नेपालमा जातीय उत्पीडन र मुक्तिको प्रश्न

प्रकाशित मिति : २०७६ चैत्र १०

- बसन्त


नेपाल एउटा बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक देश हो । तत्कालीन नेपाल सरकार र बृटिश–भारतका बीचमा सन् १८१६मा गरिएको सुगौली सन्धि हुनु भन्दा पहिला नेपाल स्वाधीन र आत्मनिर्भर देश थियो । सुगौली सन्धिमार्फत नेपालको वाह्य सम्बन्ध विस्तार भए पछि साम्राज्यवादी र विस्तारवादी देशहरुसंग विभिन्न समयमा गरिएका असमान सन्धि–संझौताहरुका कारण नेपाल अर्ध–सामन्ती, अर्ध–औपनिवेशिक तथा नव–औपनिवेशिक अवस्थामा रहिआएको छ । अहिले नेपाली समाजमा वर्गीय, जातीय, भाषिक लगायत जति पनि अन्तर्विरोधहरु विद्यमान छन् ती सबै यही अर्थ–सामाजिक अवस्थामा रहेको देशमा दलाल तथा नोकरशाही पुँजीपति र सामन्तवर्गको स्वार्थको रक्षागर्ने प्रतिक्रियावादी सत्ता र तदनुसारको जनविरोधी व्यवस्थाबाट पैदा भएका अन्तर्विरोध हुन् ।
देश अर्ध–सामन्ती र अर्ध तथा नव–औपनिवेशिक अवस्थामा रहेका कारण नेपाली जनताले वर्गीय, जातीय, लिङ्गिय भाषिक लगायत विभिन्न प्रकारका उत्पीडनको सामना गर्दै आएका छन् । सामान्यतः नेपाली राजनीतिक वृत्तमा र विशेषतः वाम राजनीतिक वृत्तमा जातीय तथा भाषिक समस्याको कारण, वर्गीय उत्पीडनसंग तिनकोे अन्तर्संबन्ध र तिनको राजनीतिक तथा व्यावहारिक समाधानको प्रक्रियालाई बुझ्ने सवालमा एकरुपता रहेको पाइदैन । जातीय मुक्ति आन्दोलनको विकासका लागि यी प्रश्नहरुमा समान बुझाइ हुनु अति आवश्यक छ । यो लेख नेपालमा जातिहरुको गठन प्रक्रिया र जातीय उत्पीडनको प्रकृतिबारे सङ्क्षिप्त विश्लेषण सहित जातीय तथा वर्गीय मुक्तिका बीचको आपसी संंबन्धलाई प्रष्ट पार्ने उद्देश्यमा केन्द्रित भएर तयार पार्ने कोशिस गरिएको छ ।
सबै भन्दा पहिला जाति शव्दको पारिभाषिक अर्थ हेरौं । जातिलाई राष्ट्र पनि भनिन्छ र त्यसको अङ्ग्रेजी अनुवाद नेशन ९ल्बतष्यल० हो । अक्सफोर्ड लर्नर्स डिक्सनरीका अनुसार नेशन शव्दको अर्थ “साझा वंश, इतिहास, संस्कृति वा भाषाद्वारा एकतावद्ध भई खास देश वा क्षेत्रमा बसोवास गर्ने जनताको विशाल समुदाय” भन्ने हुन्छ । वाम राजनीतिक वृत्तमा स्तालिनले दिनु भएको जाति अर्थात् राष्ट्रको परिभाषालाई सबै भन्दा आधिकारिक र सटिक रहेको मानिन्छ । उहाँले भन्नुहुन्छ, “राष्ट्र भनेको एउटा साझा भाषा, क्षेत्र, आर्थिक जीवन र मनोवैज्ञानिक आधारमा बनेको ऐतिहासिक रुपले गठित संस्कृतिमा अभिव्यक्त मानिसहरुको एउटा स्थिर समुदाय हो ।” (स्तालिन — माक्र्सवाद र जातीय प्रश्न, पृष्ठ ११) । यसको विशेषताबारे उहाँ थप्नु हुन्छ, “जोड दिनु पर्ने कुरा यो हो कि माथिका विशेषताहरु मध्ये कुनै एउटा मात्र विशेषता राष्ट्र बन्नका लागि पर्याप्त छैन । अझ कुरा त के हो भने उपरोक्त विशेषताहरु मध्ये एउटा मात्र विशेषता नभए जुन कुनै समुदाय पनि राष्ट्र बन्दैन ।” (उही पृष्ठ १२) । यो आफैमा स्पष्ट छ ।
