युद्धाक्रान्त पश्चिम एशिया (मध्यपूर्व) र युद्ध पिपासु अमेरिकी साम्राज्यवाद 

प्रकाशित मिति : २०७६ माघ ६

- -परि थापा

बर्तमान विश्वको राजनीतिक मानचित्रमा अवस्थित भौगोलिक क्षेत्रहरुलाई तुलनात्मक रुपमा अवलोकन गर्दा पश्चिम एशिया (मध्यपूर्व) क्षेत् जहां इरान, इराक, सिरिया, लेबनान, प्यालेस्टाइन, इजरायल, जोर्डन, सउदी अरब, कुवेत, बहराइन, कतार, संयुक्त अरब इमिरेट, ओमान र यमन गरि चौध वटा राष्ट्र/राज्यहरु अस्तित्वमा रहेकाछन र एक वा अर्को रुपमासबैभन्दा बढी युद्ध विभिषिकामा परेकोछ। ति मध्य इराक, सिरिया र यमन लामो समय देखि चलिरहेको गृहयुद्ध बाट ग्रस्त भैरहेकाछन भने प्यालस्टइन आफ्नो स्वतन्त्रता र स्वाधीनतका लागि इजरायली विस्तारवाद द्वारा आक्रानत बनिरहेकोछ र आफ्नो स्वतन्त्रता र स्वाधीनता प्राप्तिका लागि संघर्षरत रहेकोछ। त्यसैगरि इजरायल बाहेक समग्र पश्चिम एशियाली क्षेत्रका देशहरु आफुलाइ क्षेत्रीय शक्तिका रुपमा स्थापित गराउने महत्वकांक्षाका साथ अगाडी बढिरहेका दुई प्रतिस्पर्धि देशहरु इरान र साउदी अरबको पक्ष-विपक्षमा विभक्त भएर दुई विपरीत खेमामा बांडीएका छन।

 

इरान र साउदी अरबको सन्दर्भमा भन्नु पर्दा उनिहरु सदैव आम्ने-साम्नेको अवस्थामा रहेको प्रतित हुन्छ। इरान र साउदी अरबको बिचमा विद्वेषपूर्ण कटुता र प्रतिस्पर्धा रहनुमा अर्को महत्वपूर्ण कारक तत्व भेको स्वयं इस्लाम धर्मावलम्बीहरुका बिचमा रहेको साम्प्रदायिक विभाजन हो, जसअनुसार मुख्यतः शिया र सुन्नी गरी दुई पन्थमा छुट्टीएका इस्लाम धर्मावलम्बीहरु मध्य शियाले इरान र सुन्नीले साउदी अरब लाई आ-आफ्नो केन्द्र मान्दछन्। त्यसरी इरान र साउदी अरबले आफुलाई केन्द्र मान्ने सम्प्रदायको समेत नेतृत्व गर्दछन् र सम्बन्धित सम्प्रदायको प्रभाव विस्तार एवं वर्चस्व कायम गर्नका लागि समेत पनि प्रतिस्पर्धात्मक कार्य गर्दछन र एक-अर्का पक्ष माथि हावी रहन निरन्तर प्रयत्नशील रहन्छन। जस्तै कतार लाई इरान संग सम्बन्ध राखेको आरोपमा साउदी अरबको नेतृत्वमा संयुक्त अरब इमिरेट, कुवेत, बहराइन, ओमन र इजीप्ट समेत मिलेर विगत तीन बर्ष देखि जल, स्थल र आकाश मार्गमा नाकाबन्दी लगाईएकोछ तर अहिले सम्म कतार झुकेको छैन।

