क्रान्तिकारी माओवादीले देशैभर विभिन्न कार्यक्रम गरी मनायो २५ औं जनयुद्ध दिवस, काठमाडौंमा रेड मार्चपाससहित सभा सम्पन्न (फोटोफिचर)

प्रकाशित मिति : २०७६ फाल्गुन १


काठमाडौं । ऐतिहासिक जनयुद्ध, जनसंघर्ष तथा जनआन्दोलनको अनुभवको जगमा टेकेर नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहको कार्यदिशामार्फत् नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने उद्देश्यसहित नयाँ जनवादी क्रान्तिको तयारी गरिरहेको नेकपा (क्रान्तिकारी माओवादी)ले आज देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी २५ औं जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ ।

काठमाडौंमा रेडमार्चपाससहित असन इन्द्रचोकमा सभा सम्पन्न गरेको छ । रत्नपार्क शान्तिबाटिकाबाट सुरु भएको रेडमार्चपास पुरानो बसपार्क, सुन्धरा, सहिदगेट, नेपाल एयरलाइन्स, न्यूरोड, विशालबजार हुँदै इन्द्रचोकमा पुगेर सभामा परिणत भएको थियो । सभालाई पार्टी महासचिव मोहन वैद्य किरण, स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेललगायतका नेताहरुले सम्बोधन गरेका थिए । सभाको अध्यक्षता पार्टी पीवीएम प्रभाकिरणले गरेका थिए भने सञ्चालन अर्का पीवीएम तथा ३ नं. प्रदेशका सचिव प्रवेशले गरेका थिए ।


त्यसैगरी जारी चार महिने अभियानकै क्रममा चितवन, कञ्चनपुर, नवलपुर, नवलपरासी, रुपन्देही लगायत सातवटै प्रदेशका जिल्लाहरुमा कोणसभा, चोकसभा तथा अन्य सिर्जनात्मक कार्यक्रम गरी भव्य रुपमा जनयुद्ध दिवस मनाइएको छ । देशैभर साँझ दीप प्रज्वलन समेत गर्ने कार्यक्रम रहेको बताइएको छ । जिल्ला जिल्लाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।