जाति वा राष्ट्र कुनै स्थिर वा अपरिवर्तनीय चीज होइन । जाति देश र काल अनुसार भिन्न–भिन्न ढङ्गले विकास हुँदै आएको छ । जाति समाज विकासको एउटा प्रक्रियामा आएर उत्पत्ति भएको हो, यसको पनि अन्त हुन्छ । यसबारे स्तालिन भन्नु हुन्छ, “भन्नै नपर्ने कुरा यो हो कि हरेक ऐतिहासिक प्रक्रिया जस्तै जाति पनि परिवर्तनको नियम अनुसार नै चल्छ, यसको ईतिहास छ, आदि र अन्त पनि ।” (उही पृष्ठ ११) । समाज विकासको एउटा ऐतिहासिक चरणमा जातिहरुको उदय भयो र त्यो प्रक्रिया समाज विकास कै नियमअनुसार परिवर्तन हुँदै अगाडि बढिरहेको छ । ईतिहासको अध्ययन गर्दा के कुरा स्पष्ट हुन्छ भने जातिहरुको गठन सामन्ती युगमा र जातीय आन्दोलनको विकास सामन्तवादका विरुद्धको सङ्घर्षका क्रममा भएको हो । सामन्तवादका विरुद्ध पुँजीवादी क्रान्तिको प्रक्रियामा युरोपका थुप्रै देशहरुमा राष्ट्रिय–राज्य ९ल्बतष्यल क्तबतभ०हरु निर्माण भए र ती देशमा जातीय अन्तरविरोधको समाधान भयो ।
तर, पुँजीवादी क्रान्तिको त्यो प्रक्रिया विश्वभरी समान ढङ्गले विकास र विस्तार हुन सकेन । विश्वका थुप्रै देशहरुमा पुँजीवादी क्रान्ति सम्पन्न भएनन् । पुँजीवादी क्रान्ति मार्फत् राष्ट्रिय–राज्यहरु नबनेका देशमा जातीय तथा भाषिक अन्तर्विरोधहरु यथावत रहे । यहाँ विशेष ध्यान दिनुपर्ने कुरा के हो भने उदीयमान पुँजीवादी युगको लामो चरण भरी कुनै पनि जाति विशेषमाथि हुने उत्पीडनको समस्या भनेको उक्त देशको सामन्तवाद र सामन्ती राज्यसत्ताका विरुद्धको सङ्घर्षसंग सम्बन्धित समस्या थियो । अर्को शव्दमा, त्यो पुँजीवादी क्रान्ति र राष्ट्रिय–राज्य गठनसंग सम्बन्धित खास देशकोे आन्तरिक समस्या थियो ।
समय वित्दै जाँदा परिस्थिति पनि परिवर्तन हुँदै गयो । पुँजीवाद प्रतिस्पर्धात्मक र उदार रहेन त्यसले एकाधिकारी पुँजीवाद अर्थात् साम्राज्यवादमा फड्का मा¥यो । त्यसपछि विश्व परिस्थितिमा ठूलो परिवर्तन आयो । लेनिनले यस पछिको युगलाई साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग भन्नुभएको छ । यस युगको प्रारम्भिक काल औपनिवेशिक उत्पीडनको काल रह्यो । यस अवधिमा साम्राज्यवादी मुलुकका शासकहरुले अल्पविकशित देशका सामन्ती सत्तालाई आफ्नो कव्जामा लिई प्रत्यक्ष शासन मार्फत् ती देशका प्राकृतिक स्रोतसाधनको दोहन गरे र वर्गीय तथा जातीय उत्पीडनलाई अगाडि बढाए । त्यो बेला उपनिवेशहरुमा घरेलु प्रतिक्रियावाद अर्थात् सामन्तवाद आफै औपनिवेशिक उत्पीडिनमा पर्न गयो । सामन्तवाद जातीय उत्पीडनको प्रमुख कारण रहेन । प्रत्यक्ष उपनिवेशको स्थितिमा राष्ट्रिय मुक्ति आन्दोलनको निशाना आन्तरिक दुश्मन नभएर बाह्य दुश्मन साम्राज्यवाद अर्थात् औपनिवेशिक शासकहरु बन्न गए । तर प्रत्यक्ष उपनिवेश नबनेको देशमा भने जातीय उत्पीडनको प्रमुख कारण सामन्तवाद नै रह्यो । वजार विस्तार र प्राकृतिक स्रोत–साधनको दोहनका लागि औपनिवेशिक शक्तिहरुका बीचको अन्तरर्विरोध उत्कर्षमा पुगेर विश्वले दुईवटा विश्वयुद्धहरुको सामना गर्नु प¥यो ।
