मानिसले जीवनमा कस्तो उद्देश्य लिनुपर्छ ?

(जीवनको उद्देश्यबारे जीवन दर्शनको सवाल)

प्रकाशित मिति : २०७६ फाल्गुन २८

- कृष्णदास श्रेष्ठ

मानिसले जीवनमा कस्तो उद्देश्य लिनुपर्छ ? संसारमा जन्म लिएर मानिसले गर्नुपर्ने काम के हो ? उसले आफूले पाएको जीवनलाई कसरी बिताउनुपर्छ ? उसको जीवनको सार्थकता केमा रहेको हुन्छ ? यी यस्ता प्रश्नहरू हुन्, जसमा प्रत्येक मानिसले सोच्नैपर्छ र सबैले आ–आफ्नो ढङ्गले सोच्ने पनि गर्छन् । यो मानिस मात्रको लागि एउटा निकै चासोको विषय हो । साँचो भन्ने हो भने, जीवनमा मानिसले कुन बाटो लिनुपर्छ भन्ने सवाल जीवनको सबभन्दा आधारभूत सवाल हो ।

प्रत्येक मानिसले जीवनमा आफ्नो बाटो चुन्न सक्छ र चुन्ने उसको आफ्नो अधिकारको कुरा हो । उसको सामु यसरी चुन्न सकिने मुख्य रूपमा दुइटा बाटाहरू छन् । एउटा बाटो हो — संकीर्ण स्वार्थको सानो घेराभित्र आपूmलाई सीमित पार्नु र त्यसको बन्दी बनेर जीवन बिताउनु । यस खालको जीवनमा मानिस आफैमा केन्द्रित रहेर आफ्नो साँगुरो, वैयक्तिक स्वार्थपूर्तिमा व्यस्त रहन्छ, त्यस्तो स्वार्थको अँध्यारो गल्लीभित्र रुमलिरहन्छ र स्वार्थ–पूर्तिको लागि जस्तोसुकै काम पनि गर्दछ । सायद मर्ने बेलामा त्यस्तो जीवन बिताउने मानिसले पश्चातापको सुस्केरा हाल्दै भन्दो होला ः मेरो जीवन बेफ्वाँकमा सिद्धियो, मैले जीवनमा कुनै असल काम गरिनँ । अर्को बाटो हो — फराकिलो राजमार्ग । यस राजमार्गमा हिड्ने मानिसको लागि व्यापक जनसाधारणको सेवा नै मुख्य लक्ष्य रहन्छ । यो शोषण, उत्पीडन र अन्यायबाट जनताको मुक्तिको लागि सङ्घर्षको राजमार्ग हो । यस मार्गमा हिंड्नुको अर्थ उपरोक्त पवित्र सङ्घर्षमा आपूmलाई हिस्सेदार बनाउनु, सो सङ्घर्षको पक्षमा कुनै न कुनै रूपमा योगदान गर्नु र त्यसको सफलताको लागि आफ्नो सामथ्र्य र बुद्धिलाई लगाउनु हो ।

