कम्युनिस्ट नेता कार्यकर्ताहरुको लागि उपयोगी पुस्तक– ‘नेपालको अर्थराजनीति’

प्रकाशित मिति : २०७६ माघ ८


काठमाडौं । नेपालमा कम्युनिस्ट तथा वामपन्थी जनमत विशाल छ । कम्युनिस्ट आन्दोलनमा आस्था र विश्वास राख्ने जनपंक्तिको मात्रा पनि सानो छैन । कम्युनिस्ट आन्दोलनमै आवद्ध पंक्ति पनि निकै ठूलो छ । तर माक्र्सवादी–लेनिवादी–माओवादी सैद्धान्तिक वैचारिक कोणबाट परिस्थितिको विश्लेषण गर्ने, दृष्टिकोण बनाउने र नेपाली समाजमा विद्यमान समस्याहरुको अध्ययन र समाधानका लागि भने सघन विमर्श जति हुनुपर्ने हो त्यति भएको पाइदैन । त्यसमा पनि अर्थराजनीतिक कोणबाट अध्ययन, छलफल, बहस अत्यन्तै कम हुने गरेको छ । जबकि दुनियाँ बुझ्ने र बदल्ने कुरामा अर्थराजनीतिक विश्लेषणले मेरुदण्डको काम गर्ने गर्दछ । यसर्थमा नेपाली समाजको अर्थ राजनीतिक विमर्श, विश्लेषण हुन एकदमै आवश्यक छ । त्यसका लागि माक्र्सवादी राजनीतिक अर्थशास्त्रका एक जना स्थापित विज्ञ तथा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरोे सदस्य सीताराम तामाङद्वारा लिखित ‘अर्थ राजनीति (विकल्प–पुरुत्पादन सिद्धान्त र प्रक्रिया) नामको पुस्तक उपयोगी तथा सन्दर्भ सामग्री हुने देखिन्छ ।
गुडविलले हालै प्रकाशित गरी बजारमा ल्याएको उक्त पुस्तकमा क्रान्तिकारी बैकल्पिक विस्तारित पुनरुत्पादन ः सिद्धान्त र प्रकृयाको खोजी, र्वतमान नेपाली समाजको वर्ग–विश्लेशण र सशस्त्र जनविद्रोहको अर्थराजनीति, संघीयता र क्षेत्रीय विकास, आजको साम्राज्यवाद र महाकाली नदी अतिक्रमणको अर्थराजनीति, कृषिक्रान्ति र उद्धोग–व्यापारको समस्या, वेरोजगारी समस्याको विकल्प, आदि विषयहरु समेटिएका छन् । गहन खोज, अध्ययन र अनुसन्धानमा आधारित उक्त पुस्तकको अध्ययनबाट माक्र्सवादी कोणबाट नेपाली समाज र विद्यमान समस्याको अध्ययन र समाधानका लागि उपयुक्त विकल्पसहितको दृष्टिकोण निर्माण गर्न उपयोगी हुने देखिएको छ ।