दोस्रो विश्व युद्धपछि प्रत्यक्ष औपनिवेशिक युगको त अन्त भयो तर औपनिवेशिक उत्पीडनको अन्त भएन । उत्पीडनको तरिका मात्र बदलियो । साम्राज्यवादीहरुले सामन्ती शासकहरुसंग असमान सन्धी–संझौता मार्फत् उत्पीडनका नयाँ विधिहरुको प्रयोग गरेर तिनलाई आफ्ना भरपर्दा साझेदार बनाए । ती देशमा सामन्तवाद र साम्राज्यवादको ठिमाहा सन्तानका रुपमा दलाल पुँजीपति वर्गको जन्म भयो र ती औपनिवेशिक उत्पीडनका लागि साम्राज्यवादका पृष्ठपोषक बने । यसरी दोस्रो विश्वयुद्ध पछि प्रत्यक्ष उपनिवेशको ठाउँ अर्ध–उपनिवेश र नव–उपनिवेशले लियो ।
साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युगको पछिल्लो चरणमा एकातिर साम्राज्यवादी देशका शासकले दलाल पुँजीपति वर्गका प्रतिनिधिलाई पालैपालो उत्पीडित देशको शासन सत्तामा पु¥याएर ती देशबाट स्रोतसाधनको दोहनगर्ने गरेको छ भने अर्कोतिर दलाल पुँजीपति वर्गले प्रतिक्रियावादी शासन सत्तामार्फत् उत्पीडित जनताका वर्गीय, जातीय आन्दोलन लगायत साम्राज्यवाद विरोधी सङ्घर्षलाई दमन गरेर साम्राज्यवादका लागि साधनस्रोतको दोहन गर्न सहज वातावरण बनाइदिने गरेको छ । यसरी यो युगको पछिल्लो चरणमा उत्पीडित मुलुकका जनताहरु एकैसाथ आन्तरिक दुश्मन सामन्तवाद र वाह्य दुश्मन साम्राज्यवादको दोहोरो शोषणको मारमा पर्दै आएका छन् । यो स्थितिमा वर्ग सङ्घर्षको मात्र होइन जातीय मुक्ति आन्दोलनको समेत निशाना आन्तरिक र वाह्य दुश्मन अर्थात् घरेलु प्रतिक्रियावाद र वाह्य साम्राज्यवाद तथा विस्तारवाद बन्न गएको छ ।
माथिको सङ्क्षिप्त अध्ययनबाट के कुरा स्पष्ट हुन्छ भने आजको यो साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा जातीय मुक्तिको समस्या सामन्तवादी शोषण तथा दमन र साम्राज्यवादी उत्पीडन दुवैसंग सम्बन्धित समस्या हो । अर्थात्, सिधा अर्थमा यो समस्याको समाधान नयाँ जनवादी क्रान्ति हो । स्वभावतः यहीँ नेर एउटा प्रश्न उठ्ने गर्दछ । यो युगमा जातीय र वर्गीय दुबै थरी अन्तर्विरोधहरुको समाधान नयाँ जनवादी क्रान्ति नै हो भने जाति र वर्गका बीचको अन्तर के हो र तिनीहरुका बीचको मेल कहाँ नेर छ ? नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने प्रक्रियामा यी प्रश्नको सही जवाफ खोज्न र तदनुसार उपयुक्त नीति निर्धारण गर्न विशेष ध्यान दिनु पर्दछ ।
हामीलाई थाहा छ, जाति र वर्गको गठन एउटै प्रक्रियामा भएको होइन । तिनको गठन समाज विकासको भिन्न–भिन्न ऐतिहासिक चरणमा भएको हो । जातिको विकास प्रक्रियाबारे माथि नै सङ्क्षिप्त विश्लेषण भइसकेको छ । सामन्तवादी समाजको एउटा परिवेशमा जातिहरुको विकास भयो । जस्तो जर्मन, फ्रेन्च, अफगान, तमिल, वङ्गाली, मराठी आदि विभिन्न जातिका उदाहरण हुन् । जातिहरुको भाषा, क्षेत्र, आर्थिक जीवन तथा संस्कृति