भिडन्तमा २० सैनिक मारिएपछि मोदी तनावमा, बोलाए सर्वदलीय बैठक, चीनले भन्यो घटनामा हामी जिम्मेवार छैनौं

भिडन्तमा २० सैनिक मारिएपछि मोदी तनावमा, बोलाए सर्वदलीय बैठक, चीनले भन्यो घटनामा हामी जिम्मेवार छैनौं


न्यूज एजेन्सी । चीनसँगको भिडन्तमा यही सोमबार राती कर्नेलसहित आफ्ना २० सैनिक मारिएपछि भारतीय प्रधानमन्त्री तनावमा देखिएका छन् । भारत र चीनको सीमा क्षेत्र लद्दाखको गलवान घाँटीमा तनाव बढेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्बदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयले सर्बदलीय बैठक जुन १९ (शुक्रबार) ५ बजेलाई बोलाएको छ ।
प्रमुख पार्टीका सभापति सो बैठकमा भिडियो कन्फेरेन्सबाट बैठकमा सहभगी हुने न्यूज एजेन्सीहरुले जनाएका छन् ।
भारत–चीनको सीमा क्षेत्रमा सोमबार राति भएको झडपमा २० भारतीय सेनाको ज्यान गएको थियो । चीनतर्फ हताहती भएको दावी गरिए पनि चीनले हताहतीबारे विवरण सार्वजनिक गरेको छैन ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले गलवान घाटीमा भएको झडपमा चीन जिम्मेवार नरहेको बताएका छन् । घटना चीनको इलाकामा भएकाले यसमा चीन जिम्मेदार नरहेको उनले बताए ।

उनले भारतले भारतीय बोर्डर प्रोटोकल र चीनका कमाण्डर स्तरमा भएको सहमतिको उलंघन गरेको आरोप लगाएका छन् । चीनले सीमामा संघर्ष नचाहेको बताउदै दुवै देशबीच कुटनीतिक र सैनिक स्तरमा कुराकानी भइरहेको पनि बताएका छन् ।

चीनसँगको भिडन्तमा मारिएका २० जना सैनिकहरुमध्ये कर्णेल वि सन्तोष बाबु, हवलदार पटनी र जवान कुन्दन ओझाको घटनास्थलमै मृत्यु भएको बताइएको छ भने भिडन्तमा घाइते १७ सैनिकको पछि मृत्यु भएको जनाइएको छ ।

घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर र चीफ अफ डीफेन्स स्टाफ सहित सेनाध्यक्ष सहित उच्च सुरक्षा अधिकारीहरुसँग वैठक समेत गरेका छन् ।

यो घटनालाई भारत र चीनको विवादित सीमामा ४५ सालपछि पहिलोपटक यति ठूलो घटना घटेको बताइएको छ ।