काठमाडौ. । सीमामा भारतीय प्रहरीले अर्को ज्यादती प्रदर्शन गरेको छ । नेपाली भूमिमा प्रवेश गरेर भारतीय प्रहरीले नेपालीले आफ्नै भूमिमा बनाएको सडक भत्काइदिएको छ । पर्साको ठोरी गाउँपालिका २ ठुटे खोलामा निर्माण भएको सडक भारतीय प्रहरीले भत्काइदिएको हो । बिहीबार अपरान्ह भारतीय प्रहरीको टोलीले सडक भत्काइदिएको ठोरी गाउँपालिका वडा नं २ का वडाध्यक्ष किशोर तामाङले जानकारी दिए ।

भारततर्फ पानी लैजाने दुईवटा र नेपालको एउटा कुलो त्यो सडकमा परेका थिए । कुलो पुरेर सडक निर्माण गरेको नेपाली पक्षले अन्य ठाउँबाट कुलो बनाइदिने तयारी गरेको थियो । शुक्रबारदेखि कुलो बनाइदिने तयारी भइरहेको अवस्थामा भारतीय प्रहरीले जबर्जस्त सडक भत्काएपछि कुलो बनाउने कार्य रोकिएको पनि वडाध्यक्ष तामाङले बताए ।
नेपाली भूमिलाई भारतीय पक्षले आफ्नै बिर्ता जस्तो गर्ने गरेको पनि तामाङले बताए ।

हार्दिक शुभकामना !

पर्साको ठोरी गाउँपालिका वडा नं २ र ३ जोड्ने ठुटे खोलामा तीन दिन अगाडि मात्रै सडक निर्माण गरिएको थियो । भारतीय प्रहरीसहित आएका भारतीयले सडक भत्काउन थालेपछि ठोरीका स्थानीय त्यहाँ पुगेर बिरोध गरेका थिए । भत्किएको सडक भने बिहीबार साँझ नै बनाएको वडाध्यक्ष तामाङले जानकारी दिए ।


शुक्रबार त्यहाँका जनप्रतिनिधि र स्थानीयले स्थलगत भ्रमण गरेर समस्याको सामाधान निकालिदिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह समेत गरेका छन् ।

२०७५ जेठमा ठुटे खोलामा ६ करोड ९७ लाख २१ हजार रुपैयाँको लागतमा पुल निर्माण भएको थियो । हुलाकी राजमार्गमा पर्ने पुल निर्माण सम्पन्न भएको २ वर्ष बितिसक्दा पनि भारतीय पक्षको अवरोधका कारण सडक प्रयोगमा नआएको वडाध्यक्ष तामाङले गुनासो गरे । उक्त पुल सञ्चालनको लागि सडक निर्माण गरिएको थियो ।

बिहीबार साँझ भारतीय सीमा सुरक्षा बल, बिहार सहोदर थानाका प्रहरी र सीमावर्ती भारतीय नागरिकले सडक भत्काएका हुन् । भारतीयले सडक भत्काइरहेको थाहा पाएपछि ठोरीवासी भेला भएर विरोध गरेका थिए । केही समयको भनाभन पछि भारतीय प्रहरी र नागरिक फर्केका थिए । भत्किएको सडकमा नेपाली पक्षले पुन माटो पुरेका छन् ।
हुलाकी सडक र पुलबीचको कुलोमा सडक नबनाउन्जेल पुल प्रयोगमा ल्याउने अवस्था नरहेको वडा अध्यक्ष तामाङको दाबी छ ।


ठुटे खोलामा पुल निर्माण गर्दा पनि भारतीय पक्षले अवरोध गरेको थियो । नेपाल–भारत सीमा नजिकै रहेको ठुटे खोलामा पुल निर्माणका लागि २०६७ सालमा सर्वेक्षण गरिँदा एसएसबीले भारतीय भूमि भन्दै अवरोध गरेको थियो । जसले गर्दा सात वर्षसम्म पुलको निर्माण सुरु नै हुन सकेको थिएन । २०७४ बैशाखमा दुवै देशका सीमा अधिकारीबीच भएको वार्तामा ठोरीको सीमा विवादमा सहमित भएपछि पहिले सर्वे गरिएकै स्थानमा पुल निर्माण भएको पनि अध्यक्ष तामाङले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर