खाँचो विस्तारवाद र साम्राज्यवादलाई चपाउन र पचाउन सक्ने प्रतिरोध युद्धको !
खाँचो विस्तारवाद र साम्राज्यवादलाई चपाउन र पचाउन सक्ने प्रतिरोध युद्धको !
२०७६ फागुन १ बिहीवार २१:२०
259
shares
जनयुद्धको एउटा उर्जाशील समय । त्याग, तपस्या, वीरता र बलिदानका महान गाथा । उदात्त भाव । निष्ठा र समर्पण । दुनियाँ बुझ्ने र बदल्ने महान अभियान । हल्लायो नेपाली समाजलाई जरैदेखि । उथलपुथलकारी दशवर्षे जनयुद्धले रुपान्तरणको ऐतिहासिक र महान फड्को हान्दै थियो । साम्राज्यवादीहरुलाई विश्व सर्वहारावर्गले भनिरहेको थियो– सगरमाथाको देशतिर हेर ! क्रान्ति विजय हुँदैछ । तर विडम्बना, बलात् नेतृत्वको एउटा हिस्साले गरेको वर्गीय र राष्ट्रिय आत्मसमर्पणसँगै नेपाली समाजको आर्थिक–सामाजिक–साँस्कृतिक रुपान्तरणको प्रक्रिया अबरुद्ध बन्न पुग्यो । नेतृत्वको त्यो धोका र गद्दारीसँगै जनयुद्धले सेटब्याक खान पुग्यो । परिणामतः जनमुक्ति सेनाको डिभिजनस्तरको सैन्य संरचना तहसनहस हुन पुग्यो । आधारइलाका, जनकम्युन र जनसंस्कृतिहरु एकाएक धरासायी भए । अनि त्यो महान बलिदान र आदर्शमाथि औला ठड्याउन थालियो । जनयुद्ध लडेर आएको नेतृत्वसहितको एक हिस्साले प्रतिक्रियावादी शक्तिसँगै आत्मसमर्पण गरी हिजोकै सढेगलेको संसदीय विभेद र उत्पीडनकारी राज्यसत्ताको जुठोपुरो खान थाल्यो । जनयद्ध लडेको माओवादी आन्दोलन टुट फुट विभाजनबाट गुज्रन पुग्यो । क्रान्ति प्रतिक्रान्तिमा बदलिन पुग्दा जनयुद्ध लडेको विशाल पंक्ति (मूलतःइमान्दार पंक्ति), सहिद तथा वेपत्ता योद्धा परिवार, घाइते अपाङ्गहरु असाध्यै पीडादायी स्थितिबाट गुज्रन पुग्यो । जनयुद्धविरोधीहरुको स्वर अहिले ठूलो भएको छ । चौतर्फी रुपमा उनीहरु जनयुद्ध गलत थियो, औचित्य सावित गर्न सकेन, यति ठूलो बलिदानको कुनै मूल्य रहेन आदि आदि भन्दै आक्रमण गरिरहेका छन् । सबैभन्दा ठूलो विडम्बना त के छ भने हिजो जनयुद्ध लडेको नेतृत्वसहितको ठूलो आत्समर्पणकारी हिस्सा नै जनयुद्ध लडेर ठूलो गल्ती गरिएछ भनेर पश्चाताप गरिरहेको छ । जनयुद्धमा गरेको पाप पखाल्न भन्दै विभिन्न मठ, मन्दिर, देवालयमा पुजापाठतिर लिहिन हुन थालेको छ । र, युद्ध अपराधीको आरोपमा हेग पो पु¥याउलान् कि भन्ने डरले विस्तारवादी र साम्राज्यवादी शक्तिहरुको लोती चाट्न र उनीहरुको स्वार्थ र इशारामा देशै बेच्न पनि पछि नपर्ने हातलमा देखिन पुगेका छन् ।
झापा विद्रोह र जनयुद्धका भ्रष्ट, अनैतिक, अराजनीतिक, धोकेबाज र गद्दार, वर्गीय र राष्ट्रिय आत्मसमर्पणकारी नवप्रतिक्रियावादी तत्वहरुको नेतृत्वमा बनेको अहिलेको यो सरकार विस्तारवादी र साम्राज्यवादीहरुको नाङ्गो दलाली, भ्रष्टाचारी, स्वेच्छाचारी तथा जनघाती र राष्ट्रघाती सरकारको रुपमा बद्नाम हुन पुगेको छ । लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्ता लगायतको भूमि आफ्नो नक्सामा गाभेर भारतले नयाँ नक्सा जारी गर्दा समेत यो सरकार कानामा तेल हालेर बसेको छ । यतिसम्म यो सरकार निकम्मा, नालायक, गैरजिम्मेवार र दलाल छ कि जनता सडकमा निस्केर ‘नेपालको नक्सा जारी गर’ भन्दा पनि जारी गर्न कुनै इच्छा, जाँगर र हिम्मत गर्दैन । देशको नक्सा समेत जारी गर्न नसक्ने दलाल शासकहरुलाई देशको सार्वभौमसत्ता सुम्पेर निकै ठूलो गल्ती गरेको आम जनताले महसुस गरिरहेका छन् । विगतका शासकहरुलाई माथ गर्दै स्वयम् प्रधानमन्त्रीले कानुनै बदलेर आफ्नो व्यापारिक साझेदार निजी कम्पनीलाई कौडीको मूल्यमा देशको सम्पत्ति जिम्मा लगाउछन् । आज ललिता निवास, प्रधानमन्त्री निवास बालुवाटार, नारायणहिटी दरबारको बहुमूल्य सरकारी जग्गा समेत कौडीको भाउमा बेचेर खाएका तथ्यहरु सार्वजनिक भइरहेका छन् । वाइडबडी, न्यारोबडी काण्ड, ३८ क्वीन्टल सुन तस्करी काण्डदेखि ललिता निवास, बालुवाटार, गोकर्ण रिसोर्ट, नारायणहिटी काण्डसम्म आइपुग्दा वर्तमान प्रधानमन्त्री ओलीदेखि विगतका प्रधानमन्त्री र मन्त्रीपरिषद्का अधिकांश सदस्यहरुलाई सर्वस्वसहित जन्मकैदको सजाय गर्नुपर्ने देखिन्छ तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग एउटै मुद्दामा मुछिएका माधव नेपाल, बाबुराम भट्टराईलाई छुन सक्दैन, विचरा विजय गच्छदारलाई मात्र दोषी करार गर्छ । यसबाट प्रष्ट हुन्छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि केवल सत्ता र शक्तिको खेलौना हो, स्वतन्त्रतापूर्वक यसले कुनै कार्य गर्ने ल्याकत राख्दैन । स्थानीय तहमा संस्थागत भ्रष्टाचार निकै बढेको तथ्यांक सार्वजनिक गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचारको मुहान सिंहदरबार हो भन्न किन सक्दैन । मुहानै सफा नभएपछि धाराको पानी कसरी सफा आउँछ ? यहाँसम्म कि राजस्वको त कुरै छाडौं विदेशी अनुदान, सहयोग, ऋणमा समेत भ्रष्टाचार गर्ने, सत्ता र प्रतिपक्षबीच भागबण्डा गरेर खाने संस्कार बसालेका संसदवादीहरुबाट जनताले मुलुकमा शान्ति र समृद्धि, विकास निर्माण, स्वतन्त्रता र स्वाधीनता, समानता र पारदर्शिता, सुशासन र जनउत्तरदायी जनप्रशासनको अपेक्षा र कल्पना गर्न सक्ने कुनै आधार भेटिन्न । अतः राष्ट्रियता, जनतन्त्र र जनजीविकाका हिसाबले हेर्दा वर्तमान शासन व्यवस्था लामो समयसम्म रहिरह्यो भने नेपालले ढिलो चाँडो आफ्नो स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डता गुमाउने निश्चित जस्तै छ । विहानीले दिनको संकेत गर्छ भनेझै भारतीय सीमा अतिक्रमण र साम्राज्यवादी अमेरिकी परियोजना एमसीसी प्रकरणमा यो सरकारले देखाएको राष्ट्रघाती रवैयाबाट पनि नेपाल र नेपाली जनताको अन्धार, भयावह र असुरक्षित भविष्यको अनुमान लगाउन जो कसैले सक्दछ । देश विकासको आधार खम्बाको रुपमा रहेका युवा शक्ति र यहाँको बहुमूल्य प्राकृतिक सम्पदालाई कौडीको मूल्यमा विदेशीलाई बेचेर कमिसन र रेमिटेन्सबाट आएको पैसामाथि मोजमस्ती, ऐस आराम, सात पुस्तालाई पुग्ने गरी ब्रम्हलुट मच्चाउने सरकार र राजनीतिक नेतृत्वबाट विकास र समृद्धिको आशा, अपेक्षा गर्ने जनताले अब घर घरमा बहस छलफल चलाउने बेला आएको छ ।
अब देश बचाउने जिम्मा भनेको नेपाली जनताको हातमा छ, काँधमा छ । इतिहासका निर्माता जनता हुन् । वीर पुर्खाहरुले अंग्रेज साम्राज्यवादसँग वीरता र बलिदानीपूर्वक लडेर बँचाएको यो देश आजको पुस्ताले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका विरुद्ध लडेर बँचाउन सक्छ कि सक्दैन ? यो प्रश्नको जवाफ तीन करोड नेपाली जनताले दिने बेला आएको छ । दक्षिण पूर्वी एशियाली राष्ट्र भियतनामले अमेरिकी साम्राज्यवादलाई धुलो चटाउने तागत राख्यो भने वीर नेपालीहरुले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादलाई धुुलो चटाउने तागत किन राख्न सक्दैन, राख्न सक्छ । यहाँको भूराजनीतिक स्थिति, सामरिक भौगोलिक अवस्थिति र यहाँका जनताको लडाकु तथा वीर गोरखाली चरित्रलाई युद्धको आधुनिक प्रविधिसँग जोड्न सक्ने हो भने विश्वयुद्धलाई नै चपाउन सक्ने र पचाउन सक्ने क्षमता नेपाल भूमि र नेपाली जनतामा छ । एक्काइसौं शताब्दीको यो तेस्रो दशकमा नेपालले इराक र अफगानिस्तानको होइन, भियतनामको इतिहास दोहो¥यानेछ, चीनको इतिहास पुनरावृत्त गर्नेछ । र, आफ्नै वीर पूर्खाले खेलेको भूमिका र लेखेको इतिहासलाई नयाँ ढंगले परिस्कृत गर्नेछ । इतिहास कायरहरुको हुँदैन, वीरहरुको हुन्छ, हार्नेहरुको होइन, जित्नेहरुको लेखिन्छ ।