श्रमिक जनता क्रान्तिकारी संघर्षका मूल आधार

प्रकाशित मिति : २०७६ माघ ९

- पुष्प गोपाल श्रेष्ठ

२००७ सालमा भए गरेको जनक्रान्ति विस्तारवादको नीति निर्देशन र उसकै छत्र छाँया दिल्ली दरबारमा राजा, राणा र नेपाली कांग्रेस बीच धोकापूर्ण सम्झौताले निम्त्याएको स्थिति ‘लथालिङ देशको भताभङ चाल ज–जस्ले जान्ला उ–उस्ले खाला’ भन्ने उक्ति अनुरुपको स्थिति हो । अझ भन्नु नै पर्दा वर्तमान देशको वस्तुस्थिति त झनै भयावह स्थितिबाट गुज्रन्दै छ । आन्तरिक रुपमा कम्युनिष्ट नामधारी बहुमतीय सरकार छ, यस्को कार्यविधि – अन्याय, अत्याचार, भ्रष्टाचार, हिंसा, बलात्कार, तस्करितन्त्र, बिचौलियातन्त्र, भूमाफियातन्त्र, कमिशनतन्त्र र ३३ किलो सुन काण्ड, वाइड बडी काण्ड, गोकर्ण, बालुवाटार तथा टुँडिखेल जग्गा काण्ड, पशुपति धर्मशाला काण्ड जस्ता अनेकौं यस्ता अनैतिक क्रियाकलापले देशलाई पुरै जरजर पारेको छ । अर्कोतिर बाह्य हस्तक्षेप – साम्राज्यवाद, विस्तारवाद तथा विभिन्न खाले प्रतिक्रियावादीहरुको हस्तक्षेप प्रत्यक्ष रुपले बढ्दो छ । देश विकासको नाउँमा लिने र दिने– ऋण र अनुदान दुबै प्रायः खोटपूर्ण रही आएको छ, अर्थात लिनेले आफ्नो राष्ट्रिय आवश्यकता प्रस्टयाई लिन नसक्नु, दिने दात्री राष्ट्रले आफ्नो राष्ट्रिय स्वार्थ अनुरुपको शर्त कबुलहरु बरकरार राखेर दिनु, कुनै पनि विकास योजना तयार पार्दा नेपाली सम्बन्धित विषयका विज्ञ र सम्बन्धित क्षेत्र (भौगोलिक) को ज्ञान बिना अनुमानको आधारमा कोरी पठाएको विकास आयोजना प्रतिवेदनको भरमा काम गर्ने प्रवृत्तिले गर्दा देश विकासको नाउँमा सत्तामुखीहरुको भुँडी विकास हुने गरेका छन् ।


वर्तमान स्थितिमा सोचनीय कुरा के रहिआएको छ भने, कुनै पनि वैदशिक रणनीतिलाई सोच बिचारै नगरी आँखा चिम्लेर सहमति जनाउन पुग्नु भनेको नेपाली भूमिलाई पुरै रणक्षेत्रमा परिणत गर्ने हुन जाने कुरालाई नकार्न मिल्दैन । बिआरआई र एमसीसी बिल्कुल भिन्न अर्थ र भिन्न स्थितिको हो । बिआरआई पूर्ण आर्थिक रणनीति हो भने एमसीसी आइपिएससँग जोडिएको छ । आइपिएस गठन हुनु र गर्नु खासमा सैन्य रणनीतिको लागि गठन भएको हो भन्ने कुरा सम्बन्धित राष्ट्रका सम्बन्धित निकाय अर्थात काठमाडौं स्थित अमेरिकी राजदुतावासले समेत स्पष्ट रुपमा खुलासा गरिसकेको वर्तमान स्थितिमा पनि नेपालका सत्तासिन पार्टीका जिम्मेवार नेता, मन्त्री र कतिपय गैरजिम्मेवार बुद्धिजीवी भनाउँदाहरुले एमसीसीको पक्षमा एकहरो रटान रटिरहनु कुन स्वार्थले प्रेरित गरेका हुन सोचनिय बन्न (रहेको) पुगेको छ । खान पायो र लिन पायो भन्दैमा आँखा चिम्लेर हसुर्न पुग्ने जस्ता गैरजिम्मेवार मानसिकता बोकी बसेका जो कोहीलाई पनि समय छँदै तहलाउन सच्चा देशभक्त नेपालीहरु सचेत बन्नैपर्छ ।

