सरकारलाई खान देऊ

प्रकाशित मिति : २०७७ जेष्ठ २२

- लेखराम सापकोटा

 

अब भोकले कोही मर्नु पर्दैन
घरमै बसेर टन्न खाऊ
रोजीरोजी खाऊ, छानीछानी खाऊ
सके किनेरै खाऊ, नसके मागेरै खाऊ
तर घरमै बस
बाहिर ननिस्क
किनकी देशमा लकडाउन छ ।

यतिबेला
लकडाउन उल्लंघन गर्न पाइन्न
आफ्नै घरमा बस
बाटोमा लखरलखर नहिँड
छिमेकीको घरमा फर्केर पनि नहेर
आँखा जुधे पनि कोरोना संक्रमण हुनसक्छ ।
तर सरकारलाई भने कर बुझाऊ
थाहा छ, तिम्रा सबै काम बन्द छन
यतिबेला उत्पादन पनि बन्द छन
पैसा आउने स्रोत पनि बन्द छन ।
बन्द छन भनेर पनि हामी कहाँ मान्छौं  र ?
रास्ट्रपति निवासको गलैंचा फेर्नुछ यहि बेला
मन्त्रीहरूलाई नयाँनयाँ गाडी किन्नुछ
जिमखाना पनि बनाउनु छ बालुवाटारमा
कोरोना संक्रमणको मौकामा खटिएका जनप्रतिनिधिलाई विशेष भत्ता खुवाउनु छ
ताल परे मेरै क्वाटरमा एउटा मसाज केन्द्र पनि खोल््नु छ ।
खानुछ हामी कमाउनिष्टले अझै अरबौँ
समृद्ध बन्नुछ यही मेसोमा
फलिफाप बनाउनु छ कोरोना महामारीलाई ।
प्यारा नागरिक
सन्दुकमा भएको पैसा अब त्यसरी नराख
मुसाले धुजाधुजा पार्नसक्छ
हराउन सक्छ, चोरिन सक्छ
पैसा नभए सरसापट गरेर भए पनि
कर बुझाउन भने आउ
सुरक्षाकर्मीले बाटोमा रोके भने
सरकारलाई कर बुझाउन हिँडेको भन्नू
पास मागेछन भने
त्यही पैसाको ञी पासझ देखाउनु
बिन्ती ! जनता कर तिर
जसरी भए पनि तिर
यो दुई तिहाइको अनुरोध हो
सरकार भोकै मर्नु भएन नि
तिमीलाई बचाउने त हामी छँदै छौं ।