अलि विस्तुत रूपमा हामी यसबारे विचार गरौं ।

हामी आफ्नो वरिपरि, चारैतिर गरिबीमा बाँचिरहेका र भयानक दुखकष्ट भोगिरहेका अनगिन्ती मानिसहरू देखिरहेका छौं — यी त्यस्ता मानिस हुन, जो आफ्नो जीविका कमाउनका लागि पसीना बगाएर रातोदिन मेहनत गर्छन्, तर मानवोचित जीवन पाउँदैनन्, वा जो इमान्दारीपूर्ण श्रम गर्न चाहेर पनि काम पाउन सक्दैनन् । हाम्रो मुलुकमा पनि छाक टार्न नसकी हैरानी भोगिरहेका र गरिबी र अभावको पञ्जामा परी छटपटाइरहेका मानिसहरू बहुसङ्ख्यामा छन् । भोकले छटपटाइरहेका नीला–फुस्रा अनुहार भएका, जवानीको अनुभव नगर्दै बूढो बनेका, हाड–छाला मात्रले शरीर बनेका, कठोर परिश्रम गर्दा पनि पेटभरि खान नपाएर सिकुटी भएका र रोगी बनेका अनगिन्ती नरनारी र बालबालिकाहरू — यो कत्रो भयानक दृश्य हो । यो जीवनको दुखान्त नाटक हो — यस्तो नाटक, जसको शुरुदेखि अन्तसम्म दुखै–दुखले भरेको गाथा रहेको छ । यसमा अधिकाँश तिनै मानिसहरू हुन्, जसले आफ्नो पसीना–रगत एक गरेर समाजको धनदौलत, सुख–सुविस्ताहरू सिर्जन्छन्, तर उनीहरूले सो भोग्न पाउँदैनन्, र आपूmले सिर्जेको धनदौलत उनीहरूकै लागि बन्धन र दुखको कारण बन्छ । अर्कोतिर मुठ्ठीभर यस्ता मानिसहरू छन्, जो ठूल–ठूला महलहरूमा ऐश–आरामको विनाउत्पादक परिश्रमको र आलस्यपूर्ण वैभवको जीवन बिताउँछन् । कस्तो लाग्छ भने उक्त जीवनले परिश्रमी जीवनको उपहास गरिरहेको छ ।

यसरी, एकातिर भयानक गरिबी तथा अभाव र अर्कोतिर धनदौलतको प्रचुरता — यो हाम्रो समाजले, प्रत्येक शोषण–आधारित सामाजिक व्यवस्थाले पैदा गरेको परिणाम हो । मानिसको हिसाबबाट हेर्ने हो भने, यो विभाजन यस रूपमा हुन आउँछ – एकातिर सम्पन्नशाली, शोषक, लुटेरा, थैलीशाहहरूको संसार र अर्कोतिर पसीना बगाउने तर पेटभरि खान नपाउने, भोका–नांगा, विपन्न, रोगग्रस्तहरूको संसार । उक्त दुई संसारको बीचमा एउटा ठूलो खाल्टो छ — यस्तो खाल्टो, जुन शोषण–आधारित समाज अन्तर्गत झनझन फराकिलो र गहिरो हुँदैछ । घोर गरिबीको सागरमा छिटपूट धनदौलतको प्रचुरताका टापुहरू रहनु — के यो नमिल्दो व्यवस्था होइन र ? यो नै सबभन्दा प्रमुख तत्व हो, जसले हाम्रो सम्पूर्ण समाजलाई, सम्पूर्ण सामाजिक जीवनलाई दुर्गन्धी र विषाक्त बनाइरहेको छ । गरिबीले कैयौं मानिसहरूलाई प्राकृतिक मानव–स्वभावको विरुद्ध नचाँहदा–नचाँहदै पनि विभिन्न खालका दुष्कर्म, पाप–कर्म र अपराध गर्न बाध्य पारिरहेको छ । सामान्यतः मानिसहरू इमान्दार काम गरेर, हात र दिमाग घोटेर मानवोचित जीवन जिउन चाहन्छन्, तर श्रमजीवीहरूको निम्ति काम गरेर पनि मानिस जस्तो भएर जिउन मुश्किल भएको हुन्छ, र कैयौंले त जिउनका लागि हात र दिमाग घोट्ने अवसरसम्म पनि पाउँदैनन् । आज धेरै मुलुकहरूमा संङ्ख्यामा अधिकाधिक बढिरहेका बेरोजगारहरू उक्त अवसर नपाएकाहरू हुन् । त्यस स्थितिमा जिउनका लागि, आपूm र आफ्नो परिवारको जीविकाको लागि ती भोका र अर्ध–भोकाहरूको सामु एउटा मात्र विकल्प रहन्छ — त्यो हो कुनै नाजायज काम गर्नु, कुनै अपराधी काम गर्नु । यो बाध्यता हो, जसले उनीहरूलाई चोरी गर्न, बगली मार्न, ठग्न, डकैती गर्न वा आपूm जस्तै मानिसको हत्या गर्न लगाउँछ, जसले महिलाहरूलाई आफ्नो देह–व्यापार गरेर जिउनु पर्ने बनाउँछ र जसले मानिसलाई अमानवीय ढङ्गले पशुवत् व्यवहार गर्न लगाउँछ । यो आर्थिक बाध्यताको परिणाम हो । भोकले व्याकुल रहेका र भोक–भोकै मर्ने स्थितिमा परेका मानिसहरूको निम्ति नैतिक मूल्यहरूको कुराले केही असर पार्न सक्दैन ।

गरिबीको पक्षमा उपरोक्त कुरा छ भने धनदौलतको प्रचुरताको पक्षमा पनि कुनै राम्रो कुरा पाइँदैन । समाजको धनधान्यपूर्ण अङ्गमा मानवीयता भन्ने चीज एकदमै दुलर्भ छ । धनको प्रचुरताले व्यक्तिलाई अल्छीको पिण्ड बनाउँछ, उसमा धनको लोभलाई झन बढाउँछ, उसलाई पाखण्डी, कपटी र अमानवीय बनाइदिन्छ । धनले उसलाई मानवीय जीवन बिताउनका लागि पूरै अयोग्य पारिदिन्छ, उसलाई बिलकूल परजीवी बनाउँछ — समग्र रूपमा परजीवी । परजीवीवाद उसको मुख्य सिद्धान्त रहन्छ र त्यसद्वारा उसको सम्पूर्ण जीवन, सम्पूर्ण गतिविधि संचालित रहन्छ । धनको चहकमहकमा उसले आफ्नो चेतन–शक्ति र दिव्य–शक्ति गुमाउँछ । धन उसको लागि होइन, बरु ऊ धनको लागि बाँचेको हुन्छ । कहाँसम्म भने धन मात्र आउने भए ऊ जे पनि गर्न तत्पर रहन्छ, मुलुकको हित र जनताको हितलाई तिलाञ्जली दिन पनि किञ्चित मान्दैन । आलस्यपूर्ण जीवनले उसको दिमागलाई पाप, अपराध र षड्यन्त्र सिर्जना गर्ने यन्त्रमा परिणत गरिदिन्छ । उसमा “अल्छीको दिमाग पिशाचको ज्यासल हो” ९ब्ल ष्मभि दचबष्ल ष्क तजभ मभखष्ुिक धयचपकजयउ० भन्ने उखान चरितार्थ हुन्छ । ठूल–ठूला सामन्त, धन–कुवेर, थैलीशाह आदिको जीवनलाई नजीकबाट हेर्नोस् त, त्यहाँ तपाईले साँच्चैको जीवनजस्तो, मानिसको जीवनजस्तो कुनै चीज पाउनु हुनेछैन । त्यहाँ तपाईले कुनै स्वस्थकर, जीवनदायी तथा उपयोगी चीज भेट्टाउनु हुनेछैन, बरु पाखण्डीपन, षड्यन्त्र, दुराचारिता, भ्रष्टता, राक्षसी नैतिकता, पाशविकता, आदि मात्र पाउनु हुनेछ ।

