राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई एकीकृत गर्न जरुरी

प्रकाशित मिति : २०७६ माघ १८

- प्रेम सुवेदी

वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन गर्दै, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) ले भनेको छ “अहिले राष्ट्रियता, जनतन्त्र तथा जनजीविका र मुख्यत राष्ट्रिय स्वाधीनताको रक्षा, सीमा अतिक्रमणको विरोध, कालापानीबाट भारतीय सेनालाई फिर्ता गर्ने प्रश्नलाई लिएर जनस्तरमा विरोध तथा आक्रोशका आवाजहरु उठिरहेका छन् । हामीले तिनलाई सही दिशा प्रदान गर्ने, संघर्षलाई अगाडि बढाउने, आफ्नै पहलमा आन्दोलनको सञ्चालन गर्ने र मिल्न सकिने शक्तिसित मिलि संयुक्त रूपमा जाने नीति अवलम्बन गर्नु पर्दछ ।”


उपरोक्त भनाइले स्पष्ट गर्दछ यतिबेला देशको सार्वभौमिकताको रक्षाको विषय अत्यन्त गम्भीर र सम्वेदनशिल अवस्थामा छ । तसर्थ, राष्ट्रिय स्वाधीनताका मुद्दामा मुख्य जोड दिदै जनतन्त्र र जनजीविका पक्षमा सघर्ष गर्नु अहिलेको वस्तुगत आवश्यकता हो । त्यो आवश्यकतालाई पूरा गर्न एकातिर पार्टीको स्वतन्त्र पहलमा सघर्ष गर्दै जाने, अर्कोतिर संयुक्त आन्दोलन र सघर्षका लागि वातावरण बनाउन विभिन्न शक्ति र पक्षहरु सङ्ग छलफल गर्दै संयुक्त आन्दोलन उठाउन कोशिष गर्ने जुन चर्चा गरिएको छ, त्यो समयको माग र आवश्यकता पनि हो ।

राष्ट्रिय स्वाधीनताका पक्षमा उठेका आवाज र आन्दोलनलाई एकीकृत गरेर नै देशको सार्वभौमसत्ताको रक्षा र वैदेशिक हस्तक्षेपलाई परास्त गर्न सकिने छ र सकिन्छ । नेपालको सार्वभौमसत्ता कमजोर पार्ने गरि भएका विभिन्न असमान सन्धि सम्झौताको खारेजी सीमा अतिक्रमणमा परेका लिम्पियाधुरा, कालापानी, शुस्ता महेशपुर लगायतका भू–भागको फिर्ता गर्ने प्रश्नलाई मुख्य जोड दिएर राष्ट्रिय स्वाधीनताको आन्दोलन सङ्ग्ठित गर्न आवश्यकता छ । निश्चय नै राष्ट्रिय स्वाधीनताको विषय यतिमा मात्र सिमित छैन,त्यसका बेग्ला बेग्लै विषयमा पनि आन्दोलन उठाउन जरुरी छ । पछिल्लो समयमा भारतीय बिस्तारवादले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नु नक्शामा समावेस गरेर गएको कार्तिक १६ गते जसरी नक्शा सार्वजनिक गर्यो त्यो नेपाल माथिको नाङ्गो हस्तक्षेप थियो र हो । त्यो हस्तक्षेप पछि हाम्रो पार्टी लगायतका विभिन्न मोर्चाले गर्दै आएका सघर्ष तथा अन्य पक्षबाट उठाइएका आवज र आन्दोलनलाई संयुक्त रूपमा लैजाने कोशिश भए पनि त्यसले सार्थकता पाउन सकिरहेको छैन । यो अवस्थामा राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई विभाजित रूपमा होईन, एकीकृत गर्न जरुरी छ । त्यो कुरामा हाम्रो पार्टी स्पष्ट छ । त्यसै शिलशिलामा विभिन्न पक्ष र शक्तिसङ्ग सम्वाद तथा छलफल गर्दै आए पनि त्यसले मुर्तरुप लिन सकिरहेको छैन । यसप्रकारको स्थितिमा आफ्नो तर्फबाट सघर्षका कार्यक्रम निश्चित गर्दै संयुक्त आन्दोलनका लागि वातावरण बनाउन पहल गर्नु नै सही हुनेछ र पार्टीले त्यही नीति अवलम्बन गर्दै आएको छ ।

