एक दिन पण्डितलाई तिर्खा लाग्यो, संयोगवश घरमा पानी थिएन, पण्डितनी ले छिमेकीको घरबाट पानी लिएर आइन । पानी पिएपछि पण्डित ले सोधे,
पण्डित–कति चिसो पानी, कहाँ बाट ल्यायौ ?
पण्डितनी– छिमेकी विश्वकर्माको घरबाट । (यो सुनेपछि पण्डित ले करुवा फालिदिए र रिष ले आगो भएर चिच्याउन थाले) ।
 पण्डित– हे पापिनी तैंले मेरो धर्म नष्ट गरिस । यो पाप तलाई नै लागोस, ला तैले नै खा पापिनी
(पण्डितनीलाई जबर्जस्ती खुवाइदिए, पण्डितनी डरले काम्न थालिन)
 पण्डितनी– माफ गर्नुस हजुर अब यस्तो पाप कहिल्यै गर्दिन ।
जब रात पार्न थाल्यो पण्डित खाना खानको लागि भान्सामा पसे,
पण्डित– खै खाना लेऊ भात पकाएर छैन र ?
पण्डितनी–पकाएको त थिए तर अन्न उब्जनी गर्दा खेतमा काम गर्ने दलितहरु, र पकाएको भाडो बनाउने विश्वकर्मा थियो, त्यसकारण मैले त फ्याँकिदिए तपाईंले खानुहुन्न र खानुभयो भने धर्म भ्रष्ट हुन्छ भनेर ।
पण्डित– त पागल भइस अन्न र भाडा पनि अशुद्ध हुन्छ र ! जा पानी लिएर आइजा, पानी पिउँछु ।
पण्डितनी– पानी त छैन हजुर ।
पण्डित– कहाँ गयो पानीको भाडो, खै करुवा पनि देख्दिन ?
पण्डितनी– त्यो पनि मैले त फालिदिए किनकि त्यो पनि विश्वकर्माले बनाएको थियो नी ।
 पण्डित– हे भगवान ठीक छ जा दूध लिएर आइजा दूध पिउँछु दूध त होलानी !
 पण्डितनी– दूध पनि मैले त फालिदिए किनकि त्यो गाईको स्यार गर्ने घास काट्ने नोकर पनि दलित नै थियो ।
पण्डित रिसाउँदै
पण्डित– तैले त हद गरि, दूध पनि कहिल्यै अशुद्ध हुन्छ र छोइन्छ र !!!
 पण्डितनी– यो कस्तो चलन पानी छोइने दूध नछोइने, काटे रगत सबैको रातै आउँछ तैपनि त ठूलो, उ सानो भनेर मान्छे मान्छेमा विभेद गरिन्छ, एउटा पशु(कुकुर) सजिलै घर भित्र पस्छ तर एउटा चेतनशील प्राणी मान्छेले मान्छेलाई नै पशुलाई जस्तो व्यबहार गर्छ । यो कस्तो चलन !!!!
 पण्डित रिसले आगो भए
 पण्डित– मुरमुरिदै कति जान्ने भएकी तैले मलाई पागल बनाइस । हे भगवान ! म कहाँ गएर मरम, मेरो दिमाख खराब भयो, म सुत्छु खै खाट कता गयो खाट पनि देख्दिन ।
पण्डितनी– खाट ! ए त्यो पनि मैले त फालिदिए किनकि त्यो बनाउने पनि त दलित नै थियो होइन र !!
पण्डित चिच्याउन थाले
पण्डित– हे भगवान कसले यसको बुद्धि भुटिदियो, कसरी यसको दिमाख बिग्रियो, जा फूल लिएर आईजा भगवानलाई फूल चढाउँछु, तेरो दिमाख ठाउँमा आउँछ कि !!!
पण्डितनी– म त त्यो बगैंचाको फूलहरू पनि सबै फालिदिए, त्यो बगैंचामा काम गर्ने माली पनि त दलित हो नि होइन र !!! 
पण्डित( सारो सारो चिच्याउन थाले, अब सबै कुरा सकिछस, अब यही खाली घर मात्रै बच्यो, घरमा पनि आगो लगाई यही घर त छ बचेको, घर पनि किन चाहियो र ?
पण्डितनी– ह यो घर पनि त अशुद्ध छ नि, यसलाई पनि भष्म गराउनु पर्छ । यो बनाउन काम गर्नेहरु पनि त सबै दलित नै त थिए नी होइन र ? (पण्डितनी प्रश्न गर्छिन)
पण्डित चुप भए पण्डित संग कुनै उत्तर थिएन ।
पण्डितनी– कामको आधारमा गरिएको विभेद  कोरोना भाईरस भन्दा खतरनाक छ । यस्तो विश्वमा नभएको छुवाछुत प्रथा हटाउनु छ त्यसको लागी तपाईं हामी सबै एकजुट हुँदै सबैले हातेमालो गर्न जरुरी छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर