कोरोना महामारी संसारभर फैलिएको र ताकतवर राष्ट्रहरूले समेत नियन्त्रण गर्न मुस्किल परिरहेको अवस्थामा कतिपय मान्छेहरूले सोसल मिडियाहरूमा विज्ञानले हा¥यो भनेर हल्ला गरे । बालकृष्ण समद्वारा रचित कवितात्मक पङ्क्तिलाई आलम्बन बनाएर विज्ञानलाई चुटे—‘ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ ।’
बालकृष्ण समजस्ता विद्वान लेखकले यति फितलो कुरा किन लेखे ? प्रश्न उठाउन सकिन्छ । तर यो पंक्ति उनले आफ्नै मुखबाट सोझै नबोलेर प्रह्लाद नाटकमा प्रह्लादको मुखबाट बोलेका हुन । त्यसो त प्रल्हादलाई समको मुखपात्र स्वीकार गर्ने हो भने यो समकै विचार मान्नु पर्ने हुन्छ । जेहोस, ज्ञान र विज्ञान दुई विपरीत कुरा होइनन । विज्ञान त हजारौँ वर्षको मानव ज्ञानको क्रमबद्ध विकास हो, प्रकृतिको विशिष्ट ज्ञान हो । ज्ञान र अज्ञान दुई विपरीत कुरा हुन अर्थात विज्ञान र अज्ञान दुई विपरीत कुरा हुन ।
चाहे जुनसुकै सन्दर्भलाई लिएर हास, विज्ञान हा¥यो भन्ने विचार गलत छ । विज्ञान आफै चल्ने कुनै स्वतन्त्र वस्तु होइन । मान्छेले खोजेर निकालेको ज्ञान हो । खोजका क्रममा वैज्ञानिकहरूले अनेक प्रयोग र परीक्षण गरेका हुन्छन । त्यस क्रममा वैज्ञानिक आफैले पनि अपेक्षित वस्तु कहिले प्राप्त हुन्छ भनी ठिक ठिक भविष्यवाणी गर्न सक्दैनन । कहिले खोजेको वस्तु छिटै प्राप्त हुन्छ, कहिले लामो समय लाग्छ । लामो समय भनेको कति हो ? जति पनि हुनसक्छ । तर विज्ञानमा हार खाइदैन । एउटै वस्तु खोज्न युगौँयुगको समय लाग्न पनि सक्छ ।
मान्छेलाई चरा उडेको देखेर उड्न मन लागेको त हजारौँ वर्ष अघिदेखि हो । यस्ता उडानका मिथकहरू पूर्व पश्चिम दुवैतिर पाइन्छन । श्रीमद्भागवत लगायतका पुराणहरूमा कुवेर पुष्पक विमानमा उड्ने गरेको कथा छ । प्राचीन ग्रीसमा इक्यारस र उसका पिता ड्याडलस शरीरमा पखेटा जडेर पहाडबाट हाम्फालेको कथा छ । राइट दाजुभाइले जहाज उडाउनु अघिका अनेक उडान प्रयत्नका इतिहास पाइन्छन । इतिहासपूर्वका यस्ता कृति हजारौँ प्रयत्नहरू बेखबर लुप्त भए होलान । तर पनि मान्छे थाकेन, साँच्चैको विमान बनाएर साँच्चैको आकाशमा उडिछाड्यो ।