पश्चिम एशिया (मध्यपूर्व) क्षेत्रमा आफ्नो प्रभाव विस्तार र नेतृत्व कायम गर्ने उद्देश्य पूर्ति गर्नका लागि इरान र साउदी अरब दुबैले आफ्ना पक्षधर एवं सहयोगिहरु लाई सहयोग र समर्थन गर्दछन। यस मामिलामा साउदी अरब भन्दा इरान अझै आक्रामक र व्यबस्थित रुपमा प्रस्तुत भएको देखिन्छ। त्यस प्रयोजनका निम्ति इरानले आफ्नो ‘रिभोल्युस्नरी गार्डस कोर्ज’ अन्तरगतको ‘कुदस् फोर्स’ लाई नै परिचालन गरि पठाउंछ। त्यसैगरि यमनको हुथी विद्रोही, लेबनानमा रहेको हेजबोल्ला र प्यालेस्टाइन स्थित हमास जस्ता सशस्त लडाकू समुहहरु इरानका सहयोगि एवं भाईचारा संगठनका रुपमा रहेकाछन। तुलनात्मक रुपमा सैन्य क्षमता र सामरिक सक्षमताका दृष्टिकोणले पनि साउदी अरब भन्दा इरान सबल र आत्मनिर्भर रहेकोछ। अमेरिकी साम्राजयवादले इराक माथि आम विनाशकारी रासायनिक हतियार निर्माण एवं भण्डारण गरेको कथित आरोप लगाएर आक्रमण गरेपछि सद्दाम हुसैन-जो सुन्नी सम्प्रदायका थिए र इरान संग आठ बर्ष लामो युद्ध गरेका थिए-को शासन अन्त्य भयो। तर त्यसको परिणास्वरुप बहुसंख्यामा रहेका शिया सम्प्रदाय इराकको सत्तामा आए र त्यसले इरानको लागि सकारात्मक योगदान पुर्यायो किनभने हिजोको शत्रु आज मित्रमा परिणत हुन पुग्यो।

पश्चिम एशिया (मध्यपूर्व) क्षेत्रमा द्वन्द्व र युद्धको अर्को महत्वपूर्ण कारक तत्वका रुपमा इजरायलको उपस्थिति रहेकोछ। दोस्रो विश्व युद्ध पछि अमेरिकी पहलमा विशुद्ध यहुदीहरुको राज्य स्थापनार्थ इजरायलको श्रृजना गरीएको थियो जसलाई अमेरिकाको ‘स्याटेलाइट स्टेट’ भन्दा पनि अत्युक्ति हुंदैन। एक समय सम्पूर्ण अरब जगत एकातर्फ र अमेरिकाको पूर्ण सहयोगमा इजरायल अर्कोतर्फ भएर त्यो क्षेत्र नै क्षेत्रीय युद्धमा फसेको थियो। प्यालेस्टाइनी जनताहरुले त आज पर्यन्त आफ्नो राष्ट्रको पूर्ण स्वतन्त्रता र स्वाधीनता प्राप्तिका लागि लडिरहनु परेकोछ। इरानले इजरायल लाई मान्यता दिदैंन र इजरायलको अस्तित्व लाई स्वीकार गर्दैन अर्थात्  इजरायलको अन्त्य चाहन्छ। त्यसैले इरान र इजरायल बिचको यस्तो वैमनश्यता कायम रहंदा सम्म त्यस क्षेत्रमा सदाबहार रुपमा द्वन्द कायम रहि युद्धको सम्भावना बनिरहने अवस्था रहन्छ। परिणामस्वरुप अमेरिकी साम्राजयवादले आफ्नो जबर्जस्त पस्थिति बनाई रहनेछ किनभने इजरायलको पक्षधरता लिनु र सुरक्षा गर्नु र अस्तित्त्व जोगाउनु उस्को प्राथमिक दायित्व भित्र पर्दछ।

 