नेपाल माथी भारतीय बिस्तारवादले गर्दै आएको थिचोमिचो र सीमा अतिक्रमणका बारेमा नेपालका शासकहरुले अपनाउदै आएको आत्मसमर्पण र सम्झौता परस्त नीतिले गम्भीर नकारात्मक प्रभाव पार्दै आएको छ । वर्तमान ने. क. पा. (नेकपा) को सरकारले पनि राष्ट्रिय स्वाधीनताको पक्षमा मुलतः सम्झौता परस्त नीति अपनाउदै आएको कुरा छर्लङ्ग हुँदै गएको छ । देखावटी रुपमा वर्तमान सरकारले आफूलाई राष्ट्रवादको घुम्टोले ढाक्न कोशिस गरे पनि घटनाक्रमले त्यो कुरालाई उदाङ्गो पारी दिएको छ । उनीहरुकोको दलाली नेपाली जनताका वीचमा कुनै पनि हालतमा छिप्न सक्ने छैन । साशकहारुको आत्मसमर्पण र लाचारपनका कारणले जनताले गर्दै आएको सघर्षले सार्थकता पाउन सकिरेहेको छैन, त्यसैले अबको आन्दोलनले विगतका ती सबै नकरात्मक पक्षबाट पाठ सिक्दै जब सम्म भारतीय विस्तारवादले अतिक्रमित भू–भाग फिर्ता गर्दैन तब सम्म आन्दोलनलाई निरन्तर सञ्चालन गर्ने अठोट र दृढताको आवश्यकता छ । सम्पूर्ण देशभक्तहरुलाई संगठित गर्ने उद्देश्य सहित आन्दोलनको दायरालाई फराकिलो पार्न जरुरी छ । राष्ट्रियताको आन्दोलनले प्राप्त गर्नुपर्ने उद्देश्य भनेको अतिक्रमित भूमीको फिर्ता, नेपालको अर्थतन्त्रमा भारतीय एकाधिकार पूँजीको अन्त्य र आत्मनिर्भर अर्थतन्त्रको निर्माण, खुला सिमानाका कारण उत्पन्न समस्याहरुको समाधान तथा असमान सन्धि सम्झौताहरुको खारेजी नै हो । उपर्युक्त विषयहरुलाई जोडेर राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई अगाडि बढाउन आवश्यक छ । ती सबैकुरालाई जोडन सकिएन भने वैदेशिक हस्तक्षेप हाम्रा लागि बारम्बारको नियति बनीरहने छ । तसर्थ राष्ट्रिय स्वाधिनताका विभिन्न पक्ष र आयामहरुमा पनि हामीले त्यत्तीकै ध्यान दिन जरुरी छ ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले उपयुक्र्त विषयलाई ध्यान दिंदै राष्ट्रियताको आन्दोलनका साथै जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई समेत समेटेर संघर्ष गर्ने जुन कुरा गरेको छ, त्यो समय सापेक्षीत छ । जनजीविका र जनतन्त्रबाट राष्ट्रियतालाई अलग गरेर राष्ट्रिय स्वाधिनता र राष्ट्रियतालाई अलग गर्ने दृष्टिकोणले आन्दोलनलाई अन्धराष्ट्रवादमा लैजाने खतरा पनि त्यतिकै हुन्छ । त्यसैले हाम्रो पार्टीले राष्ट्रियताको आन्दोलनलाई मुख्य जोड दिंदै जनतन्त्र र जनजीविकाका मुद्दासँग एकाकार गर्ने जुन नीति तय गरेको छ त्यो सही र वस्तुवादी छ । राष्ट्रिय स्वाधिनताको चर्चा गर्दा आन्तरिक राष्ट्रियतालाई उपेक्षा गर्ने दृष्टिकोणले पनि राष्ट्रियता, जनतन्त्र र जनजीविकालाई कमजोर बनाउछ । त्यसप्रति हम्रो पार्टी सदैव गंभीर र संवेदनशिल छ ।