बैशाख ६,काठमाडौं
नेपालमा अहिलेसम्म जम्मा ३१जनामा कोरोना भाइरसबाट संक्रणमित भएका मध्ये तीन जनाले कोरोनालाई जितेर आ–आफ्नो घर फर्किएका छन् । पहिलो कोरोना संक्रणमित पुरुष संचो भएर घर गएका र अहिले दुई जना महिलाले कोरोनामाथि विजय प्राप्त गरेर घर गएका छन् । डिस्चार्जपछि बागलुङकी वृद्धा खुसी हुँदै घर गइन भने काठमाडौं १९ वर्षीया युवती संक्रमणमुक्त भएर घर फर्किएकी छिन् । उनको भनाइमा ‘कोरोना संक्रमितलाई ‘कलंक’ नबनाइदिनुहोला’भन्ने छ ।
कोरोनामुक्त भएकी बागलुङकी ६५ वर्षीय वृद्धा धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत थिइन् । उनको तेस्रो र चौथो स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको केही घण्टापछि उनी डिस्चार्ज भएकी हुन् । डिस्चार्जपछि उनी खुसी हुँदै घर गएकी छिन् ।
उनमा बिहीबार गरिएको तेस्रो रिपोर्ट र शनिबार गरिएको चौथो रिपोर्टमा कोरोना नभएको पुष्टि भएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले जानकारी दिए । चैत २० गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । चैत ४ गते उनी बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् ।
त्यसैगरी टेकु अस्पतालमा उपचाररत काठमाडौंकी १९ वर्षीया युवती पनि कोरोना मुक्त भएर घर फर्किएकी छन् । नेपालकी दोस्रो कोरोनाभाइरस संक्रमित १९ वर्षीया युवती संक्रमणमुक्त भएर घर फर्किएकी छिन् । गत चैत ४ गते फ्रान्सबाट कतार हुँद नेपाल आएकी उनमा कोरोनाभाइरसको संक्रमण देखिएपछि गत चैत १० देखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत थिइन् । अस्पतालमा २७ दिन लामो बसाइपछि उनी शनिबार निको भएर घर फर्किएकी हुन् ।
डिस्चार्ज भएपछि अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उनले स्वस्थ बनेर घर फर्कन पाएको खुसी व्यक्त गरिन् । साथै, आफूलाई सामाजिक सञ्जाल तथा समाचारमा ‘कलंक’ को रुपमा प्रस्तुत गरिएकोमा दुःख व्यक्त गरिन् । उनले जनस्तर र मिडियाले ‘सुपर स्प्रेडर’ जस्ता शब्द प्रयोग गरेर कलंकका रुपमा प्रस्तुत गरिएकोमा आपत्ति जनाइन् । यसरी कोरोनाभाइरस संक्रमितलाई हेयको दृष्टिकोणले हेर्दा कोही संक्रमित छन् भने पनि उनीहरुलाई अगाडि आउन गाह्रो हुने जिकिर गरिन् ।
आफूमा कुनै लक्षण नदेखिएको भए पनि भियतनामको साथीमा लक्षण देखिएको कारण आफूले पनि परीक्षण गराएको र त्यसमा आफू पोजेटिभ पाइएको उनको भनाइ थियो । उनले भनिन, ‘मलाई सुरुमा धेरै लक्षणहरु थिएन । घर आएको चौथो दिनमा सँगै आएकी भियतनामको साथीमा कोभिड–१९ पोजेटिभ भएको थाहा पाएपछि म अस्पतालमा परीक्षण गराउन आएँ । दुई दिनपछि मेरो पनि पोजेटिभ आयो । म पनि नेपालको दोस्रो कोभिड–१९ पोजेटिभ भएँ ।’
अस्पताल आएको एक दुई दिनपछि मात्र लक्षण देखिन थालेको उनले बताइन् । उनले आफूलाई श्वास फेर्न अप्ठ्यारो हुने, पेट दुख्ने, थाकाई लाग्ने र खोकी लाग्ने लक्षणहरु देखिएको जानकारी दिइन् ।
उनले उपचारको क्रममा अस्पतालमा राम्रो सेवा पाएको बताउँदै उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई धन्यवाद दिइन् ।
त्यस्तै, यस रोगको संक्रमण फैलिन नदिन सेल्फ आइसोलेनलाई कडाइका साथ पालना गर्न र संक्रमित भइ हाले पनि धैर्यताका साथ उपचार गराउन पनि आग्रह गरिन । ‘श्वास फेर्न गाह्रो हुँदा अत्तालिने रहेछौँ तर धेरै नआत्तिनुहोला आत्मबल दह्रो बनाउनुहोला,’ उनको सुझाव थियो । उनी निको भएर फर्किने नेपालकी दोस्रो कोरोना संक्रमित पनि हुन् । त्यसअघि १ जना कोरोनामुक्त भएर घर फर्किसकेका थिए ।





