यसरी प्रत्येक मुलुकमा, जहाँ मासिनद्वारा मानिसको शोषणमा, एक वर्गद्वारा अर्को वर्गको शोषणमा आधारित सामाजिक व्यवस्था छ — त्यस्तो प्रत्येक मुलुकमा एकातिर सम्पन्नता र अर्कोतिर विपन्नता विद्यमान छन् र ती दुईमाझको पर्खाल झनझन अग्लिंदैछ । उपरोक्त खालको सामाजिक परिपाटी कुनै व्यक्ति वा व्यक्ति–समूहको सिर्जना होइन, बरु मानव समाजको खास स्तर र अवस्थाको एउटा स्वभाविक परिणाम हो । तसर्थ, उक्त पर्खाललाई भत्काएर र उक्त परिपाटीलाई नष्ट गरेर समानताको संसार सिर्जना गर्ने सवाल नैतिकता उठाउने, वा शिक्षाको प्रचार गर्ने वा सानातिना सुधार गर्ने, वा व्यक्तिहरूलाई खतम पार्ने सवाल होइन । यस्ता अनेकौं प्रयत्नहरू भइसकेका छन्, तर ती सब पर्खाल भत्काउने कुराको सम्बन्धमा निरर्थक साबित भएका छन् । वास्तवमा यो सवाल शोषणमा आधारित सामाजिक–आर्थिक व्यवस्थालाई मास्ने सवाल हो ।

यो कुनै सजिलो कार्य होइन । यसतर्फ एकला व्यक्तिहरूको प्रयत्न, जतिसुकै महत्वपूर्ण भए पनि, हात्तीको मुखमा जीराजस्तो मात्र रहन्छ । करोडौं–करोड शोषित–पीडित जनताको सङ्गठित र एकताबद्ध सङ्घर्षले मात्र उक्त कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न सक्दछ । लामो समयदेखिन् श्रमजीवी मानवजातिले शोषण र थिचोमिचोबाट मुक्तिका लागि सङ्घर्ष गरिआएका छन् र त्यस सङ्घर्षमा उनीहरूले ठूल–ठूला त्याग र बलिदान गरिसकेका छन् । यस विश्वव्यापी सङ्घर्षमा कैयन् स्थानहरूमा ठूल–ठूला ऐतिहासिक विजयहरू हासिल गरिएका छन् । उक्त सङ्घर्ष अनेकौं घुम्ती र मोडहरू पार गर्दै र सामयिक पछि–हटाइहरू भोग्दै रोक्नैनसकिने प्रवाहको रूपमा अघि बढिरहेको छ ।

मुक्तिको लागि श्रमजीवी जनगणको उक्त सङ्घर्ष जारी छ, र त्यो सबभन्दा महान, पवित्र र गौरवशाली सङ्घर्ष हो । उक्त सङ्घर्षमा सहभागी बन्नु, त्यसलाई सकभर बढी सहयोग पु¥याउनु, र त्यसको सफलताको निम्ति सङ्घर्षरत रहनु सबै न्यायप्रेमी तथा प्रगतिप्रेमीहरूको उच्च कर्तव्य रहेको छ ।

