अमेरिकी सङ्कटबारे—२

प्रकाशित मिति : २०७७ जेष्ठ ३१

- इन्द्रमोहन सिग्देल

 
गएको मई २५का दिन संयुक्त राज्य अमेरिकाको मिनेसोटा राज्यको मिन्नेपोलिस शहरमा पुलिस हिरासतमा रहेका एकजना अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको नृशंस हत्या भएको थियो । तीन जना पुलिसको सहयोगमा अर्का एकजना पुलिसले दिन दहाडै खुला सडकमा करीव ९ मिनेटसम्म जर्ज फ्लोयडको घाँटी थिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि सल्किएको अश्वेतहरुको विद्रोह अहिले पुरै अमेरिका भरि फैलिएको छ । त्यति मात्र होइन, वेलायत, फ्रान्स, जर्मनी, इटली, स्पेन, बेल्जियम, ग्रीस, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा लगायतका थुप्रै देशहरुमा बसोबास गर्ने काला जातिका मानिसहरुले उक्त विद्रोहप्रति ऐक्यवद्धता जाहेर गरेका छन् । यतिबेला अमेरिका मात्र होइन, विश्वका सबै विकसित साम्राज्यवादी देशहरुमा “ब्ल्याक लाइभ्स म्याटर” अर्थात् काला जातिका मानिसहरुको पनि अर्थ छ भन्ने नाराका आधारमा एकतावद्ध भएका अश्वेतहरुले सडक कव्जा गरेका छन् । यो आन्दोलन विस्तार मात्र भएको छैन, यसले अमेरिका लगायत हिजोका औपनिवेशिक देशहरुमा समेत ठुलो तरङ्ग ल्याइदिएको छ । यो सङ्क्षिप्त लेख यी नै विषयमा केन्द्रित रहने छ ।

अमेरिकामा बसोबास गर्ने काला जातिका मानिसहरु त्यहाँका आदिवासी होइनन् । तिनीहरु अफ्रिकाबाट किनेर अमेरिका ल्याइएका दाशहरु हुन् । सत्रौ शताव्दीको पहिलो दशक तिर उनीहरुलाई सुर्ती र कपासको खेति गर्नका लागि वेलायतले आफ्नो उपनिवेश रहेको अमेरिकाको भर्जिनिया क्षेत्रमा ल्याइएको थियो । त्यसपछि अन्य विभिन्न कामका लागि पनि अमेरिकाका विभिन्न क्षेत्रहरुमा दाशहरु ल्याउन थालियो । सत्रौ शताव्दी देखि अठारौ शताव्दीको अन्त तिर आइपुग्दा दाशका रुपमा अमेरिका ल्याइएका अफ्रिकन मुलका मानिसहरुको सङ्ख्या लाखौंको हाराहारीमा पुगि सकेको थियो । अमेरिकामा १८६१ देखि १८६५ सम्म चलेको गृहयुद्ध पछि करीव ४० लाख दाशहरुलाई अमलेख गरिएको भए पनि पहिले देखिनै गोरा जातिका शासकवर्गमा जरा गाडेर बसेको आफुलाई दाशहरुका मालिक र काला जातिका मानिसलाई दाश मान्ने मानसिकता अर्थात् गोराहरुको उच्च नश्लीय मानसिकता अहिलेसम्म पनि भत्किएको छैन । श्रमजीवि वर्ग कै भए पनि त्यहाँका गोरा जातिका मानिसले आफुलाई शासक जाति मान्दछन् र काला जातीका मानिसहरुमाथि अहिलेसम्म पनि दाश कै जस्तो व्यवहार गर्ने गरिन्छ ।


अफ्रिकन मुलका मानिसहरु अन्य विकसित पुँजीवादी देशहरुमा उल्लेख्य सङ्ख्यामा बसोबास गर्छन् । ती पनि त्यहीँका आदिवाशी होइनन् । फ्रान्स, जर्मनी, स्पेन, पोर्चुृगल, इटली, ग्रिस लगायतका देशमा रहेका अफ्रिकन मुलका मानिसहरु अफ्रिकाका आफ्ना उपनिवेशबाट कामगर्न ल्याइएका मजदुर वा विभिन्न सन्दर्भमा किनेर ल्याइएका दाशहरु नै हुन् । वेलायतको उपनिवेश रहेका अस्ट्रेलिया तथा न्युजिल्याण्ड र फ्रान्सको उपनिवेश रहेको क्यानडामा बसोवास गर्ने काला जातिका मानिसहरु पनि औपनिवेशिक शासकहरुले अफ्रिकाबाट ल्याएका दाशहरु नै हुन् । यी देशहरुमा पनि काला जातिका मानिसहरु गोराहरुको उच्च नश्लीय मानसिकताबाट उत्पीडित रहिआएका छन् । अहिले विश्वभरी छरिएर रहेका काला जातिका मानिसहरुका बीच अमेरिकामा विष्फोट भएको विद्रोहप्रति जुन ऐक्यवद्धताको भाव देखियो त्यसका पछाडि दाशयुगको वर्वर दमन र औपनिवेशिक कालको उत्पीडनको प्रभावले महत्वपुर्ण भुमिका खेलेको छ ।
अमेरिकामा काला जातिका मानिस माथि यस्ता क्रुर, अमानवीय र गैरन्यायिक हत्या यसभन्दा पहिला पनि धेरै हुने गर्दथे । तर, प्रायः ती सबै त्यसै हराएर जान्थे । यसपटक जर्ज फ्लोयडको वर्वरतापुर्ण हत्या जसरी सार्वजनिक भयो त्यसले काला जातिका मानिसमा तुरुन्त विद्रोहको ज्वाला दन्काइ दियो । शासक वर्गका मानिसहरु पनि यसमा अवाक भए । त्यतिमात्र होइन, अमेरिकाका डेमोक्रेटिक पार्टीका नेताहरुले सामुहिक रुपमा घुँडा टेकेर आन्दोलनको पक्षमा उभिए, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सडकमा प्रदर्शनकारीहरुका साथमा संगै घुँडा टेकेर आन्दोलन प्रति सहानुभुति दर्शाए । वेलायत, फ्रान्स, जर्मन आदि देशमा पनि यस्ता थुप्रै घटनाहरु देख्न पाइयो । अमेरिकामा नै धेरै पुलिसहरुले आन्दोलनका पक्षमा आफुलाई प्रस्तुत गरे । यति सम्म कि अमेरिकी राष्ट्रपति ट्रम्पले समेत हत्याको त्यो घटनालाई अनदेखा गर्न सकेनन् । उनले ९९ प्रतिशत पुलिसहरु बदमास छैनन् भनेर १ प्रतिशत पुलिसहरु खराव भएको कुरालाई घुमाउरो तरिकाले स्वीकार्न बाध्य भए । आन्दोलनको एजेण्डालाई समर्थन जनाएर शासकहरुले विद्रोहको आगोमा पानी खन्याउन खोज्नु कुनै अनौठो कुरा होइन तर तिनीहरु जसरी प्रदर्शनकारीहरुसंग सडकमा उत्रिएर घुँडा टेक्न बाध्य भए त्यसमा विद्रोहीहरुको नैतिक विजय भएको छ । यसले यो आन्दोलन न्यायपूर्ण छ र यसबाट प्रतिक्रियावादीहरु निकै अत्तालिएका छन् भन्ने कुराको पुष्टि गर्दछ ।


यस आन्दोलनको अर्को महत्वपूर्ण पक्ष भनेको अमेरिकामा काला जातिका मानिसमाथि पुलिसहरुको वर्वरता र अत्याचारको भण्डाफोर हो । यसले अमेरिकी पुलिस प्रशासन कति अमानवीय, क्रुर र नृशंस छ भन्ने यथार्थलाई विश्व जनमत सामु छर्लङ्ग पारिदिएको छ । यतिबेला विद्रोहीहरुले अमेरिकी सरकारले पुलिस प्रशासनका लागि गर्दै आएको खर्च बन्दगर्नु पर्ने, प्रहरी संरचनालाई विघटन गर्नु पर्ने, त्यो रकमलाई सार्वजनिक हितमा प्रयोग गर्नु पर्ने र जनताकै बीचबाट जनसुरक्षा टिम बनाउनु पर्ने कुराहरु उठाइरहेका छन् । त्यसप्रति जनसमर्थन बढ्दै गएको छ । यति सम्म कि सिएटलका प्रदर्शनकारीहरुले शहरको क्यापिटल हिलको वरिपरिका ६ वटा ब्लकलाई स्वशासित क्षेत्र घोषणा गरेर त्यहाँ पुलिसहरुको प्रवेशलाई निषेध गरेका छन् र सशस्त्र युवाहरुले त्यहाँको सुरक्षा गरेका छन् । यी हरफहरु लेख्दासम्म त्यहाँको स्थिति निकै तनावग्रस्त छ । प्रतिक्रियावादी कित्ताभित्र पनि पुलिस प्रशासनलाई व्यापक सुधार गर्नुपर्ने कुरा आम बनिसकेको स्थितिमा डेमोक्रेटिक पार्टीले त पुलिस सुधार विधेयक नै तयार पारिसकेको छ ।


यस आन्दोलनमा देखिएको अर्को उल्लेखनीय विषय भनेको दासयुगका समयमा दासहरुको व्यापार गर्ने व्यक्तिहरु माथि आन्दोलनकारीहरुबाट व्यक्त भएको आक्रोस हो । त्यो आक्रोस धेरै देशहरुमा अभिव्यक्त भएको छ । विद्रोहीहरुले लण्डनमा राखिएको १८औ शताव्दीका दाश व्यापारी रोवर्ट मिलिगनको प्रतिमा ध्वस्त पारिदिएका छन् । त्यसरी नै वेलायतको व्रिस्टोलमा रहेको दाश व्यापारी एडवार्ड कोल्सटनको प्रतिमालाई तोडेर नजिकै रहेको समुद्रमा हुत्याइदिएका छन् । गृहयुद्ध पछि विभिन्न राज्यमा ठड्याइएका अमेरिकाका सङ्घीय सैनिक जेनेरलका प्रतिमाहरु अहिले ढालिएका छन् । क्रिस्टोफर कोलम्बसले अमेरिका पत्तालगाए पछि त्यहाँ औपनिवेशिक उत्पीडनको थालनी भयो भन्ने तर्कका आधारमा अमेरिकाको सेन्ट पोल शहरमा रहेको उनको प्रतिमा पनि फोडिएको छ । विद्रोहीहरुले दास व्यापारी र औपनिवेशिक शासकका ६० वटा प्रतिमाहरुलाई ध्वस्त पार्नुृपर्ने भनी कालो सुचीमा राखेको कुरा विभिन्न पत्रपत्रिकामा प्रकाशित भएको छ । कङ्गोलाई उपनिवेश बनाएको विरोधमा वेल्जियमको एन्टर्प शहरमा राखिएको त्यहाँका राजा लियोपोल्ड द्वितीयको प्रतिमामा विद्रोहीले आगो लगाएका छन् ।
प्रतिमाहरुमाथि भएको प्रहारका विरुद्ध अमेरिकी राष्ट्रपति ट्रम्प बाहेक अरु कसैले पनि खुलेर विरोध गर्न सकेका छैनन् । बरु उल्टै, वेलायतकी वर्तमान गृहमन्त्री प्रीति पटेल र वेलायतकी छाया सरकारकी विदेश मन्त्री लिसा नाण्डिले त शहरमा दासव्यापारीहरुको प्रतिमा ठड्याएर उनीहरुको सम्मान गर्न नहुने तर्क दिएका छन् । उता अमेरिकाकी तल्लो सदनकी सभामुख एवम् डेमोक्रेटिक पार्टीकी नेतृ नान्सी पेलोसीले गोरा जातीय नश्लवादको प्रतिनिधित्व गर्ने ११ वटा सङ्घीय जनरलका प्रतिमाहरु अमेरिकाका शहरहरुबाट तुरुन्त हटाउनु पर्ने माग गरेकी छन् ।

माथि उल्लेख गरिएका घटनाहरुको सङ्क्षिप्त विवरणले अमेरिकाबाट विष्फोट भएर विश्वका थुप्रै देशमा विस्तार भएको काला जातिका मानिसहरुको पनि अर्थ छ भन्ने आन्दोलने ओगटेको आयामलाई व्यक्त गर्दछ । यस प्रक्रियामा दास युगको पाशविक उत्पीडन तथा वर्गीय शोषण, उपनिवेशहरुमा भएको राष्ट्रिय उत्पीडन, अहिले गोरा जातिका शासक वर्गबाट भइरहेको नश्लीय उत्पीडन र काला जातिका श्रमजीवि वर्गमाथि भइरहेको वर्गीय शोषणका सबै रुपहरु एकै ठाउँमा गुजुल्टिएर अभिव्यक्त भएका छन् । तर, सारमा भन्ने हो भने यो विद्रोह साम्राज्यवाद तथा सर्वहारा वर्गका बीचको अन्तविरोधको स्वाभाविक परिणाम हो ।


यति बेला, संयुक्त राज्य अमेरिका गंभीर सङ्कटबाट गुज्रिरहेको छ । कोभिड–१९ लाई व्यवस्थापन गर्ने क्रममा ट्रम्प प्रशासनको लापरवाहीका कारण पैदा भएको गंभीर स्वास्थ्य सङ्कट, लकडाउनका कारण अरु थपिएको वेरोजगारी तथा आर्थिक सङ्कट र काला जातिका मानिसहरुको पनि अर्थ छ भन्ने वर्तमान आन्दोलनले पैदा गरेको नश्लीय सङ्कटका कारण संयुक्त राज्य अमेरिका यति बेला सङ्कटै सङ्कटको चक्रव्युहमा फसेको छ । चालु आन्दोलनलाई व्यवस्थापन गर्ने विषयमा रिपव्लिकन पार्टीका हस्थि र राष्ट्रपति ट्रम्पका नजिकका मानिसहरु द्वय विदेश मन्त्री तथा अमेरिकी सेनाका रिटायर्ड जनरल कोलिन पावेल र रक्षा मन्त्री तथा अमेरिकी सेनाका रिटायर्ड जनरल जेम्स म्याट्टिस ट्रम्पका कट्टर आलोचक बनेका छन् । राष्ट्रपतिका स्वास्थ्य सल्लाहकार एन्थोनी फौचीसंग ट्रम्पको बोलचाल छैन । उनी सबैतिरबाट एक्लिएका छन् । त्यसमाथि, आउने नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचन समेतका कारण अमेरिकी समाज यतिधेरै विभाजित र ध्रुवीकृत हुन जाँदै छ कि यो भयावह सङ्कट र अलगावका बीच विक्षिप्त बनेका अमेरिकी राष्ट्रपति ट्रम्पको हठका कारण अमेरिका आउने दिनमा भीषण गृहयुद्धमा धकेलिने वा अराजकतावादीलाई दमन गर्ने नाममा सेना परिचालन गरेर नरसंहार मच्चिने संभावना तिर अगाडि बढ्दै छ । लाग्छ, अमेरिकामा यतिवेला देखिएको सङ्कट त अब छिटै आउने ठूलो सङ्कटको सङ्केत मात्र हो ।


