पोखरा । नेकपा क्रान्तिकारी माओवादीले प्रदेश ४ का विभिन्न जिल्लामा विविध कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको छ ।
प्रदेश ४ को कास्की, तनहू, पर्वत, स्याङ्जा, बाग्लुङ, गोर्खा, नवलपुर लगायतका स्थापनमा सभा, जुलुस, अन्तरक्रिया, दीप प्रज्वलित गरी मनाइएको खबरहरु प्राप्त भएका छन् ।
नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ ले राष्ट्रिय स्वाधिनताको रक्षार्थ अभियानसँगै २५ औं जनयुद्ध दिवस मनाएको छ ।
तनहूको भानुकोट नगरपालिका ६ चन्द्रावतीमा भएको कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ का इन्चार्ज चन्दहरि सुवेदी, सेक्रेटरी केशबहादुर परियार, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश ४ का अध्यक्ष नेत्र रानाभाट, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य बाबुराम सुवेदी लगायतले बोल्नु भएको थियो ।
त्यसैगरी प्रदेश ४ कै नवलपुरमा नेकपा क्रान्तिकारी माओवादीले नवलपुरको दलदले र चोरमारामा जनयुद्ध निवसको अवसरमा कोण सभा गरेको छ ।
कोण सभामा नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य अशोक लम्साल अनुकुल, नेकपा क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापा, क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठ, देजमो नवलपुरका अध्यक्ष पिताम्बर तिवारी, महिला संघ नवलपुरका अध्यक्ष गीता पाण्डे लगायतले बोल्नुभएको थियो ।
त्यसैगरी पर्वतमा पनि जनयुद्ध दिवस आयोजक समितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको छ ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) पर्वतका ईन्र्चाज तेजेन्द्र प्रसाद पौडेल, नेकपा मालेका केन्द्रिय सदस्य यम विक, समाजवादी पार्टी पर्वतका अध्यक्ष याम बहादुर चोचाङ्गी पुन ‘नविन’, अखिल नेपाल क्रान्तिकारी किसान महासंघका केन्द्रिय सदस्य यम कार्की,
२५ औं जनयुद्व दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमको सञ्चालन पत्रकार गोपाल जिसीले गर्नुभएको थियो भने कार्यक्रममा सहभागी अतिथिहरुले मैन बत्तिबालेर एकैसाथ कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
त्यसैगरी स्याङजामा नेकपा क्रान्तिकारी माओवादी र विप्लव निकट नेकपाले संयुक्त रुपमा अन्तरक्रिया गरी जनयुद्ध दिवस मनाइएको नेकपा क्रान्तिकारी माओवादी स्याङजा सेक्रेटरी तिलक अधिकारीले जानकारी दिनुभएको छ ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सल्लाहाकार इन्द्रध्वज गुरुङ, देजमोका केन्द्रिय सदस्य खुमति गुरुङ, नेकपाका जिल्ला सेक्रेटरी आक्रोस लगायतले बोल्नुभएको थियो ।
त्यसैगरी विहीबार सांझ नेकपा क्रान्तिकारी माओवादी स्याङजाले दीप प्रज्वलित गरी जनयुद्ध दिवस मनाएको छ ।
त्यसैगरी बाग्लुङको गल्कोटमा नेकपा क्रान्तिकारी माओवादी बाग्लुङले चियापान कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाएको छ ।
कार्यक्रममा पार्टीका जिल्ला सेक्रेटरी क. प्रविन, पूर्व केन्द्रिय सल्लाहाकार अमृत घर्ति मगर लगायतले बोल्नुभएको थियो ।