धर्ममा ‘शास्त्रानुसार ईश्वरले यसो भनेका छन’ भनेपछि भ्याइयो । ईश्वरले भनिसकेपछि फेरि आफूले सोचिराख्नु परेन, जे भनेका छन त्यही गरे भयो । विज्ञानमा कोही पनि सर्वज्ञ हुँदैन, अन्तिम सत्य भन्ने कुरा पनि केही छैन । एउटा वैज्ञानिकले निकालेको निष्कर्षलाई प्रयोग र परीक्षणका आधारमा अर्र्को वैज्ञानिकले गलत सिद्ध गर्न वा थपघट गर्न सक्छ । कार्य कारण सम्बन्धको प्रामाणिक तार्किकतामा अडेको हुनाले विज्ञानमा मेरै कुरा ठिक भन्ने जिद्दी हुँदैन । आफूले सिद्ध गरेको तथ्यमाथि थप खोज गरेर वैज्ञानिक आधारमा अर्र्को वैज्ञानिकले अर्कै तथ्य पत्ता लगायो भने पहिलो वैज्ञानिकले आफुले हारेको सम्झँदैन, विज्ञान एक स्टेप माथि गएको सम्झन्छ । दोस्रो वैज्ञानिकले फलानालाई जितेँ भनेर घमण्ड पनि गर्दैन । विज्ञान हार्र्ने चिजै होइन ।
अहिले पनि विज्ञान हारेको होइन, पुँजीवादी चिन्तन र चरित्रजन्य व्यवस्थापन हारेको हो । यस सन्दर्भमा हार्वर्ड विश्वविद्यालयका प्रोफेसरद्वय रिचर्ड लेवोन्टिन र रिचर्ड लेविन्सद्वारा लिखित पुस्तक ‘मुनाफाको जकडमा विज्ञान’मा उल्लेखित विचार निकै सान्दर्भिक छ— ‘विज्ञान एकातिर हजारौँ वर्षको मानव ज्ञानको क्रमबद्ध विकास हो, अर्कोतिर यो पुँजीवादी ज्ञान उद्योगको विशेष उत्पादनको तरह मालमा बदलिएर गएको छ । यसैको नतिजा हो, सम्पूर्ण वैज्ञानिक उद्यमको निरन्तर बढ्दो अतार्किकताको साथ साथै प्रयोगशाला र शोध परियोजनाको स्तरमा लगातार परिष्कृत गर्दै लगिएको एक विचित्र र विषम विकास । यो दोहोरो प्रकृतिले हामीलाई अन्तर्दृष्टि र अन्धोपन तथा ज्ञान र अज्ञानको एउटा बनावट प्रदान गर्दछ, जो प्रकृतिको आदेश होइन । यस प्रकार यसले मानवजाति सामु विद्यमान ठूलो समस्याको अगाडि हामीलाई लाचार छाडिदिन्छ ।’
पुराना रोगहरू फर्केर आउने र नयाँ रोगहरू उदाउने सम्भावना सदैव रहिरहने तथ्यउपर मुनाफामा मोहान्ध पुँजीवादले आँखा चिम्ल्यो । विफर उन्मुलन भयो, क्षय रोगको सम्भावना घटेर गयो र मलेरिया तथा पोलियोजस्ता रोगहरू पनि जितिएको ठह¥यायो । बितेका केही दशकमा युरोप र उत्तर अमेरिकामा संक्रामक रोगजन्य मृत्युमा उल्लेख्य गिरावट आएको आँकलन गरियो । र त्यसैका आधारमा सैद्धान्तिक रूपमा संक्रामक रोगहरूको महामारीको सम्भावना प्रायः समाप्त भएको निष्कर्ष निकालियो । चिकित्सा क्षेत्रका विद्यार्थीहरूलाई संक्रामक रोग विशेषज्ञ हुनबाट बच्ने सल्लाह दिइयो । मृतप्रायः मानिएको संक्रामक रोगका लागि विशेषज्ञ हुनु आवश्यक भएन । यही गलत निष्कर्षको परिणाम हो वर्तमान कोरोना भाइरस संक्रमणको दुर्दशा ।
