भारतले सिक्किम, अमेरिकाले इराक अफगानिस्तान बनाउन खोजेको छ नेपाललाई : सीपी गजुरेल

प्रकाशित मिति : २०७६ माघ १७


काठमाडौं । नेपालका दलाल शासकहरुलाई प्रयोग गरेर भारतले सिक्किम झै नेपाललाई भारतमा विलय गराउन खोजेको र अमेरिकाले नेपालको भूमि प्रयोग गरेर चीनमाथि हमला गर्ने योजना बनाइरहेको दावी नेता सीपी गजुरेलले गरेका छन् । अमेरिकाले नेपाली भूमिमा बसेर चीनमाथि हमला गरे जवाफी हमलामा परी नेपाल ध्वस्त हुन सक्ने चेतावानी दिएका छन् । नेकपा क्रान्तिकारी माओेवादीका बरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष समेत रहेका नेता गजुरेलले एमसीसी पास गरिए नेपाल नै नरने स्थिति पैदा हुने भन्दै देशको राष्ट्रिय स्वाधीनता बचाउन सबै उत्पीडित वर्ग, उत्पीडित जाति तथा समुदाय एकताबद्ध भएर संघर्षमा उत्रनुपर्नेमा जोड दिए । बिहीबार पार्टी सम्बद्ध तामाङ राष्ट्रिय मुक्ति मोर्चाको प्रदेश भेलाको उद्घाटन गर्दै नेता गजुरेलले यस्तो बताएका हुन् ।
नेता गजुरेलले उत्पीडित जातिहरुको पहिचानमा आधारित आत्मनिर्णयको अधिकारसहितको संघीयताको वकालत गर्ने एक मात्र पार्टी क्रान्तिकारी माओवादी मात्र रहेकोले उत्पीडित जातिहरुको आफ्नो मुक्तिका निम्ति क्रान्तिकारी माओवादीको नेतृत्वमा गोलबन्द भएर संघर्षलाई अगाडि बढाउनुको कुनै विकल्प नरहेको पनि बताए ।
सत्ताधारी डबल नेकपाले उत्पीडित जातिहरुको पहिचान नै समाप्त पार्ने गरी संघीताको नामाकरण गरेको भन्दै त्यसलाई खारेज गर्न अब स्वयम् उत्पीडित जातिहरु संघर्षमा उत्रनुपर्ने कुरामा नेता गजुरेलको जोड थियो । उनले भने, “विश्वासघाती गद्दारहरुका विरुद्ध नलडी, फेरि क्रान्तिको प्रक्रियाबाट अगाडि नबढी अधिकार प्राप्त गर्ने कुनै सम्भावना बाँकी छैन ।”
ताम्सालीङ नाम सुनेर राष्ट्रपतिले कार्यक्रममै रद्द गरेको र उपराष्ट्रपति कार्यक्रम स्थलमा पुगेर पनि कार्यक्रमअगावै फर्किएको प्रसंग कोट्याउँदै अध्यक्ष गजुरेलले भने, “पहिचान झल्कने जातिहरुको कार्यक्रमबाटै तर्सिन थालेका शासकहरुबाट उत्पीडित जातिहरुको मुक्ति हुन्छ भन्नु सबभन्दा ठूलो भ्रम हो । ती धोकेबाज र गद्दारहरुका विरुद्ध अब लड्नुको विकल्प छैन ।”
पार्टी कार्यालय कुपण्डोलमा भएको कार्यक्रममा नेता सीताराम तामाङ, तामाङ मोर्चाका अध्यक्ष फुर्नाम्गेल मोक्तानलगायतका नेताहरुले उत्पीडित जातीय पहिचानसहितको संघीयताका लागि तामाङ जातिहरुसँग संघर्ष गर्नुको विकल्प नरहेको कुरामाथि जोड दिएका थिए ।
भेलाले प्रेम तामाङको नेतृत्वमा ३ नं. प्रदेशको नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।