राष्ट्रिय स्वाधिनता जोगाउनु हाम्रो दायित्व

प्रकाशित मिति : २०७६ माघ २२

- मोदनाथ मरहठ्ठा


नेपाल एक स्वतन्त्र र अखण्ड राष्ट्र हो । इतिहासमा राम्रा नराम्रा घटनाहरुले प्रस्रय पाए पनि यो मुलुकको सार्वभौमिकता अखण्ड रहँदै आएको छ । इतिहासमा कैयौं पुर्खाहरुको देशभक्तिपूर्ण वीरगाथा पढ्दा हामी गौरवान्वीत हुन्छौँ । मुलुक भित्र रहेको जनविरोधी प्रवृत्ति र घटनाहरुको विरुद्ध देशभक्तिपूर्ण आन्दोलनहरुको साक्षी हाम्रो इतिहास छ । मुलुक परिवर्तनका लागि धेरै पटक आन्दोलनहरु भए धेरै योद्धाहरुले रगत बगाए । राज्य व्यवस्थामा आंशिक परिवर्तन पनि भयो । दुई ठूला छिमेकी राष्ट्रहरुको बिचमा रहेको हाम्रो देश आफ्नो स्वाभिमान कायम राख्न संघर्सरत छ । अहिले मुलुकले वेहोरेको स्वाधिनता विरोधी गतिबिधिले भने हामीलाई सोच्न बाध्य बनाएको छ ।
१) डिसेम्बर २, १८१५ मा हस्ताक्षर भई कार्यान्वयनमा आएको सुगौली सन्धीमा कायम भएको नेपाली भूभाग माथि त्यही सन्धी पत्रमा हस्ताक्षर गर्ने एउटा मुलुकले पटक–पटक उलङ्घन गर्दै आएको छ । कहिले सुस्ताको भूभाग, कहिले सप्तरीको तिलाठी, कहिले कञ्चनपुर लगायतका सयौँ ठाउँमा सिमा अतिक्रमण गरेको छ । पछिल्लो चरणमा उत्तर पश्चिम सिमानाको कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग आफ्नो आधिकारिक नक्सामा भारतले प्रकाशन गरेपछि सिङ्गो मुलुक तरङ्गीत भएको छ । यस घटनाले राष्ट्रप्रेमी नेपालीहरुद्वारा पटकपटक विरोध जनाउँदै आइरहेका छन् । तर उसको हेपाहा प्रवृत्ति रोकिएको छैन । तसर्थ जनस्तरबाट यो मुद्दालाई सशक्त रुपमा उठाउनुपर्ने देखिन्छ ।
२) मुलुकलाई समुन्नत बनाउन स्वदेशी उद्योगहरु फस्टाउन जरुरी छ । तर हामीकहाँ भने भएका ठूला उद्योगहरु रुग्ण बन्दै जाने र राष्ट्रिय पुँजीपतिहरुलाई बिचौलीया र नोकरशाही पुँजीले विस्थापन गर्ने प्रवृत्ति बढेर गएको छ । यसले स्वदेशी पुँजी निस्क्रिय र पलायन हुनुपर्ने बाध्यत्मक स्थिति आइपरेको छ । विश्वबजारमा हावी हुँदै आएको उपभोक्तावादले दीर्घकालिन उपभोग्य वस्तुको उत्पादन भन्दा भोग र नष्ट गर भन्ने मान्यतालाई बिना रोकतोक भित्रिन दिनुले मुलुकको स्वभीमानमा आँच आउन थालेको स्पष्ट देखिन्छ । यस्तो घातक प्रवृत्तिलाई सन्तुलनमा राख्न सकिएन भने हाम्रो पहिचान गुम्ने खतरा बढेर जान्छ । त्यसकारण हामी बेलैमा सजग हुनु आवश्यक छ ।
