
ललितपुर । नेकपा (क्रान्तिकारी माओवादी)सहित नौ दलले ललितपुरको मंगलबजारमा शनिबार विरोध प्रदर्शनसहित सभा सम्पन्न भएको छ । नौ दलको विरोध जुलुस मंगलबजार परिक्रमा गरी सभामा परिणत भएको थियो ।
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालकी केन्द्रीय सदस्य तथा ललितपुर अध्यक्ष इन्दिरा अधिकारीले सञ्चालन गरेको सभालाई नेकपा (क्रान्तिकारी माओवादी)का ललितपुर सेक्रेटरी श्याम केसी, नेकपा (मसाल)का नेता गोविन्द रंजित, नेकपा (माले)का मोहनराज शाक्य, नेकपा (माओवादी केन्द्र)का राजन तिमिल्सिना, राष्ट्रिय जनमोर्चाका घनश्याम न्यौपाने, नेकपाका महेन्द्र जोशी, जनसमाजवादी पार्टीका असिम लिम्बु लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

वक्ताहरुले राष्ट्रघाती एमसीसी सदनबाट कुनै पनि हालतमा पास गर्न नहुने भन्दै भारतले हडपेको लिम्पियाधुरा, कालापानी, लिपुलेक सहितका अतिक्रमित भूमि फिर्ता गराउनु पर्ने र कालापानीबाट भारतीय सेना हटाउनुपर्ने कुरामा जोड दिएका थिए ।
विरोध प्रदर्शनमा राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद मूर्दावाद, राष्ट्रघाती एमसीसी खारेज गर, अतिक्रमित भूमि फिर्ता गर, कालापानीबाट भारतीय सेना हटाऊ लगायतका नारा लगाएका थिए ।






























