सीमामा नेपाली सुरक्षाकर्मीमाथि भारतीयहरुको श्रृङ्खलाबद्ध आक्रमण, प्रतिरक्षामा एक भारतीयको मृत्यु

सीमामा नेपाली सुरक्षाकर्मीमाथि भारतीयहरुको श्रृङ्खलाबद्ध आक्रमण, प्रतिरक्षामा एक भारतीयको मृत्यु


काठमाडौं । २०७७ जेठ ३० गते विहान ९ बजे सर्लाही जिल्लाको पर्सा गाउँपालिका ३ नारायणपुरस्थित सीमा इलाकामा नेपाली सुरक्षाकर्मीमाथि भारतीयहरुले आक्रमण गरेका छन् । सवासय जति भारतीयहरूले भारतबाट सामानहरू वसारपसार गर्न पाउनु पर्छ भन्दै नेपाल प्रवेश गरेर एफओबी पोष्ट नारायणपुरबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षकको टोलीमाथि ढुंगामुडा प्रहार गरेपछि प्रतिरक्षाका लागि हवाइ फायर गरेको थियो । शंकास्पद भारतीय नागरिकहरूले ढुंगामुढा मात्रै होइन हातपात गर्ने र सशस्त्र प्रहरीको एसएलआर हतियार समेत खोसेर आक्रमण गर्ने प्रयास गरे नेपाली सुरक्षाकर्मीहरुले आत्मरक्षाका फायर खोल्दा एक भारतीय घाइते हुन पुगेको र उसको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
हवाइ फायर गरेर भीड तितरवितर पछि पनि भारतीयहरू नेपालभित्रै प्रवेश गरेर निरन्तर आक्रमण गरेका थिए । उक्त झडपमा ३ जना सशस्त्र प्रहरी र एकजना भारतीय घाइते भएका थिए । भारतीय सुरक्षा स्रोतका अनुसार, सो झडपमा परेर घाइते भएका भारतीय नागरिक २७ वर्षीय विकेश कुमारको उपचारको क्रममा भारतमा मृत्यू भएको र थप दुई जना घाइते भएका छन् । नेपालको सशस्त्र टोलीतर्फ भएका घाइतेहरुको उपचार भइरहेको छ ।

लकडाउनपछि नेपाल–भारत ओहोरदोहोर रोकिएका कारण व्यापारमा समस्या भएको भन्दै उनीहरू जबर्जस्ती नेपाल पस्न खोजेका थिए । भारतबाट दैनिक सामान ल्याएर दिनभरि नेपालमा बेच्ने उनीहरूको व्यापार थियो ।

सर्लाहीका सिडिओ मोहनबहादुर जिसीका अनुसार शुक्रबार सुरुमा २०–२५ जना नेपाल पस्न खोजेका थिए । तर, सशस्त्रले रोकेपछि उनीहरू आक्रमणमा उत्रिए । सशस्त्रको एक थान हतियार पनि खोसे । लगत्तै थप ७०–८० जनाको समूह पनि आएर ढुंगा, इँटा र लाठाले आक्रमण गर्दै लखेट्न थालेपछि सशस्त्रको टोलीले भिड तितरबितर पार्न हवाईफायर गरेको थियो । तर, हवाईफायरबाट थप उत्तेजित भिडले ज्यान जोगाउँदै तीन सय मिटर वर आइसकेको सशस्त्रको टोलीलाई आक्रमण गर्न नछाडेपछि गोली चलाउनुपरेको थियो ।

सशस्त्रको संग्रामपुरस्थित बोर्डर आउट पोस्ट (बिओपी)बाट नारायणपुर पोस्टमा सधैँ असइको नेतृत्वमा सातजनाको टोली खटिने गरेको थियो । तर, शुक्रबार हवल्दार सञ्जय रायको नेतृत्वमा टोली खटिएको थियो । झन्डै सयको संख्यामा आएका भारतीयको समूहले आक्रमण गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको सशस्त्रको १० नम्बर गण कविलासीका एसपी गंगाराम श्रेष्ठले बताए । उनका अनुसार सशस्त्रले १० राउन्ड हवाईफायर र पाँच राउन्ड गोली चलाएको छ । हतियार खोस्ने भारतीय नागरिक नवलकिशोर रायलाई पक्राउ गरी हतियार फिर्ता लिएको एसपी श्रेष्ठले बताए । उनी अहिले प्रहरी हिरासतमा छन् ।
यसअघि १८ जेठमा पनि जिल्लाको विष्णु गाउँपालिका–२ पकडीस्थित फेनहरा नाकामा खटिएका सशस्त्र प्रहरीमाथि ठूलो संख्यामा आएका भारतीय व्यापारीहरूले आक्रमणको प्रयास गरेका थिए । त्यतिखेर पनि उनीहरूले सशस्त्रको हतियार खोस्ने प्रयास गरेका थिए । तर, सशस्त्रले हवाईफायर गरेर भिड तितरबितर बनाएको थियो ।

लकडाउनपछि सशस्त्रले सीमामा कडाइ गरेपछि भारतीयहरू आक्रोशित बन्दै गएको पर्सा गाउँपालिका–३ नारायणपुरका दिलीपकुमार साहले बताए । ‘उनीहरूको दैनिक सामान ओसार्ने, पैसा कमाउने धन्दा सबै बन्द छ । भारतीयहरू जसरी भए पनि सशस्त्रलाई सीमाबाट लखेट्न चाहन्छन्,’ उनले भने ।

बाराको सुवर्ण गाउँपालिका–३ को पञ्चगछिया बस्ती भारतीय सीमावर्ती गाउँ हनुमाननगरसँग टाँसिएको छ । कोभिड–१९ को महामारी रोक्न सरकारले चैत ९ मा सीमा सिल ग¥यो । सशस्त्र प्रहरी खटाइए । त्यसयता प्रदेश २ मा मात्रै भारतीयले बलजफ्ती पस्न खोजेको १८ वटा घटनामा सशस्त्र प्रहरीलाई तारो बनाएका छन् । नाका बन्दपछि सीमामा तैनाथी र निगरानी बढाएपछि भारतीय पक्षबाट सशस्त्र प्रहरी केन्द्रित आक्रमण बढेको हो ।

प्रदेश २ का आठवटै जिल्ला भारतसँग सीमा जोडिएको सीमा ४ सय ६४ किलोमिटर छ । सीमानाका सिल भएपछि प्रदेश २ मा ६ हजार ३ सय २३ सशस्त्र प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरीको ५३ वटा बीओपी र त्यस मातहतको ९४ वटा फरवार्ड पोस्टबाट सीमामा निगरानी र पहरा गरिएको छ ।

नेपाल प्रहरीको जनकपुरस्थित प्रदेश कार्यालयको तथ्यांकअनुसार सीमा सिल भएयता प्रदेश २ को नाकाबाट १७ हजार ३४ जना भारत गएको र त्यही अवधिमा २५ हजार ७ सय ६२ जना भारतबाट नेपाल प्रवेश गरेका छन् ।

नाकामा खटिएका सुरक्षाकर्मी लक्षित आक्रमण बढेपछि अबका लागि नयाँ सुरक्षा रणनीति बनाउन छलफल थालिएको प्रहरी स्रोतले जनाएको छ ।