३) राष्ट्रिय स्वाधिनता माथि पर्दै आएको अर्को खतरा प्रशासनिक र राजनैतिक क्षेत्रमा देखिएको आर्थिक बिचलन वा अपचलन हो । यसलाई भ्रष्टाचार पनि भनिन्छ । यस्तो प्रवृत्ति यति धेरै मौलाएको छ कि जतिजति सरकारहरु फेरिन्छन् उतिउति यसको चरित्र फेरिन्छ । भन्सार छलेर सामान भित्र्याउनु, ठूला घरानाका व्यवसायीहरुलाई यो वा त्यो बाटोबाट कर छल्न सहज बनाउनु, राजनैतिक र प्रशासनिक शक्तिको चरम दुरुपयोग हो । लोकतन्त्र उपयोगको नाममा जनप्रतिनिधि बन्न पनि आर्थिक चलखेल जस्ता विषयहरु भित्रिनुले राज्य व्यवस्थाकै दुरुपयोग भएको ठहर छ । यसरी शक्तिको दुरुपयोग हुँदै जाँदा अराजकता सिर्जना हुने र मुलुक भाडामा जनप्रतिनिधिहरु पाइने उखानसँग मिल्न सक्छ । तसर्थ यो प्रवृत्ति रोक्नका निमित्त जन दवावको जरुरत पर्दछ ।
४) हाम्रो स्वाधिनता माथि आउन लागेको अर्को सङ्कट हो एमसिसि (सहस्राब्दी चुनौती निगम) । यो परियोजना सिंहदरबारको ढोकामा उभिएको छ । यो भनेको अमेरिकी सैन्य रणनीति हो । अर्थात इन्डो प्यासिफिक स्टाटिडिथको एउटा अङ्गक हो । जुन अमेरिकी सैन्य रणनीति मिल्दछ । प्रशान्त महासागरीय क्षेत्रमा भारतसँग जोडिएका मुलुकलाई आफ्नो सैनिक छाता भित्र मजबुत बनाउनु हो । यसको अर्को उद्देश्य भनेको विश्व बजारमा शक्तिशाली उपस्थिति कायम गर्दै आएको चिनलाई घेराबन्दी गर्नु र कमजोर पार्नु पनि हो । यसले नेपाललाई रणभूमि पो बनाउन लागिएको हो की, भन्ने सङ्का गर्ने ठाउँ देखिन्छ । अहिले राष्ट्रिय तहमा नै यो परियोजना लिन हुन्छ र लिन हुँदैन भन्ने तिब्र बहस भइरहेको बेला यसको साङ्ग पाङ्ग अध्ययन गर्दा यो सम्झौता राष्ट्रघात उन्मुख छ भन्ने देशभक्त स्वभिमानी नेपालीहरुको ठहर छ । तसर्थ यसलाई रोक्न जनदवावको जरुरत पर्दछ ।
यो बाहेक कतिपय असमान सन्धि सम्झौताहरु नदी, बिजुली जस्ता परियोजना र विकासका नाममा आउने अनुदानहरु राष्ट्रहित विरोधी छन् । धर्मका नाममा हुने घुसपैठ, कलासाहित्यका माध्यमबाट भित्रिएको विकृति, रोजगारीका नाममा हुने मानव तस्करी जस्ता विषयहरुले हाम्रो राष्ट्रिय स्वाधिनता र स्वाभिमान माथि हस्तक्षेप हुँदै आएको छ । अहिले आफूलाई कम्युनिष्ट भन्न रुचाउने शक्तिहरु सत्तामा छन् । तर उनिहरुले मुलुक भित्र भइरहेका यस्ता स्वभिमान विरोधी हर्कतहरुलाई रोक्न दिशा तर्फ कुनै पनि कदम चालेको देखिँदैन । जनमतको सर्वोच्चता दावी गर्ने तर आफ्नो वर्गीय चरित्रबाट स्खलित हुने परिपाटीले मुलुक आक्रान्त छ । शक्ति राष्ट्रहरुले साना राष्ट्रहरुमाथि दया, मायाको नाममा गरिने दान, सहयोगको अन्तरवस्तु बुझ्न नसक्नु, धाकधम्की र रवाफको विरुद्ध बोल्न नसक्नु जस्ता चरित्रले वर्तमान सत्ता निरिह बनेको प्रतित हुन्छ । तसर्थ आम देशभक्तहरुले झण्डा हेरेर होइन एजेण्डा हेरेर सरकारलाई दवाव सिर्जना गर्नु अनिवार्य आवश्यकता बनेको छ । त्यसका लागि देशभक्तिपूर्ण आन्दोलन र एकता जरुरी छ ।