नेपाल, चीन र भारत मुक्त र स्वतन्त्र भएको समयको हिसाबले खास एक–आध वर्षको मात्र फरक हो । तर, तिनै देशको वस्तुस्थिति आकाश र जमिनको भने जस्तै फरक छ । नेपाल र भारतको वस्तुस्थिति मुक्त र स्वतन्त्र भन्नु मात्र हो । देशमा खास कुनै फेरवदल भएको छैन । अझ भन्नु नै पर्दा मुक्त र स्वतन्त्र भयो भनिएको वर्तमान स्थिति, अहिले सात दशक बितिसक्दा पनि देश र जनताको निम्ति कुनै खास परिवर्तन नभएको मात्र होइन । अझ बढी हिजोका दिनहरु भन्दा अरु भयावह स्थितिबाट गुज्रन्दै गइरहेको स्थिति छ । चीनको स्थिति भने बिलकूल भिन्न छ । चीनमा माओत्सेतुङको नेतृत्वमा भएको सफल ‘नयाँ जनवादी क्रान्ति’ले मुक्ति र स्वतन्त्र भएको एक–आध वर्ष भित्रै गरिखाने चीनियाँ जनताको निम्ति गाँस, बास तथा कपासको समस्या पूर्ण रुपले समाधान गरेको मात्र नभई देशकै काँचुली फेरेको स्थिति हामीले देखि सुनि आएकै कुरा हो ।

२००७ सालमा भएको जनक्रान्तिले ल्याएको भनिएको परिवर्तन र भारत १९४७ मा बृटिस साम्राज्यबाट मुक्त भयो भनिएकोमा नेपालका र भारतका गरिखाने जनताको निम्ति ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भने जस्तै खास कुनै उपलब्धी भएको छैन । भएको छ त केवल सत्तामा व्यक्ति विशेषको हेरफेर, त्यो पनि सतहमा देख्ने गरेर मात्र । आन्तरिक नीतिगत कुरा उही नै छ, त्यसलाई राजनैतिक भाषामा भन्नु पर्दा पूर्ववत गरिखाने जनतामाथि गराई खाने वर्गको अधिनायकवाद अर्थात शोषण उत्पीडन र दमनलाई अरु सशक्तिकरण गर्दै लगेर फासिजम नीति अख्तियार गर्न लागि परिरहेको स्थिति छ ।

