एजेन्सी । कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख नाघिसकेको छ । महामारीबाट अमेरिका, स्पेन, इटाली जस्ता मुलुकहरुमा भयावह अवस्था सिर्जना गरिरहेको छ । आइतबार मध्यान्हसम्म नौ लाख ६० हजार संक्रमित भएको अमेरिकामा ५४ हजार बढीको मृत्यु भइसकेको छ । अन्य पश्चिमा देशहरुको पनि हालत खराब बन्दै गएको छ । नेपालको छिमेकी मुलुक भारतमा पनि महामारीले विकराल रुप लिंदै गएको छ । तर, यो विश्वव्यापी महामारीबाट ६ देशले भने कोरोना भाइरसबाट संक्रमितहरु सतप्रतिशत निको पारेका छन् ।


न्यूज एजेन्सीहरुका अनुसार ग्रिनल्याण्ड, सेन्ट लुसिया, क्यारिबियन नेदरल्याण्ड्स, यमन, साओ टोमे र प्रिन्सिपेमा सबै संक्रमित निको भएका छन् । ग्रिनल्याण्डमा एघार जना र सेन्ट लुसियामा १५ जनामा संक्रमण देखिएको थियो । ती सबै बिरामी निको भएर घर फर्किएका छन् ।

हार्दिक शुभकामना !


त्यसैगरी सेन्ट बार्थलेमीमा ६, यमनमा एक, क्यारिबियन नेदरल्याण्ड्समा पाँच र साओ टोमे र प्रिन्सिपेमा चार संक्रमित भेटिएका थिए । ती पनि सबै बिरामी निको भइसकेका छन् । अहिले यी ६ वटै देशमा कुनै पनि संक्रमण देखिएको छैन ।

दक्षिण एसियामा कुनै पनि मुलुकले शतप्रतिशत बिरामी निको बनाइसकेका छैनन् । तर, निको बनाउनेमा भने राम्रै नतिजा देखिन्छ । सात जना संक्रमित भेटिएको भुटानमा तीन जना निको भइसकेका छन् । नेपालमा ५१ मध्ये १२ जना निको भइसकेका छन् भने आइतबारै चार जना थप निको भएर घर फर्कदै छन् । दक्षिण एसियामा सवैभन्दा पहिले नेपालमा संक्रमण देखिएको थियो ।


बिरामी निको बनाउने देशहरुमा कम्बोडिया, जिब्राल्टर, सुरिनाम, गाम्बिया, डोमिनिका लगायत देशहरु अगाडि छन् । कम्बोडियामा १२२ संक्रमति मध्ये ११७, सुरिनाममा दश संक्रमित मध्ये सात, गाम्बियामा दश संक्रमित मध्ये आठ, डोमिनिकामा १६ संक्रमित मध्ये १३ बिरामी निको भइसकेका छन् । यी देशहरु थोरै संक्रमण देखिएका देशहरु हुन् ।
धेरै संक्रमित देखिएर तुलनात्मक राम्रो उपचार भएको देशहरु दक्षिण कोरिया, अष्ट्रेलिया, इराक, आइसेल्याण्ड, न्यूजिल्याण्ड, लक्जेम्बर्ग, डेनमार्क लगायत छन् । धेरै बिरामी निको बनाउने र लगभग नियन्त्रण गर्ने मुलुक भने चीन नै हो । चीनले ८२ हजार संक्रमित भेटिएकोमा ७७ हजार बिरामी निको बनाइसकेको छ । ४ हजार ६ सय बिरामीको मृत्यु भयो । अहिले चीनमा संक्रमितको संख्या ८०१ जना छन् । विश्वभर २९ लाख संक्रमित भेटिएकोमा अहिलेसम्म ८ लाख ३७ हजार बिरामी निको भएका छन् भने दुई लाख तीन हजार बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर