भारतबाट घर फर्केका नागरिकलाई लिएर सल्यान जाँदै गरेको गाडी रोकिराखेको ट्रकमा ठोक्किदा १२ को मृत्यु, २१ जना घाइते

भारतबाट घर फर्केका नागरिकलाई लिएर सल्यान जाँदै गरेको गाडी रोकिराखेको ट्रकमा ठोक्किदा १२ को मृत्यु, २१ जना घाइते


नेपालगंज । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको बस र ट्रक आपसमा ठोक्किदा बसमा सवार ११ जना नागरिकको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको उक्त सडक दुर्घटना भएको हो । भारतबाट आएका नागरिक लिएर सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा बसमा सवार अन्य २१ यात्रु घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएका १२ जनाकै शव भेरी अस्पतालमा राखिएको छ । मृत्यु हुनेहरुमा ११ पुरुष र एक महिला रहेका छन् । उनीहरुको सनाखतको काम भइरहेको छ ।