रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा बिहीबार साँझ ६ बजे बम विस्फोट हुँदा ४ जना बालबालिकाहरुको ज्यान गएको छ ।
त्रिवेणी गाउँपालिका-४ गैरी गाउँको मैतीगातिनामा बम विस्फोट हुँदा ४ जना बालबालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पा कार्यालयले जनाएकाे छ ।
साँझ ६ बजेतिर भएको उक्त घटनामा मृत्यु हुनेमध्ये दुई बालबालिका एकै परिवारका रहेको पनि प्रहरीले बताएको छ । विष्फाेटमा परी मृत्यु हुनेहरुमा ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, ११ वर्षीय गौरव नेपाली र १३ वर्षीय नेखीराम डाँगी रहेका छन् ।
अहिले घटनास्थलमा प्रहरी पुगेको छ । शव नजिकै अर्को बम पनि फेला परेकाले सेनाको डिस्पोजल टोली त्यहाँ पुगेपछि मात्रै शव उठाइने प्रहरीले जनाएको छ ।
बाख्रा चराएर जंगलबाट घर फर्कने क्रममा बम विस्फोट भएको अनुमान गरिएको छ । घटनास्थलमा ग्रिनेट बम रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष भानबहादुर घर्तीका अनुसार शव नजिकै अर्को बम पनि रहेको, घटना हेर्दा उनीहरुले जंगलबाट बम फेला पारेर ल्याएको र त्यो पड्किएको हुन सक्ने आशंका गरिएकाे छ ।
विष्फाेटबाट बालबालिकाकाे शव क्षतविक्षत भईकाे छ ।  शव नजिकै रहेकाे बम सेनाको डिस्पोजल टोलीले निष्क्रिय गरेपछि शव उठाइने बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर