पाेखरा । जेठ २१ गते जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा दिवसको सन्दर्भ  र पश्चिम रुकुममा गत जेष्ठ १० गते भएको नरसंहारकारी  घटनामा  मृत्युवरण  गर्ने ६ जना होनहार युवाहरुको श्रद्धाञ्जली तथा खबरदारी सभा पोखराको लखनचोकमा सम्पन्न भएको छ।

कास्की जिल्लामा सक्रिय राजनीतिक दलित संघ / संगठन / सस्थाहरुको संयुक्त आन्दोलन संयोजन समिति कास्कीको आयोजनामा भएको उक्त  सभाका प्रमुख अतिथि नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय इन्चार्ज, दलित आन्दोलनका अग्रज नेता केश बहादुर परियारले  सभालाई सम्बोधन गर्दै भन्नु भयो, “नेपाली जनताको लामो संघर्षपछि मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएता पनि पुरानै ब्रम्हाणवादी सोच र चिन्तनद्वारा  निर्देशित तथा हिन्दु उच्च जातीय अहंकारवादमा आधारित सामन्ती ब्रम्हाणवादी राज्यसत्ताले वर्गीय, जातीय, लिंगीय र सांस्कृतिक शोषण उत्पीडन तथा अत्याचार अहिले पनि गर्दै आइरहेको छ।  त्यसैको ज्वलन्त उदाहरण रुकुम पश्चिमको बर्बरतापूर्ण हत्याकाण्ड हो ।”

हार्दिक शुभकामना !

उहाँले अगाडि भन्नुभयाे, “संवैधानिक रुपमा बर्जित भईसकेको जातीय विभेदजन्य सामाजिक अपराधलाई प्रश्रय दिदै आजको सभ्य एवं उन्नत समाजमा एउटा केटा र केटीबीच एक आपसमा लामो समयदेखि प्रेम सम्बन्ध कायम गरी विवाह गर्ने सहमति अनुसार अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा दलित भएकै कारणले ज्यानै गुमाउनु  पर्ने जुन बर्बरतापूर्ण सामुहिक हत्याकाण्ड गरियो त्याे अत्यन्तै निन्दनीय छ। यो घटनाले गणतन्त्रको धज्जी उठायको छ, संविधान र कानुनको ठाडो उल्लंगन गरेको छ, अन्तरास्ट्रिय मानव अधिकारलाई चुनौती दिएको छ भने समृद्ध नेपाल र सुखी नेपालीको नारालाई खिल्ली उडाईदिएको छ। “
जबसम्म समाजमा यस्ता खाले वर्गीय, जातीय, लिंगीय र सांस्कृतिक शोषण उत्पीडन तथा अत्याचारहरु रही रहन्छन न तबसम्म देशमा न विकास सम्भव छ न त जनतामा सुख र शान्ति सम्भव छ भन्ने  उहाँकाे तर्क थियाे ।
हजारौ वर्षादेखि समाजमा बिधमान जातीय विभेद र छुवाछुतको पूर्णरुपमा अन्त्य गरौ, समता मुलक समाज निर्माण गरौ, मान्छे मान्छे बिचको विभेद अन्त्य गरौ अनि मात्र यो छुवाछुतमुक्त राष्ट्र दिवस मनाउनुको अर्थ रहने छ भन्दै उहाँले भन्नुभयाे, “आन्दोलन सकिएको छैन मित्रहरु, सामाजिक सांस्कृतिक रुपान्तरणको आन्दोलनलाई  सशक्त बनाउन जरुरी छ, त्यसको निमित्त एकजुट भई संघर्षमा जानुको विकल्प छैन ।”
पश्चिम रुकुमका दलित युवाहरुमाथि भएको सामुहिक नरसंहारकारी हत्याकाण्डको विरुद्ध र  सम्पुर्ण उत्पीडित दलित जाति र समुदायको मुक्तिको पक्षमा हुने आन्दोलनमा सम्पूर्ण न्यायप्रेमी देशभक्त जनसमुदायलाई ऐक्यबद्धताको लागि आब्हान गर्दै ती सांस्कृतिक रुपान्तरनका शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण समेत गरिएकाे थियाे । कार्यक्रममा नेता परियार लगायतले  पीडितलाई न्याय, उचित क्षतिपुर्ति र शान्ति सुरक्षाको व्यवस्था गर्न, उक्त घटनाको  सहि सत्य छानबिनका लागि उच्चस्तरीय सर्बदलीय संसदीय समिति गठन गर्न र सत्य तथ्य बाहिर ल्याई घटनामा संलग्न अपराधीहरुलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।
कास्की जिल्लामा सक्रिय राजनीतिक दलित संघ / संगठन / सस्थाहरुको संयुक्त आन्दोलन संयोजन समिति कास्कीले रुकुम घटना लगायत देशैभरि  घटेका जातीय विभेद र छुवाछुतसँग सम्बन्धित ६ वटा मागसहितको ज्ञापन पत्र  प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई बुझाइएकाे छ ।
संयोजन समितिका संयोजक दुर्गा बहादुर सुनारको अध्यक्षतामा  सम्पन्न उक्त सभामा दलित मुक्ति मोर्चाका गण्डकी प्रदेश संयोजक भिम बिश्वकर्मा लगायत कास्की जिल्लाका नेताहरुले बोल्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर