यस्तो देखियो सीमा अतिक्रमण र एमसीसीका विरुद्ध गरिएको नौ दलको विरोधसभा (फोटोफिचर)

प्रकाशित मिति : २०७६ फाल्गुन ८


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल लगायत नौ दलले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत ७२ ठाउँमा भारतले हडपेको भूमि फिर्ता गर्नुपर्ने र अमेरिकी साम्राज्यवादी परियोजना एमसीसी खारेज गरिनुपर्ने माग राखेर करिब एक महिनादेखि राष्ट्रिय स्वाधीनताको आन्दोलन गरिरहेका छन् । उनीहरुले केन्द्र, प्रदेश हुँदै यो आन्दोलनलाई जिल्ला जिल्लामा विस्तारित गरेका छन् । आन्दोलनमा जनसहभागिता बढ्दै गएको छ । र, यो आन्दोलनलाई राष्ट्रिय स्वाधीनताका पक्षधर आम जनसमुदायले आशाको नजरले हेरिरहेका छन् ।


बिहीबार अर्थात् ८ फागुनमा नौ दलले विरोध ¥यालीसहितको विरोधसभाको आयोजना गरे । माइतघर मण्डलाबाट निस्किएको विरोध ¥याली नयाँ बानेश्वरमा पुगेर विरोधसभामा परिणत भएको थियो । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य समेत रहेका देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (माले)का महासचिव सीपी मैनालीलगायतका नेताहरुले नेतृत्व गरेको विरोध जुलुसमा भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादका साथै दलाल तथा नोकरशाही शासकहरुका विरुद्ध चर्को नाराबाजी गरिएको थियो ।


विरोधसभालाई नेताहरु सीपी गजुरेल, सीपी मैनाली, चित्रबहादुर केसी, नेकपा (क्रान्तिकारी माओवादी)का नेता दिनेश शर्मा, नेकपा (मसाल)का नेता रामप्रकाश पुरी, नेकपाका नेता लोकनाराण सुवेदी, माओवादी केन्द्रका नेता तिलक थापा, जनसमाजवादीका नेता शुभराज काफ्ले लगायतले सम्बोधन गरेका थिए । विरोधसभाको सञ्चालन राष्ट्रिय जागरण परिषदका हेमन्त सेढाईले गरेका थिए ।


वक्ताहरुले एमसीसी कुनै पनि हालतमा संसदबाट पास गर्न नहुने र पास गरिए देशै नरहने स्थिति पैदा हुने चेतावानी दिंदै भारतले हडपेको लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत अतिक्रमित ७२ भन्दा बढी ठाउँको भूमि फिर्ता गराउनुपर्नेमा जोड दिएका थिए । जनताको आन्दोलन, संघर्षबाट मात्रै वैदेशिक हस्तक्षेपबाट मुक्त गराई राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सकिने बताउँदै नेताहरुले जारी संयुक्त आन्दोलनलाई अझ सशक्त, सुदृढ र विस्तार गरेर लैजाने प्रतिबद्धता जाहेर गरे ।


बरिष्ठ पत्रकार जय नारायण दाहालले आफ्नो क्यामेरामा कैद गरेको नौ दलको विरोध ¥यालीसहितको विरोधसभाका दृश्यलाई यहाँ प्रस्तुत गरिएको छ ।