र साझा मनोविज्ञान लगायतका विषयहरुमा रहेको भिन्नता नै हिजो जातीय अन्तर्विरोधका आधार थिए र आज नेपाल लगायत संसार भरी जुन जातीय अन्तरविरोध विद्यमान छन् तिनका आधार पनि तिनै हुन् । ती अन्तर्विरोधको एउटा समाधान राष्ट्रिय–राज्यको निर्माण हो । युरोपेलीे पुँजीवादी जनवादी क्रान्तिको प्रक्रियामा जुन देशमा राष्ट्रिय राज्यहरु बने ती देशमा जातीय अन्तर्विरोध समाधान भए । विश्वका बाँकी थुप्रै देशहरुमा जातीय उत्पीडनको स्थिति आज पनि विकराल अवस्थामा रहेको छ ।
अर्कोतिर, वर्गहरुको उत्पत्ति समाज विकासको अर्कै एउटा ऐतिहासिक परिवेशमा भएको हो । वर्ग भनेका उत्पादनका साधनहरु माथिको स्वामित्व, उत्पादन सम्बन्ध र वितरण प्रणालीमा रहने भिन्नता र आर्थिक असमानताका आधारमा निर्धारित हुने मानिसका सामाजिक समूहहरु हुन् । जस्तो उदाहरणका लागि दास, दास–मालिक, किसान, जमिन्दार, सर्वहारा, पुँजीपति वर्ग आदि । आदिम साम्यवादी युगको गर्भबाट नै वर्गहरुको उत्पत्ति हुन सुरुगरेको हो र दास–मालिक समाज नै सबैभन्दा पहिलो वर्गीय समाज हो । त्यस पछि विकास भएका सामन्ती समाज, पुँजीवादी समाज र समाजवादी समाज सबै वर्गयुक्त समाज हुन् । यसरी भिन्न परिवेश र सन्दर्भमा वर्ग र जातिको विकास भएको हो ।
यसरी वर्ग तथा जातिको उत्पत्ति अनि विकास भिन्न ऐतिहासिक परिवेश र प्रक्रियामा भएको हो । तिनीहरुका आ–आफ्ना स्वत्वहरु छन् । तिनका बीचमा भिन्नता पनि छन् र कतिपय सन्दर्भमा समानता पनि । तसर्थ, जातीय र वर्गीय मुक्तिको कुरा गर्दा सबैभन्दा पहिला जाति र वर्गका बीचको अन्तर्सम्बन्धबारे स्पष्ट हुनु पर्दछ । उत्पीडक जातिमा उत्पीडक र उत्पीडित दुवै वर्ग रहन्छन् र उत्पीडक वर्गमा पनि उत्पीडित र उत्पीडक दुवैथरी जाति हुन्छन् । त्यस्तै उत्पीडित जातिभित्र दुवैथरी वर्ग हुन्छन् र उत्पीडित वर्गभित्र पनि दुवैथरी जाति हुन्छन् । यसरी, वर्ग पुरै जाति होइन र जाति पुरै वर्ग पनि होइन ।
यसलाई थप प्रस्ट पारौं । उत्पीडित जातिभित्रको उपल्लो वर्ग उच्च जातीय अहङ्कारबाट पीडित त हुन्छ तर, त्यसको वर्गीय सम्बन्ध सत्ताधारी उच्च वर्गसंग हुने हुनाले त्यसले उत्पीडक र उत्पीडित दुवै थरी जातिका निम्न वर्गमाथि वर्गीय शोषण पनि गर्दछ । यसरी उत्पीडित जातिको उपल्लो वर्ग जातीय हिसावले उत्पीडित हुन्छ तर वर्गीय हिसावले उत्पीडक हुन्छ । उत्पीडित जातिको तलको ठूलो हिस्सा जातीय र वर्गीय दुवै हिसावले चर्को उत्पीडनमा परेको हुन्छ । त्यसै गरी उत्पीडक जातिको माथिल्लो वर्गमा मात्र होईन तल्लो वर्गमा पनि उच्च जातीय अहङ्कार हुन सक्छ तर वर्गीय रुपमा त्यसको उपल्लो तह शोषकवर्ग हुन्छ र तल्लो तह शोषितवर्ग हुन्छ । त्यसकारण उच्च जाति सोलोडोलो उत्पीडक वर्ग हुदैन र निम्न जाति सोलोडोलो उत्पीडित वर्ग पनि हुन सक्दैन ।
यसरी जातीय उत्पीडनभित्र वर्गीय शोषण हुन्छ र वर्गीय शोषणभित्र जातीय उत्पीडन पनि हुन सक्छ तर ती दुवै एउटै स्वरुपका उत्पीडन भने होइनन्, ती भिन्न हुन् । अठारौं शताव्दीको युरोपका कतिपय देशमा राष्ट्रिय–राज्य निर्माणको प्रक्रियामा जातीय अन्तर्विरोधको समाधान अवश्य भयो तर त्यसले वर्गीय अन्तर्विरोधको समाधान गरेन । त्यस्तो हुनु स्वाभाविक थियोे, किनभने बुर्जुवा वर्गको नेतृत्वमा सम्पन्न भएकोे पुँजीवादी जनवादी क्रान्तिले वर्गीय अन्तर्विरोधको समाधान गर्दैनथ्यो, गरेन र भोली पनि गर्दैन । यसले पनि जातीय र वर्गीय समस्या एउटै समस्या होइनन् यिनका प्रकृति भिन्न छन् भन्ने कुरा बुझ्न मद्दत गर्दछ ।
लेनिनले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा कुनै पनि देशको राष्ट्रिय मुक्ति आन्दोलन सर्वहारा वर्गको नेतृत्वमा सम्पन्न हुने समाजवादी क्रान्तिको एउटा अभिन्न हिस्सा हो भन्ने सैद्धान्तिक सच्चाइलाई स्थापित गर्नु भयो । त्यतिमात्र होईन उहाँले अलग राष्ट्रिय–राज्य निर्माण गर्न पाउने आत्मनिर्णयको अधिकारलाई सुनिश्चित गर्दै जातिहरुको स्वेच्छिक एकताका आधारमा समाजवादी सोभियत सङ्घको गठन र विकास गरेर त्यो सच्चाइको व्यावहारिक पुष्टि समेत गर्नु भयो । आत्मनिर्णयको अधिकारलाई स्वीकार नगर्नेहरु कम्युनिस्ट हुन सक्दैनन् भन्ने लेनिनको मान्यता जातीय मुक्ति आल्दोलनका सन्दर्भमा एउटा सिद्धान्त नै बन्न गएको छ । लेनिनले आत्मनिर्णयको अधिकारलाई एउटा सिद्धान्त नै बताए पनि उहाँ सधैं जातिहरुको स्वेच्छिक एकताको पक्षमा हुनुहुन्थ्यो र सोभियत सङघमा निर्मित त्यस्तो एकता वैज्ञानिक समाजवादको स्थापना र विकासका लागि थियो भन्ने कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन ।
त्यसैगरी, माओले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा बर्जुवा वर्ग साम्राज्यवादी शासकहरुको दलालमा परिणत भइसकेको हुनाले त्यसले पुँजीवादी जनवादी क्रान्तिको नेतृत्व गर्न नसक्ने कुरा बताउँदै अर्ध–सामन्ती, औपनिवेशिक र अर्ध–औपनिवेशिक देश चीनमा सर्वहारा वर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीको नेतृत्व र सम्पूर्ण उत्पीडित वर्ग, जाति, लिङ्ग तथा क्षेत्रका जनताको संयुक्त अधिनायकत्वमा चल्ने नयाँ जनवादी क्रान्तिको सफल नेतृत्व गर्नु भयो । चिनिया पुँजीवादी जनवादी क्रान्तिलाई यस अर्थमा नयाँ जनवादी भनियो कि त्यो अठारौं शताव्दीको पुँजीवादी क्रान्ति भन्दा मूख्यतः दुईवटा कुराले नयाँ थियो । एक, चिनिया क्रान्तिको नेतृत्व सर्वहारावर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीले गरेको थियो र दुई, क्रान्तिको निशाना सामन्तवाद मात्र नभएर सामन्तवाद र साम्राज्यवाद दुवै थिए । हान जातिको अत्यधिक बहुमत भएको चीनमा माओले हान उच्च जातीय अहङ्कारवादको तीव्र विरोध गर्नु भयो र आफै हान जातिको भएर पनि माओ उत्पीडित जातिको पक्षमा उभिनु भयो । उहाँले चिनमा हान उच्च जातीय अहङ्कारवादलाई जातीय मुक्तिकोे मूल बाधक बताई सहायक रुपमा निम्न जातीय अहङ्कारवादको पनि विरोध गर्नुपर्ने बताउनु भएको थियो । उच्च जातीय होस् वा निम्न जातीय कुनै पनि अहङ्कारवाद समाजवाद निर्माणको बाधक हुन्छ भन्ने माओको स्पष्ट मान्यता थियो । यो मान्यता आज पनि त्यत्तिकै सत्य छ ।
साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युगको विशेषता नै यो हो कि विश्वको जुनसुकै उत्पीडित देश भए पनि ती देशमा जातीय मुक्तिको प्रश्न भनेको घरेलु प्रतिक्रियावादको शोषण तथा दमन र बाह्य साम्राज्यवादको उत्पीडनलाई अन्तगर्ने प्रश्न हो । यसमा नेपाल अपवाद हुन सक्दैन । त्यसै भएर हाम्रो पार्टीले “सम्पूर्ण उत्पीडित वर्ग तथा जाति एक हौं !” भन्ने नाराका आधारमा सम्पूर्ण उत्पीडित वर्ग, जाति, लिङ्ग तथा क्षेत्रका जनता लगायत सबै उत्पीडित समुदायलाई एकतावद्ध गरी नेपालमा सामन्तवाद र साम्राज्यवाद विरोधी नयाँ जनवादी क्रान्तिको नेतृत्व गर्दै आएको छ । र नयाँ जनवादी क्रान्तिको सफलताले मात्र नेपालमा वर्गीय मात्र होइन जातीय मुक्ति समेत सुनिश्चित गर्नेछ ।
जातीय मुक्तिको सैद्धान्तिक आधार आत्मनिर्णयको अधिकार हो र त्यसको व्यावहारिक अभिव्यक्ति स्वेच्छिक एकताका आधारमा सङ्घीय गणराज्यको निर्माण वा अलग राष्ट्रिय–राज्यको गठन हो भन्ने कुरा माथि नै उल्लेख भइसकेको छ । यसबारे हाम्रो पार्टीमा कुनै द्विविधा छैन । तर, सिद्धान्त यान्त्रिक ढङ्गले लागु हुदैन । त्यसलाई हामीले देश, काल र परिस्थितिका आधारमा सिर्जनात्मक रुपमा लागु गर्नु पर्दछ । त्यसकारण माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक मार्गदर्शनमा जातीय नीतिलाई नेपालमा कसरी लागुगर्ने भन्ने कुरा नेपालको विशिष्ट परिस्थितिमा भर पर्छ । नेपालमा जातीय बनोट र त्यसको विशेषता सङ्क्षिप्तमा निम्नानुसार रहेको छ ।
स्तालिनले बताएका चारै वटा विशेषताहरु पूर्णरुपमा विकासित भएको कुनै पनि राष्ट्र वा जातिले नेपालमा बसोबास गरेको पाइँदैन । भाषा, संस्कृति र मनोविज्ञानका आधारमा तराईमा मैथिलीभाषी समुदाय र उपत्यकामा नेवारहरु अरु भन्दा विकसित छन् । तर ती पनि पूर्णतः राष्ट्रका रुपमा विकसित भएका छैनन् । त्यस्तै मगर, गुरुङ, थारु, तामाङ, खम्बु, लिम्बु, शेर्पा, अवधि लगायत थुप्रैै समुदायहरु छन् जसका साझा भाषिक, जातीय तथा साँस्कृतिक विशेषता र मनोविज्ञानहरु छन् तैपनि यी मध्ये कुनै पनि समुदाय जाति वा राष्ट्रका रुपमा भने विकसित भएका छैनन् । कुनै पनि क्षेत्रमा कुनै खास समुदाय विशेषको एकल उपस्थिति पनि छैन । त्यतिमात्र होइन, मैथिली भाषी समुदाय बाहेक अन्य सबैको उपस्थिति अल्पमतमा छ । तर, यी सबै जनसमुदायहरु पहाडिया उच्च जातीय अहङ्कारबाट उत्पीडन झेल्दै आएका छन् । यसका अतिरिक्त नेपालमा मनुवादी मान्यतामा आधारित ब्राह्मणबादद्वारा पीडित दलित समुदाय र धार्मिक अल्पसङ्ख्यक मुस्लिम समुदायले पनि बसोबास गर्दछन् । यी पनि उत्पीडित जनसमुदाय नै हुन् । यो नेपालको विशेषता हो ।
