कम्युनिष्ट नामको प्रतिक्रियावादी पार्टी र सरकारप्रति होसियार रहन उत्पीडित जनसमुदायमा नेवाः मोर्चाको अनुरोध

कम्युनिष्ट नामको प्रतिक्रियावादी पार्टी र सरकारप्रति होसियार रहन उत्पीडित जनसमुदायमा नेवाः मोर्चाको अनुरोध


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालले ३ नं. प्रदेशको नामाकरण र राजधानीको विषयमा डबल नेकपाको निर्णय अनुसार प्रदेश संसदले गरेको निर्णयको कडा विरोध एवम् भत्र्सना गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठले एक वक्तव्य जारी गरी पुष २७ गते बसेको ३ नं. प्रदेशको संसदले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने गरी गरेको निर्णयप्रति नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको गंभीर रुपमा ध्यानाकर्षण भन्दै उक्त निर्णयको कडा विरोध गरेका हुन् ।

वक्तव्यमा केही दिन अगाडि डबल नेकपाको सचिवालयको बैठकले ३ नं.प्रदेशको नाम बाग्मती राख्ने र राजधानी हेटौंडा गर्ने निर्णय गरेको र यसका सांसदहरुलाई त्यस निर्णय कार्यान्वयन गराउन ह्विप जारी गरिएको उल्लेख गर्दै २७ गतेभन्दा अगाडि बाग्मती नाम र राजधानी हेटौंडा अस्वीकार्य भनी उफ्रिउफ्रि हिँडेका सांसद र नेताहरु ह्विप जारी भएपछि विवेक शुन्य रोवोटमा परिणत भएको र उक्त निर्णयमा ल्याप्चे लगाउन पुगेको उल्लेख गरिएको छ ।

वक्तव्यमा आम उत्पीडित समुदाय र जातिहरुले पहिचानको झल्को दिने प्रदेशको नाम नेवाः तामसालिङ भए पनि राखिनु पर्छ भन्ने माग रहेको उल्लेख गर्दै संसदको निर्णयले सबै उत्पीडित जाति र समुदायका भावनामाथि कुठराघात भएको ठहर गरिएको छ ।

वक्तव्यमा यो निर्णय पंचायतकालीन ब्रम्हाणवादी सोच र चिन्तनको परिणाम भएको उल्लेख गर्दै वक्तव्यमा निर्णयको घोर भत्सर्ना गर्दै कथित कम्युनिष्ट नामको प्रतिक्रियावादी पार्टी र सरकार तथा तिनका नेता र सांसदप्रति होसियार हुन पनि उत्पीडित जनसमुदाय र जातिहरुमा अनुरोध गरेको छ ।
मोर्चाले ३ नं. प्रदेशमा उत्पीडित जाति र समुदायलाई उत्पीडनबाट मुक्त गर्न पहिचानको आन्दोलन अपरिहार्य रहेको उल्लेख गर्दै नेवाः आदिभूमिमा नेवाः राज्य र तामाङ्ग आदिभूमिमा तामासालिङ राज्य तथा अरु आदिवासी जनजातिका लागि पहिचानसहितको स्वायत्त क्षेत्रको आवश्यकता रहेको जनाइएको छ ।
वक्तव्यमा मोर्चाले ब्राम्हणवादी सोच र चिन्तनका विरुद्ध निरन्तर संघर्ष गर्दै सबै उत्पीडित जातिका समान अधिकार र नेवाःराज्य स्थापनाका लागि निरन्तर अगाडि बढि रहने समेत जनाइएको छ ।