क्रान्तिकारी माओवादीका सल्लाहकार स्याउलाको निधन, पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त

प्रकाशित मिति : २०७६ माघ ८

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का सल्लाहकार सदस्य विष्णु स्याउला (क.प्रकाश)को असामयिक निधन हुन पुगेको छ । फोक्सोको टिबीबाट पीडित उहाँको काभ्रेको बनेपा अस्पतालमा मंगलबार उपचारको क्रममा निधन भएको हो । पार्टीको पूर्व केन्द्रीय सल्लाहकार तथा हाल ३ नं. प्रदेशका सल्लाहकार स्याउलाको ६८ वर्षको उमेरमा असामयिक निधन भएको भन्दै पार्टीका ३ नंं. प्रदेशका सेक्रेटरी प्रवेशले मंगलबारै एक शोक वक्तव्य जारी गरी सल्लाहकार स्याउलाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

उहाँको निधनप्रति गहिरो दुःख प्रकट गर्दै पार्टीले शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना समेत प्रकट गरेको छ । स्याउलाको निधनबाट नेपालको कम्युनिस्ट क्रान्तिकारी आन्दोलनमा ठूलो क्षति पुगेको जनाएको छ ।

वि.सं. २००८ कार्तिक १५ गते बुवा गणेशदास स्याउला र माता सुन्दरी स्याउलाको कोखबाट जन्मनु भएका कमरेड विष्णुदास स्याउलाको दुई भाइ छोरा र बुहारीहरु तथा नातिनातिनाहरु छन् । वहाँ वि.सं. ०३६ सालमा शम्भुराम श्रेष्ठको सम्पर्कबाट कम्युनिष्ट आन्दोलनमा समाहित हुनु भएको र ०५८ सालमा मालेमा केन्द्रको पोलिटव्युरो सदस्य तथा ०६४ सालमा एनेकपा(माओवादी) र पछि नेकपा–माओवादीका केन्द्रीय सल्लाहाकार रहनु भएको थियो भने हाल वहाँ नेकपा (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेशको सल्लाहाकार समिति सदस्य हुनुहुन्थ्यो ।

उहाँको मंगलबारै पनौतीघाटमा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्यष्टी गरिएको छ । पार्टी पीवीएम तथा प्रदेश सचिव प्रवेश लगायतका नेताहरुले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली गरेका थिए ।

यस्तो छ वक्तव्यको पूर्णपाठ :

विषय ः शोक वक्तव्य
हाम्रो गौरवशाली पार्टी नेकपा(क्रान्तिकारी माओवादी) ३ नं. प्रदेशका सल्लाहाकार क. विष्णु स्याउलाको आज विहान काभ्रेस्थित बनेपाको हस्पीटलमा दुःखद र असामयिक निधन भएको छ । वहाँको निधनले क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा ठुलो क्षति पुगेको छ । वहाँ केही महिना अगाडिदेखि फोक्सोको टि.बिको विरामी भई उपचारमा हुनुहुन्थ्यो । निरन्तर उपचारको बाबजुद आज विहान वहाँको ६८ वर्षको उमेरमा असमायिक र दुःखद निधन भएको छ । वहाँको निधनप्रति हाम्रो पार्टी गहिरो दुःख प्रकट गर्दै वहाँप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ र यस दुःखद निधनले शोकाकुल वहाँको परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
वि.सं. २००८ कार्तिक १५ गते बुवा गणेशदास स्याउला र माता सुन्दरी स्याउलाको कोखबाट जन्मनु भएका कमरेड विष्णुदास स्याउलाको दुई भाइ छोरा र बुहारीहरु तथा नातिनातिनाहरु छन् । वहाँ वि.सं. ०३६ सालमा क. शम्भुराम श्रेष्ठको सम्पर्कबाट कम्युनिष्ट आन्दोलनमा समाहित हुनु भएको र ०५८ सालमा मालेमा केन्द्रको पोलिटव्युरो सदस्य तथा ०६४ सालमा एनेकपा(माओवादी) र पछि नेकपा–माओवादीका केन्द्रीय सल्लाहाकार रहनु भएको थियो भने हाल वहाँ नेकपा (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेशको सल्लाहाकार समिति सदस्य हुनुहुन्थ्यो ।

प्रवेश
सेक्रेटरी