सूर्खेतमा संयुक्त विरोध जुलुस र सभा सम्पन्न

राष्ट्रिय स्वाधिनताको रक्षाका लागि आफ्नै देशका विदेशी दलालहरुका विरुद्ध संघर्ष गर्नु परेको छ ।

प्रकाशित मिति : २०७६ माघ २५

माघ २४ विरेन्द्रनगर सूर्खेत
भारत सरकारले कब्जा गरेको नेपालको लिम्पीयाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भू—भाग फीर्ता र एमसीसी सम्झौता खारेजीको माग राख्दै ९ वटा राजनीतिक दलहरुले कर्णाली प्रदेशको राजधानी सूर्खेतमा संयुक्त विरोध जुलुस र सभा सम्पन्न गरेका छन् ।
सूर्खेतको मंगलगढी चोकबाट सुरु भएको विरोध जुलुस पिपल चौतारामा पुगेर विरोध सभामा परिणत भएको थियो । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अम्मर नेपालीको सञ्चालन र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश संयोजक दिपकबहादुर शाहीको अध्यक्षतामा सञ्चालन भएको विरोधसभालाई नेकपा(क्रान्तिकारी माओवादी)को स्थायी समिति सदस्य रामसिंह श्रीष, राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्मा, नेकपा(क्रान्तिकारी माओवादी)का पिविएम चक्रपाणी शर्मा, नेकपा(मसाल)का प्रवक्ता मोहन थापा, नेकपा(माले)का के.स. बलबहादुर गिरी, नेकपा(माओवादी केन्द्)का नरेशबहादुर शाही र राजमोका कर्णाली प्रदेश अध्यक्ष भरतबहादुर शाहीले सम्बोधन गरेका थिए । वक्ताहरुले लिम्पीयाधुरा सहितको भूभागलाई समेटेर नेपाल सरकारले नेपालको नक्शा तयार पार्नु पर्ने, यो मुद्दालाई अन्तराष्ट्रियकरण गर्नु पर्ने र एमसीसी सम्झौता खारेज गर्नु पर्ने कुरामा जोड दिएका थिए । उक्त विरोधसभाको प्रमृख बक्ताको रुपमा नेकपा(क्रान्तिकारी माओवादी)को स्थायी समिति सदस्य रामसिंह श्रीषले राष्ट्रिय स्वाधिनता खतरामा पर्नुको कारण नेपालका शासकहरुले गर्दा हो । त्यसकारण राष्ट्रिय स्वाधिनताको रक्षाका लागि आफ्नै देशका विदेशी दलालहरुका विरुद्ध पनि संघर्ष गर्नु पर्ने कुरामा जोड दिएका थिए । विरोधसभालाई नेकपा(माले)का यमबहादुर थापाले स्वागत गरेका थिए भने कार्यक्रमकको बीचबीचमा सामना परिवार रक्तिम सांस्कृतिक परिवारका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।