अहिले अमेरिकाको सिएटलको क्यापिटल हिल इलाकामा स्वशासित क्षेत्रको जुन घोषणा गरिएको छ त्यसलाई लाल सलाम गर्न मनलाग्छ । तर, मन लागेर मात्र के गर्नुृ अमेरिकी साम्राज्यवादको वर्तमान राज्यसत्ताभित्र स्थापना हुने स्वशासित क्षेत्रले दुश्मनलाई उक्साउने र नरसंहार निम्त्याउने नै यसको प्रमूख भुमिका हुन जान्छ । प्रचार मूल्य बाहेक अन्ततः यसले अमेरिकामा रहेका सम्पूर्ण श्रमजीवि सर्वहारा वर्ग र नश्लीय रुपमा थप उत्पीडनमा परेका काला जातिको मुक्तिका पक्षमा केही काम गर्न सक्दैन । अहिले, अमेरिका जुन भयावह सङ्कट भएर गुज्रिरहेको छ त्यसको एकमात्र समाधान माक्र्सवाद–लेनिनवाद–माओवादको मार्ग दर्शन र सर्वहारा वर्गको नेतृत्वमा हुने वैज्ञानिक समाजवादी क्रान्ति हो । अहिलेको स्थितिले देखाउँछ अमेरिकामा समाजवादी क्रान्तिका लागि वस्तुगत परिस्थिति निकै अनुकुल बन्दै गएको छ । तर चेग्वेवाराले भने जस्तो क्रान्ति भनेको रुखबाट आफै खस्ने पाकेको आँप जस्तो होइन, आँप खसाल्न झटारो हान्नु पर्छ ।
अमेरिकामा समाजवादी क्रान्तिको सफलताका लागि सबैभन्दा पहिलो शर्त मालेमावादका आधारमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण हो । र अर्को कुरा, त्यहाँका प्रतिक्रियावादी शासकहरुले गोरा जाति र काला जातिका सर्वहारा वर्गका बीचमा नश्लीय द्वन्द्व खडागरेर तिनीहरुका बीचमा एकता हुन दिइराखेको छैन । काला जाति र गोरा जातिका सर्वहारा वर्गलाई भिडाएर अमेरिकाका मुठ्ठीभर नश्लवादी शाषकहरुले आफ्नो स्वार्थको रक्षा गरिराखेका छन् । अमेरिकामा समाजवादी क्रान्तिको सफलताका लागि सच्चा कम्युनिस्ट पार्टीको नेतृत्वमा गोरा एवम् काला जातिका सर्वहारा वर्गका बीचको एकता अर्को महत्वपूर्ण शर्त हो । अहिले तत्कालै यी दुवै शर्तहरु पुरा भइहाल्ने संभावना कम छ । तर त्यहाँ विकास हुँदै गएको अन्तर्विरोधहरुको विकास र क्रान्तिको वस्तुगत आवश्यकताले अमेरिकामा छिरलिएर निर्माण भएका ससाना समुह तथा स्वतन्त्र क्रान्तिकारीहरुका बीचमा एकता गरेर एउटा सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण गर्ने काम र त्यसको नेतृत्वमा सर्वहारा वर्गको एकता अपरिहार्य वन्दै गएको छ । यसलाई केन्द्रमा राखेर अमेरिकामा रहेका कम्युनिस्ट क्रान्तिकारीहरुले विशेष मेहनत गर्नु अहिलेको अनिवार्य आवश्यकता हो । साथै यसलाई यथार्थमा बदल्नका लागि सर्वहारा अन्तराष्ट्रियतावादको मर्म अनुसार विश्वका क्रान्तिकारी कम्युनिस्टहरुले पनि विशेष सहयोगी भुमिका निर्वाह गर्नु पर्दछ ।