समाज, जनसङ्ख्या, भूउपयोग र वातावरणमा आउने ठुल्ठुला परिवर्तनसँगै नयाँ रोगहरू महामारीका रूपमा देखा परेका सन्दर्र्भ इतिहासमा प्रशस्त पाइन्छन । प्लेग, एड्स, मलेरिया लगायतका रोगहरू यिनै परिवर्तनका क्रममा उत्पन्न भएका हुन । मानव स्वास्थ्य केवल स्वास्थ्यसित मात्रै सम्बन्धित छैन, समग्र मानवतासित सम्बन्धित छ । समग्र मानवता समग्र जीवमण्डलसित र जीवमण्डल पर्यावरणसित सम्बन्धित छ । पुँजीवादसित यो समग्रतालाई हेर्ने, बुझ्ने र संवोधन गर्ने संयमित अन्तरदृष्टि छैन । तसर्थ यो सिङ्गो मानवता कुलमानसिँह भण्डारीको त्यो चित्रमा जस्तो अस्वस्थ छ, जुन चित्रमा समग्र मानवजातिको प्रतीकको रूपमा एउटा खिन्न मानव पृथ्वीमा बसिरहेको छ, उसको एउटा खुट्टो हात्तीपाइले रोगले सुन्निएर केराको थामजत्रो भएको छ भने अर्को खुट्टो सुकेनास रोगले सुकेर मुरलीजस्तो भएको छ । एकातिर अति सञ्चयको रोग छ, अर्कातिर अति अभावको रोग छ । यो असमान वितरणमा आधारित पुँजीवादजन्य मानवताको चित्र हो ।
संसारको राज्यसत्ता कब्जा गरेको अगुवा पङ्क्तिले प्रकृतिसित मिलेर पृथ्वीमा अस्तित्व भएका सम्पूर्ण प्राणी र वनस्पतिहरूको समेत अभिभावकत्व लिनु पथ्र्यो । त्यसमा ऊ चुक्यो । मूलतः दुइटा गल्ती ग¥यो—एक, प्रकृतिलाई जित्यौँ भनेर गुड्डी हाँक्यो । दुई, मान्छे मान्छे आपसमै काटमार गर्ने परिस्थिति सिर्जना ग¥यो र मान्छे मार्ने शस्त्रास्त्र निर्माणको प्रतिस्पद्र्धामा ओह्ल्र्यो । विज्ञानको दुरुपयोग ग¥यो ।
वास्तवमा मान्छेले कहिल्यै पनि प्रकृतिलाई जितेको थिएन । विज्ञानको वलले प्रकृतिमा अन्तरनिहित रहस्यहरूको उद्घाटन गरेको थियो । प्रकृतिसितै सूत्र लिएर प्रकृतिमै भएको शक्तिलाई आफ्नो उपयोगको लागि जगाएको थियो । त्यो शक्ति प्रकृतिकै विरुद्धमा प्रयोग हुनु भनेको भस्मासुरले आफ्नै थाप्लोमा हात राखेजस्तै हो । भस्मासुर सम्बन्धी मिथक यस्तो छ— शिवजीबाट आफूले जसको थाप्लोमा हात राख्यो ऊ मर्ने वरदान पाएको भस्मासुरले रूपसी पार्वतीलाई पत्नी बनाउने उद्देश्यले शिवजीकै शिरमा हात राख्न चाह्यो । बाँच्नका निम्ति भागाभागमा परेका शिवलाई बचाउन छद्म भेषमा आएका विष्णुले भस्मासुरलाई गँजडी शिवको वरदानले काम नगर्ने बताए र नपत्याए आफ्नै टाउकामा हात राखेर हेर्न उक्साए । टाउकामा हात राख्ने बित्तिकै भस्मासुर त्यही भस्म भयो ।