यहाँ अत्यन्तै महत्वका साथ उल्लेख गर्नैपर्ने कुरा के हो भने वर्तमान चीनले पनि हिजोआज नेपालको स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न भू–अखण्ड राष्ट्रलाई, ती साम्राज्यवाद, विस्तारवादीहरुले अवमूल्यन गर्दै गरे जस्तै चीनले पनि अवमूल्यन र अपमान गर्न थालेको अनुभूति हुन आउन थालेको छ । जस्तो कि केही समय अघि चीन र भारत बीचको व्यापारिक ट्रान्जित प्वाइन्ट, नेपालको भूमि लिपुलेक बनाउने कुरा हामीलाई थाहै नदिई (सोधपुछै नगरी) बिना हिचकिचाहट चीनले सहमति जनाउनु र हालै चीनका राष्ट्रपतिको भारत भ्रमणको बेला, उनले एकाइसौं शताब्दी एसियाली शताब्दी हुने तथा त्यसकालागि चीन–भारत सहायता अनिवार्य रहने कुरा बताएर र अर्को तिर दुई–जोड एक अर्थात पहिले चीन तथा भारत मिल्ने अनि नेपाललाई मिलाउने भनेर भारतीय प्रधानमन्त्रीलाई आकर्षित पार्न खोज्नु भनेको नेपाल र नेपालीहरुलाई ठाडै अनादर र अपहेलना गर्नु हो । यस मामलामा हामी सचेत बन्नैपर्छ । हामी दुई–जोड एक पछिको अर्को एक होइन, तीनले बुझ्नु पर्ने कुरो कुनै पनि स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रहरुको बीच भौगोलिक रुपमा कुन ठूलो र कुन सानो भन्ने अर्थ लगाउनु भनेको पुरै निरर्थक कुरा हुन् । हामी दुई–जोड एक होइन, हुने नै हो भने बराबरीको हिस्सेदार हो । यो भनेको एउटा स्वतन्त्र र सार्वभौम नेपाल हो र उसको हैसियत पनि त्यही अनुसार हुने हो ।
यतिखेर नेपालमा देख्नमा आएकाृे बिदम्बनापूर्ण कुरा के हो भने नेपालको शासन सत्तामा नेपाली हुनुको नाताले गजधम्म बस्ने, तर भारतीय विस्तारवादीले, नेपालको स्वतन्त्र सार्वभौमसत्तामा खुल्लैयाम नाङ्गोपाराले हस्तक्षेप र अत्याक्रमण गर्नुको विरोधमा उत्रेका आन्दोलनकारी जन–उभार (जनलहर) देखि आतङ्कीत भई, राष्ट्रमा आइपरेको यो जटिल्तम् समस्या सुल्झाउन आफु पछी नपरेको भावभङगी देखाई गोहिको आँसु चुहाउनमा बेस्त, वर्तमान सरकारलाई नेपालको साँध–सीमा रक्षाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्व स्वीकृतिमै ज्ञापन–पत्र बुझाउन शान्तिपूर्ण नारा जुलुसका साथ गइरहेका देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल माथि निर्मम रुपले प्रहरी दमनमा उत्रेका कम्युनिष्ट नकाबधारी सरकारको फासिस्टवादी छवी उदाङ्गीन पुगेको छ ।

आफुलाई नेपालका सचेत राजनीतिज्ञ भन्न रुचाउने व्यक्ति विशेषको नजरमा, भारतीय विस्तारवादीको दादागिरिको जन–विरोधलाई, भारतको विरोध देख्नु र स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न भू–अखण्ड नेपालको साँधसीमा अतिक्रमण मात्र होइन नागरिक अतिक्रमण समेत अचाक्ली हुँदै आइरहेका छन् । यस्तो स्थितिलाई नजरअन्दाज गरी भारत विरुद्ध युद्ध ललकारेको देख्नु, नेपाली मानसिक्ता त हुनै सक्दैन । यसो भनेर फेरी तीनले भने जस्तै राष्ट्रिय स्वाधिनताको रक्षार्थ युद्धमा उत्रनु नै पर्ने वाध्यकारी स्थिति आइप¥यो भने सच्चा देशभक्त स्वाभिमानी कुनै पनि नेपालीले आफ्नो दुबै हातमा दही जमाएर लाटोले केला हेरेझैँ त्वाल–त्वालति परेर गुमसुमभई अवश्य पनि बस्ने छैनन् ।

दुई राष्ट्र र राष्ट्रियता बीच रहिआएको सुमधुर मैत्रीपूर्ण सम्बन्धलाई १९४७ पूर्व अङ्ग्रेजहरुको नेपाललाई हेर्ने दृष्टिकोणमा पनि र त्यसपछि भारतको सत्तासिन हुन आइपुगेका भारतीय विस्तारवादको नेपाललाई हेर्ने दृष्टिकोणमा पनि कुनै फेरवदल नभई यथावत कायम रहेको मात्र नभई हेपाहा र मिचाहा प्रवृत्ति प्रवल बन्दै आइरहेको छ । यसो हुँदै आउनुको मूल कारक तत्व भनेको नेपाल भारतबीच भएको १९५० को शान्ति तथा मैत्री सन्धीभित्र रहेको दुरासयपूर्ण राष्ट्रघाटी बुँदाहरु नै हुन् ।