तर यस महान सङ्घर्षको राजमार्गमा डटेर हिँडनु अवश्य पनि सजिलो छैन । यसमा लाग्दा अनेकौं अप्ठ्यारा र बाधाहरू स्वाभाविक रूपले आइपर्छन् र त्यसको मुकाबिला गर्नैपर्छ । कतिपय मानिसहरू अप्ठ्यारो देखेर भाग्ने पनि गर्छन्् । खाँचो भन्ने हो भने, अप्ठ्यारो भनेको आगो जस्तो हो; तपाई काठ बन्नुभयो भने त्यसले जलाइदिन्छ, फलाम बन्नुभयो भने चाहिं त्यसले तपाईलाई झन दह्रोे बनाइदिन्छ । तर, त्यस्ता अप्ठ्याराहरू बाहेक अन्य केही कुराहरू छन्, जसले मानिसलाई उक्त राजमार्गबाट विचलित पारेर अर्कै बाटोमा लगाइदिन्छ । हाम्रो जस्तो समाजमा यस्ता धेरै शक्तिहरू छन्, जसले मानिसहरूलाई साँगुरो, अँध्यारो गल्लीतर्फ घिसारेर लैजान र पिंजरामा नै कैद गर्न खोज्छन् । त्यस्ता शक्तिहरूमा मुख्य हुन् — लोभ–लालच, आफ्नै मात्र सुखको चाहना, व्यक्तिगत स्वार्थको विषाक्त वातावरण, रुढीवादी परम्परा, सामाजिक कुसंस्कार, आदि । माथि–उल्लेखित अप्ठ्याराहरूभन्दा धेरै गुना तागतशील उक्त शक्तिहरू छन् । जति धेरै धन कमाउन सक्यो त्यति बढी सफल जीवन हुन्छ भने धारणा आम रूपमा प्रचलित छ, र त्यसले मानिसलाई सजिलैसित आफ्नो प्रभावमुनि पार्दछ । खासगरी पुँजीवादी वा निम्न–पुँजीवादी वातावरण र संस्कारमा हुर्केका मानिसहरूलाई त्यसले सजिलैसित प्रभावित गर्छ । अरुहरूको दुखप्रति आँखा चिम्लेर आपूmले सुखभोग गर भन्ने मानवता–विरोधी विचार व्यापक रूपमा फैलिएको छ, र सो विचार अनुसार चल्ने मानिसहरूको सङ्ख्या कम छैन । यस्ता मानिसहरूलाई औंल्याउँदै माक्र्सले भन्नुभएको थियो ः
“तथाकथित व्याहवहारिक मान्छेहरू र तिनीहरूको बुद्धि देखेर मलाई हाँसो उठ्छ । अवश्य पनि, सुँगुर बन्न चाहेमा नै मानिसले मानवजातिको दुःखकष्टबाट मुन्टो फर्काएर आफ्नै स्वार्थको मात्र चासो लिन सक्छ ।”

फेरि, यस राजमार्गमा लामो समयसम्म, जीवनको आखिरीसम्म लाग्नु पनि त्यति सजिलो काम होइन । मुक्तिको लागि मानवजातिको सङ्घर्षमा पहिले सहभागी बनेका कैयौं मानिसहरू बीचैमा त्यसबाट पन्छिएर आफ्नो स्वार्थको सांगुरो घेरामा सीमित हुन पुगेको हामीले देखेका छौं र अहिले पनि देखिरहेका छौं । उक्त सङ्घर्षमा सहभागी बन्ने इच्छाले आएका बुद्धिजीवीहरूमा कैयौंजना बीचैमा गायब हुन्छन् । त्यस्ता हजारौं दृष्टान्तहरू हाम्रो सामु छन् । यस्ता अनेकौं दृष्टान्तहरू छन्, जसमा कोही मानिसहरू, लेनिनले बताउनु भए झैं, बीसदेखि उन्नतीस वर्षको उमेरसम्म क्रान्तिकारी, तीसदेखि उन्नचालिसको उमेरमा उदारवादी र चालिसदेखि सरकारी कर्मचारी बन्छन् । यस्ताहरू पनि धेरै तत्वहरू छन्, जो सुखमा श्रमजीवी जनताको मित्र बनेर सङ्घर्षमा आउँछन्, तर दुखमा जनतालाई छाडेर पाखा लाग्छन् ।