अमेरिकी साम्राजयवादले सिरिया, इराक, कुवेत, कतार, साउदी अरब, बहरराइन, संयुक्त अरब इमिरेट, ओमन, इजरायल र अफगानिस्तानमा समेत आफ्नो सैन्य उपस्थिति एवं अखडाहरु कायम गरेकोछ। यसरी इरान लाई अमेरिकी सैन्य बलको घेराबन्दिमा पारेर राखेकोछ।  ती सबै देशहरुमा रहेको अमेरिकी सेनाको सङ्ख्या असी हजारको हाराहारीमा भएको बताईन्छ। त्यसैगरी इरानको अर्थतन्त्र लाई धराशयी बनाउने प्रयोजनका लागि उस्को विरुद्धमा व्यापक रुपमा आर्थिक नाकाबन्दी लगाएर इरानका अन्य व्यापार साझेदारहरु लाई पनि दवाब दिदैं आएकोछ। त्यसबाट चीन, भारत र युरोपीयन युनीयन समेत प्रभावित हुन पुगेका छन। यसरी अमेरिकी साम्राज्यवाद समकालीन विश्व राजनीतिक रङ्गमञ्चमा एक नम्बर युद्ध पिपासु शक्तिको रुपमा देखा परेकोछ। बर्तमान अवस्थामा विश्व हतियार बजारको सबैभन्दा बढी करिब पैंतीस प्रतिशत हतियार र सस्त्रास्त्रको व्यापार अमेरिकाले गर्दछ। अमेरिकाको अर्थतन्त्रमा हतियार व्यापारको ठूलो मात्रामा योगदान रहने गरेकोछ। त्यसकारण पनि अमेरिकाले विभिन्न वहानामा अन्य देशहरु माथि जबर्जस्त युद्ध थोपर्दै आएकोछ। किनभने अरु देश माथि अन्यायपूर्ण ढंगले  युद्ध लादिंदा उस्को लागि हतियारको व्यापार पनि फस्टाउने अनुकूल स्थिति उत्पन्न हुन जान्छ। त्यसैले युद्ध उस्को ‘हबी’ वा रोजाईको विषय हो र त्यस प्रकारको युद्ध कार्यमा आफ्ना सहयोगी र पक्षधर देशहरु लाई समेत वाध्य पार्दछ।

अमेरिकी साम्राज्यवादको कारणले गर्दा कतिपय शक्ति राष्ट्रहरुले समेत अन्य राष्ट्रहरुको आन्तरिक मामिलामा एक वा अर्को पक्ष लाई सघाउने निहुंमा हस्तक्षेपकारी भूमिका निभाएका छन। त्यसको एउटा ज्वलन्त उदाहरणको रुपमा सिरिया रहेकोछ। त्यहांको गृहयुद्धमा राष्ट्रपति असदको बिरोधि ‘फ्री सिरियन आर्मी’ लाई अमेरिकाले प्रत्यक्ष सहयोग गर्ने घोषणा र काम गरेपछि असदलाई सहयोग गर्न रुस आएको थियो। त्यसैगरि अमेरिकाले पहिले सिरियाकै कुर्दिस फौज लाई साथमा लिएर आइएसआइका लडाकूहरु विरुद्ध कार्रवाई चलायो भने अहिले आएर कुर्दिस फौजको साथ छोडी दिएर त्यहां टर्कीले सिरियाको सार्वभौमिकता माथि अतिक्रमण गर्ने र कुर्दिस फौज माथि दमन गर्न पाउने स्थिति सिर्जना गराएकोछ। त्यति मात्र होइन अमेरिकी साम्राज्यवादले जुनजुन देशमा शासन सत्ता परिवर्तन गर्ने र गराउने ध्येयले सैन्य आक्रमण र हस्तक्षेप गरेकोछ। ती सबै देशहरुको राष्ट्रीय अबस्था व्यापक मात्रामा अस्थिरता र अस्तव्यस्तताको स्थिति बाट गुज्रीरहेकोछ। त्यसको ज्वलन्त उदाहरणका रुपमा प्यालेस्टाइन, अफगानिस्तान, इराक, लिबिया र सिरीयाको अबस्था लाई सिन सकिन्छ।

पछिल्लो समय आएर अमेरिकी साम्राज्यवादले इरानको रिभोलुस्नरी गार्डस कोर्ज को कुदस् फौजका जनरल कासिम सोलेमानि लाई ०३ जनवरी २०२० का दिन इराकको राजधानीको बगदाद विमानस्थल बाट बाहिरीने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा ड्रोन मार्फत क्षेप्यास्त्र प्रहार गरेर नृसंश ढंगले हत्या गरेकोछ जसमा सोलेमानी संगै यात्रा गरीरहेका इनरानकै अर्का पपुलर मोबिलाइजेशन फोर्सका कमान्डर अल मुहन्दीसको समेत मृत्यु भएकोछ। यो घट्ना बाट अमेरिकी साम्राज्यवादले आफ्नो घृणित युद्ध पिपासु स्वरुप लाई झनै उदाङ्ग पारेकोछ।  उक्त हत्याको बदलामा जवाफी कारवाही स्वरुप इरानले भोलिपल्ट इराक स्थित अमेरिकी हवाइ अखडा रहेको स्थानहरु एर्बिल र अल असदमा  करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरी हमला गरेकोछ। यस घटनाले गर्दा इरान-अमेरीका बिचको तनाव अझ उत्कर्षमा पुगेकोछ भने त्यस क्षेत्रमा थप अस्थिरता र युद्धको संत्रास बढाउने काम गरेकोछ।

