नेकपा (क्रान्तिकारी माओवादी)द्वारा अमेरिकाका उत्पीडित अश्वेत जातिले चलाउँदै आएको न्यायपूर्ण आन्दोलनप्रति ऐक्यवद्धता जाहेर

जातीय समस्यालाई राजनीतिक तरिकाले समाधान गर्न अमेरिकी सरकारसंग जोडदार माग

प्रकाशित मिति : २०७७ जेष्ठ २२

गत मे २५, २०२० का दिन संयुक्त राज्य अमेरिकाको मिनिएपोलिस शहरमा एकजना अश्ेवत जातिका व्यक्ति जर्ज फ्लोयडको प्रहरी हिरासतमा अत्यन्त अमानवीय, क्रुर र गैरन्यायिक हत्या गरिएकोछ । यो हत्या अमेरिकामा ऐतिहासिक कालदेखि चल्दै आएको उच्च जातीय अहङ्कारवादको चरम अभिव्यक्ति हो । नेकपा (क्रान्तिकारी माओवादी)ले गोराहरुको यस्तो उच्च जातीय अहङ्कारवाद र विशेषतः यस विभत्स हत्याको घोर विरोध तथा भत्र्सना गर्दै प्रेस–वक्तव्य जारी गरेकोछ, जसको पूर्ण पाठ तल दिइएकोछ ः
प्रेस–वक्तव्य
गएको मई २५, २०२० का दिन संयुक्त राज्य अमेरिकाको मिनिएपोलिस शहरमा एकजना अश्ेवत जातिका व्यक्ति जर्ज फ्लोयडको प्रहरी हिरासतमा भएको अत्यन्त अमानवीय, क्रुर र गैरन्यायिक हत्याप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । अमेरिकामा ऐतिहासिक कालदेखि नै जातिवादको समस्याले जरा गाडेको छ र त्यहाँ अश्वेत जातिका मानिसहरु गोरा जातिबाट अत्यन्तै उत्पीडित रहिआएका छन् । अहिले घटेको उक्त घटना त्यही उच्च जातीय अहङ्कारवादको चरम अभिव्यक्ति हो । हाम्रो पार्टी सामान्यतः गोराहरुको उच्च जातीय अहङ्कारवाद र विशेषतः यस विभत्स हत्याको घोर विरोध तथा भत्र्सना गर्दछ ।
यतिवेला अमेरिकामा त्यहाँका अश्वेत जातिका मानिसहरुले उक्त हत्याको विरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेका छन् । तर शान्तिपूर्ण आन्दोलन मार्फत् त्यहाँका जनताले उठाएका न्यायपूर्ण मागहरुको उचित सम्बोधन गर्नुको साटो राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई खटाएर आन्दोलनको दमन गर्ने धम्की दिइराखेका छन् । यस स्थितिमा त्यहाँको जातीय समस्यालाई राजनीतिक तरिकाले समाधान गर्न हाम्रो पार्टीले अमेरिकी सरकारसंग जोडदार माग गर्दछ र उत्पीडित अश्वेत जातिले चलाउँदै आएको न्यायपूर्ण आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्दछ ।
जेठ २२, २०७७  
 किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)