नेपाल–भारतबीच भए गरेको १९५० को सन्धी लगाएत सम्पूर्ण असमान सन्धीहरु खारेज हुनुपर्छ र गर्नुपर्छ भन्नुको अर्थ अवश्य पनि यो होइन कि १९५० को सन्धी पुरै खारेज हुनुपर्छ । खारेज हुनुपर्छ के मात्र हो भने १९५० को सन्धीभित्र रहेका राष्ट्रघाती धाराहरुले शान्ति तथा मैत्री सन्धी कै खिल्ली उदाइरहेको स्थितिभित्रको त्यो, भारतीय विस्तारवादीहरुको दुरासयपूर्ण अनुरुपको धाराहरु लगाएत अन्य सबै असमान सन्धीहरु खारेज गर्ने भन्ने कुरा हो । १९५० को शान्ति तथा मैत्री सन्धीलाई आजको आवश्यक्ता अनुरुप बिना छल–कपट मैत्रीपूर्ण ढङ्गले पुनर्बीलोकन गर्नु नितान्त जरुरी छ । यसो गर्नु दुबै मित्र राष्ट्रको निम्ति हितकर हुने कुरा निश्चित छ । यसलाई केही गरेर पनि नकार्न मिल्दैन । अन्य सन्धी सम्झौताहरुको सम्बन्धमा पनि यसै गरी बिना छलकपट खुल्ला दिलले सन्धी सम्झौता गर्न सकिन्छ ।

नेपालको वर्तमान स्थितिमा क्रान्तिकारी कम्युनिष्टहरुको दायित्व भन्नु नै, विकराल समस्याले सिँगो नेपाललाई चौतर्फी घेराबन्दी भित्र अतहासपूर्ण जीवन जिउन बाध्य नेपाल र नेपालका आमजनतालाई मुक्ति र स्वतन्त्रताको निम्ति अनिवार्य शर्तको रुपमा हाम्रो सामू खडा रहिआएको, ती आत्मसमर्पनवादी प्रचण्ड र बाबुराम गुटद्वारा देश र जनतामाथि गद्दारी गरी क्रान्तिलाई धोका दिई अधुरो पारेको, त्यो दश वर्षिय महानजनयुद्ध (नयाँ जनवादी क्रान्ति) लाई पूर्णतामा ढाल्ने गहन क्रान्तिकारी दायित्व रहिआएको छ । त्यसो त देशमा यतिखेर चौतर्फी रुपमा क्रान्तिकारी पृष्ठभूमि निर्माण हुँदै आइरहेको स्थिति छ । तर पार्टीको आत्मागत शक्ति केही कमजोर छ, यसो भनेर हातमा हात बाँडेर बस्ने यो स्थिति होइन र त्यसरी बसेका पनि छैनन् । तर पनि आत्मागत शक्ति कमजोर हुनुको रोग पहिचान गरी तदारुक्तासाथ आवश्यक उपचार प्रविधि अपनाई अधुरो रहिरहेको जनवादी क्रान्तिलाई पूर्णतामा ढालेर संघीय जनगणतन्त्रको स्थापनार्थ पहलकदमीको निम्ति, माक्र्सवादी–लेनिनवादी–माओवादीहरुले अत्यन्तै महत्वका साथ श्रमिक जनता सामाजिक सम्पदाका स्रष्टा र क्रान्तिकारी संघर्षका मुख्य आधार हुन भन्ने कुरालाई हृदयङ्गम गरी व्यवहारमा उतार्ने जमर्कोका साथ अगाडि बढ्नु नै क्रान्तिकारीहरुको आज यो राष्ट्रिय–मुक्ति आन्दोलनको मूल मक्सद हो र हुनुपर्छ ।
२०७६÷९÷१९
ताहाचल, काठमाडौँ