कासिम सोलेमानिको पासविक हत्याकाण्ड लाई अमेरिकी साम्राज्यवादी सत्ताले एउटा खुंखार आतङ्ककारीको अनत्य गरेको दावी गरेर प्रचारवाजी गर्ने दुष्प्रयत्न समेत गरेको थियो। तर त्यस प्रकारको दावी लाई वाह्य विश्वले मात्र होइन कि बरु स्वयं अमेरिका भित्र नै त्यसतो दावी फोस्रो सावित हुन पुग्यो र अमेरिकीहरु बिचनै मतान्तरण र अन्तरविरोध उत्पन्न हुन पुग्यो। त्यसको परिणाम स्वरुप अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स (कंग्रेस) ले एक विशेष प्रस्ताव पारित गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्ध पिपासु नीति खास गरेर इरान विरुद्ध युद्ध घोषणा गर्ने अधिकार लाई सीमितीकरण गरिदीएकोछ।यता इरान लगायत त्यस क्षेत्रका आम जनसमुदायले युद्ध र नाकाबन्दीका कारण जर्जर बन्न पुगेको अर्थतन्त्रका कारण कष्टकर बन्दै गएको अवस्था बाट सम्पन्नता हासिल गर्न र युद्धको त्रासदी बाट मुक्त भएर शान्तिपूर्ण जीवन यापन गर्न चाहन्छन। इरानको सत्ताले त्यहांको अर्थव्यवस्थाको जर्जरताका कारणले गर्दा तेल र ग्यासको भण्डार भएको देश भएता पनि राजस्व उठाउन ती वस्तुहरुको मूल्यमा वृद्धि गर्नु पर्ने अवस्था सिर्जना भएकोछ। जुन कार्यको विरोधमा इरानी जनताहरु सडकमा उतरेका थिए र त्यहांको सत्ताले निर्मम दमन र हत्या गरेको थियो।

इरान लगायत त्यस क्षेत्रका देशहरुका न्यायप्रेमी तथा परिवर्तनकामी जनसमुदायहरुले अमेरिकी साम्राज्यवाद लगायत सम्पूर्ण वैदेशिक हस्तक्षेपकारी शक्तिहरुका साथै घरेलु प्रतिकृयावादी शासन सत्ताको दमन र थिचोमिचो बाट उन्मुक्ति प्राप्त गर्नका निम्ति संघर्ष र आन्दोलन गर्दै आएका पनि छन। तर शासन सत्ता परिवर्तन भैहाले पनि पुन: फेरी अर्को रुपरंगको जनविरोधी र प्रतिकृयावादी तत्वहरुको हातमा सत्ताको बागडोर पुग्दै आएकोछ। त्यसको पछाडीको मुख्य कारण भनेको आमूल परिवर्तनकारी क्रान्तिकारी शक्तिहरुको प्रभावकारी उपस्थिति नहुनु र भएपनि उनीहरुको अवस्था कमजोर र निर्णायकरुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नसक्ने हुनु नै हो। त्यस क्षेत्रका सम्पूर्ण परिवर्तनकारी र मुक्तिकामी जनसमुदायको युद्ध पिपासु विदेशी साम्राजयवादी शक्तिहरु लाई सदाका लागि त्यहां बाट लखेट्ने र दमनकारी घरेलु प्रतिकृयावादी शासकहरु लाई सत्ताच्युत गरेर जनताको जनवादी राज्य व्यबस्था स्थापना गर्ने संघर्ष र आन्दोलनमा समर्थन, सहयोग र एक्यवद्धता कायम गर्नु संसारभरका क्रान्तिकारी शक्ति र संगठनहरुको नैतिक दायित्व हो र हुनु पर्दछ।