधान भएको थियो ।

भुटान

भुटानको भारतसँग सीमा विवाद खासै नरहेपनि चीनसँग भुटानको सीमा विवाद भने रहेको छ । विशेषगरी चीन–भुटानको दोक्लाम क्षेत्रमा यी दुई देशबीच सीमा विवाद छ ।
तर, भारतले यो विवादमा भुटानलाई चीनसँग मिल्न नदिने अनेक षड्यन्त्र गरेको थियो । यो विवादमा भारतले भुटानको सीमामा आफ्नो सशस्त्र सैन्य बल पठाएपछि भुटान सशंकित बनेको थियो ।

भुटानले यस अवस्थामा रचनात्मक भूमिका खेल्दै भारतीय सैन्य बललाई सो स्थानबाट फर्काएको थियो ।