मानव, मानव भएकै विज्ञानको बलले हो । आवश्यकताजन्य श्रम र अभ्यासद्वारा चारखुट्टेबाट दुई खुट्टेमा बदलिएर जुन समयदेखि अघिल्ला दुई खुट्टालाई हातका रूपमा प्रयोग गर्न सिक्यो, त्यही समयदेखि मान्छे हतियारको युगमा प्रवेश ग¥यो, उपकरणको युुगमा प्रवेश ग¥यो । खानका निमित्त पशु पन्छीले झैँ खाद्य वस्तुमा लगेर मुख जोत्न परेन । हातले टिपेर खान सक्ने भयो । हातका माध्यमले अन्य हतियार पनि खोज्न र प्रयोग गर्न थाल्यो । आज मात्रै होइन, विज्ञान हजारौँ वर्षदेखि मान्छेको साथमा छ । धानको एक एक दाना कोट्याएर चामल बनाउनु पर्ने युगमा ढिकीको आविष्कार पनि सानो आविष्कार थिएन । अनाज पिस्नलाई जाँतो र पानीघट्टको आविष्कारको महत्ता सानो थिएन । दुई हातको प्रयोग गर्न थालेदेखि ढुङ्गाको हतियार र आगाको उपयोग हुँदै अनेकन खोजको श्रृङ्खलाबाट गुज्रिएर मात्रै मान्छे आजको उन्नत विज्ञानमा आइपुगेको हो ।
तर विज्ञानमा यति ठूलो विकास भइसक्दा पनि संसार अहिले भद्रगोलमा चलेको छ । समग्र मानवतालाई सम्हाल्ने नेतृत्व छैन । त्यसकारण मानवता रक्षाको निमित्त एकीकृत र व्यवस्थित योजना छैन । त्यसकारण उत्पादन र वितरणमा असन्तुलन छ । कम नाफा हुने हुनाले मानवजीवनका अत्यावश्यक चिजहरूको उत्पादनमा न्यूनता र धेरै नाफा दिने उत्पादनहरूमा आधिक्य छ । पुँजीवादले वन्यजीवनमा पशुहरूमा लागु हुने जीवनचर्यालाई मानव समाजमा लागु गरेको छ— ‘सक्ने बाँच्ने, नसक्ने मर्ने ।’ अनि यसैलाई प्रकृतिको नियम भनिदिएको छ । आफ्नो अकूत सञ्चय र फलतः अरूको दीन हीन अवस्थालाई न्यायोचित सिद्ध गर्न असमानताले भरिएको प्रणालीलाई विकास नामको भाष्यमा डुबाइदिएको छ, कराहीको खरिएको तेलमा पाकेर उत्रिरहेको जेरीलाई चिनीको चास्नीमा डुबाएझैँ । बाघले मृग मार्नु र मान्छेले मान्छे मार्नु कसरी एउटै कुरा हुन्छ ? वनको व्यवस्था पशुले बनाएको होइन । समाज व्यवस्था मान्छेले बनाएको हो । पशुले वन्य व्यवस्था बदल्न सक्तैन । मान्छेले समाज व्यवस्था बदल्न सक्छ ।
विज्ञानको पनि सामाजिक भूमिका हुन्छ—रचनात्मक वा ध्वंसात्मक । मानिसहरूको दुःख कम गर्ने महत्वपूर्ण सहयोगीका रूपमा समाजमा आएको विज्ञान रचनात्मक विज्ञान हो । मानवहरूलाई मार्ने प्रयोजनका लागि हिरोसिमामा पड्केजस्तो विज्ञान ध्वंसात्मक विज्ञान हो । आजको विज्ञान राज्यसत्ता र अर्थजगत्सित पहिलेभन्दा निकै सशक्त ढङ्गले जोडिएको छ । विज्ञानको भूमिका लगानीकर्ताको नियतमा भर पर्छ ।
निरन्तर बदलिँदो दुनियाँ सधैँ टक्क यही अवस्थामा अडिइरहँदैन । विज्ञानलाई सराप्ने होइन, रचनात्मक भूमिकामा केन्द्रित गराउन प्रयत्न गरिनु पर्छ । विज्ञानको भूमिका बदलिनका लागि यो विश्वव्यस्था बदलिनु पर्छ ।