यस सम्बन्धमा, खास गरेर पुँजीवादी बुद्धिजीवीहरूमा व्यापक रूपमा एउटा खराबी रहेको हामी पाउँछौं, र त्यो हो पाखण्डीपन वा लोकाचार ९जथउयअचष्कथ० । यो खराबी मरणोन्मुख प्रतिक्रियावादी वर्गहरूमा मात्र होइन (वास्तवमा प्रतिक्रियावादीहरू सामान्यतः पाखण्डी नै हुन्छन्), कतिपय तथाकथित प्रगतिशील कार्यकर्ताहरूमा पनि फैलिएको छ । बाहिर लोकाचार, भित्र पोको पार भन्ने नीति उनीहरूको मूल मंत्र बनेको हुन्छ । व्यावहारिक क्षेत्रमा हामी यस्ता धेरै नामधारी क्रान्तिकारी देख्छौं, जो मुखले जन–मुक्ति, जन–क्रान्ति आदिबारे लम्बेचौडा कुरा गर्छन्् र खुब आदर्श छाँट्छन्, तर कामले आफ्नै स्वार्थ वा आंकाक्षा सिद्ध गर्नमा लागेका हुन्छन् । वास्तवमा हाम्रो प्रगतिशील जनान्दोलनको फाँटमा यस्ता बकुलाभगतहरूको कमी छैन, जो मुलुक र जनताप्रति प्रेमको ठूल–ठूला कुरा गर्छन्, तर व्यवहारमा आफ्नै सुखसुविस्ताका लागि, समाजमा आफ्नो निम्ति सम्मानपूर्ण ठाउँ बनाउनका लागि, कुनै उच्च पदमा पुग्नका लागि, वा आफ्नै महत्वाकांक्षा पूरा गर्नका लागि जोडतोडले लागिरहन्छन् । यो लोकाचार सबभन्दा निन्दनीय चीज हो, र यस्ता लोकाचारीहरूले जस्तोसुकै महान तथा उच्च लक्षलाई पनि कलंकित पार्छन् । यस्ता पाखण्डीहरूलाई पन्छाएर पठाउँदा लक्षको लागि फाइदा नै हुनेछ ।

जे होस्, श्रमजीवी जनताको मुक्ति एउटा उच्च तथा उदात्त लक्ष हो । यस लक्षप्रति समर्पित भएर बिताइने जीवन वास्तवमा सार्थक जीवन हो । श्रमजीवी मानवजातिको सेवाको उच्च तथा पवित्र आदर्शबाट अभिप्रेरित भएर जसले सङ्घर्षको बाटोमा आपूmलाई लगाउँछ, उसलाई जस्तोसुकै अप्ठ्यारा, बाधा र प्रलोभनले पनि विचलित पार्न सक्नेछैन । त्यस्तो आदर्शमय जीवन बिताउँदा मानिसले कत्रो सुख र आनन्दको अनुभव गर्दछ भन्ने कुरालाई अनुमान मात्र गर्न सकिन्छ ।

अन्तमा, श्रमिक जनगणको सेवा गर्न चाहने सबैले निकोलाई अस्ट्रोव्स्कीको निम्नलिखित भनाइलाई सधैंभरि सम्झिराख्नु र त्यसलाई आफ्नो लागि एउटा निर्देशन बनाउनु उपयुक्त हुन्छ ः
“मानिसको सबभन्दा प्यारो सम्पत्ति जीवन हो । मानिसलाई जीवन एकपल्ट मात्र दिइन्छ । उसले जीवनलाई कसरी बिताउनुपर्छ भने उसले खेरगएका वर्षहरूका लागि यातनापूर्ण पश्चाताप गर्न नपरोस्, उसले नीच तथा क्षुद्र अतीतका लागि भत्भती पोल्ने लाजको अनुभव गर्न नपरोस् । उसले जीवनलाई कसरी बिताउनुपर्छ भने मर्ने बेलामा उसले यसो भन्न सकोस् ः संसारमा सबभन्दा उच्च लक्ष रहेको मानवजातिको मुक्तिको लागि मेरो सारा जीवन, मेरो सारा तागत लगाइएको छ ।”
र धन्य हो उसको जीवन, जसले आफ्नो सारा सामथ्र्य र बुद्धि मानव–मुक्तिको महान तथा उच्च लक्षमा लगाएर, आफ्नो सम्पूर्ण जीवन त्यसको हेतु सङ्घर्षमा बिताएर आखिरमा बडो सन्तोषका साथ मृत्युलाई अंगीकार गर्छ । वास्तवमा यस्तो मृत्यु मृत्यु होइन, बरु अमरताको प्राप्ति हो ।