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले नेपालका उपरोक्त विशेषतालाई आफ्नो नीति निर्माणको राजनीतिक तथा व्यावहारिक आधार बनाई नेपालमा जातीय, भाषिक तथा अन्य उत्पीडित जनसमुदायको जन्मसिद्ध अधिकारलाई सम्बोधन गरेको छ । उत्पीडित जातीय र भाषिक समुदाय एवम् महिला तथा दलित लगायत धार्मिक अल्पसङ्ख्यक समुदायमा पर्ने शोषित वर्गका जनतालाई निश्चित अवधिका लागि विशेषाधिकारको व्यवस्था गरी विगतको उत्पीडनको क्षतिपूर्ति गर्नु पार्टीको नीति हो । तर, यहाँ ख्याल गर्नुपर्ने कुरा के हो भने त्यस्तो विशेषाधिकार उत्पीडित जाति वा समुदायको भएकै आधारमा सबैले पाउने कुरा होइन । त्यो साम्राज्यवादको दलाली र शोषकवर्गको हितको प्रतिनिधित्व गर्ने व्यक्तिलाई छाडेर आम उत्पीडित जनसमुदायले पाउने अधिकार हो । उत्पीडित समुदायकै भए पनि साम्राज्यवादको दलाली गर्ने र उत्पीडक वर्गको पक्षपोषण गर्ने व्यक्ति वा वर्गमाथि सर्वहारा वर्गको नेतृत्वमा जनवादी अधिनायकत्व लागु हुन्छ । यसलाई अन्यथा बुझ्नु हुदैन ।
यी नै सैद्धान्तिक मान्यता अन्तर्गत हाम्रो पार्टीले अत्मनिर्णयको अधिकारलाई सिद्धान्ततः स्वीकारगर्दै नेपालमा उत्पीडित जातीय पहिचानका आधारमा सङ्घीय गणतन्त्रको स्थापना, कुनै खास उत्पीडित जातीय वा भाषिक समुदायको बाहुल्य रहेका क्षेत्रमा स्वशासित इलाकाहरुको गठन र उनीहरुका भाषा, कला, संस्कृति आदिको संरक्षण तथा सम्बर्धन गरी नेपालमा जातीय अन्तर्विरोधलाई समाधान गर्ने नीति लिएको छ । यहीे नै नेपालमा जातीय अन्तर्विरोध समाधान गर्ने सही र व्यावहारिक नीति हो ।
दलाल तथा नोकरशाही पुँजीपति वर्ग र सामन्तवर्गको नेतृत्वगर्ने विद्यमान प्रतिक्रियावादी राज्यसत्ता र प्रतिक्रियावादी सङ्घीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत नेपालमा उपरोक्त नीति लागु हुन सक्दैन । त्यतिमात्र होईन यो साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा उदार तथा प्रतिस्पर्धात्मक पुँजीवादी युगमा जस्तो वुर्जवा वर्गको नेतृत्वमा पनि जातीय मुक्ति संभव छैन । त्यसका लागि माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक मार्ग निर्देशन, सर्वहारा वर्गको पार्टीको नेतृत्व र आम उत्पीडित वर्ग, जाति तथा जनसमुदायको जनवादी अधिनायकत्वमा आधारित सामन्तवाद तथा साम्राज्यवाद विरोधी सङ्घीय जनगणतन्त्र नेपालको स्थापना गर्नु अनिवार्य छ । हाम्रो पार्टीले “सम्पूर्ण उत्पीडित वर्ग तथा जनसमुदाय एक हौ !” भन्ने नाराका आधारमा सामन्तवाद र साम्राज्यवाद विरोधी सङ्घीय जनगणतन्त्र नेपालको स्थापनाका लागि नयाँ जनवादी क्रान्तिको नेतृत्व गरिराखेको छ । उपरोक्त नाराको वरिपरी गोलबन्द भई जनगणतन्त्र नेपालको स्थापना पछि मात्र जातीय तथा वर्गीय लगायत सबै खाले उत्पीडनबाट मुक्तिको ढोका खोल्न सकिन्छ ।
पुष ४, २०७६