पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) स्याङ्जाको बैठक सम्पन्न भएको छ । पार्टी पीवीएम तथा ४ नं. प्रदेशका इन्चार्ज अटल, सेक्रेटरी किशोर लगायतका नेताहरुको विशेष उपस्थितिमा सम्पन्न भएको बैठकले प्रशान्त, राजु, विजय, वाशुदेवलाई जिल्ला कमिटिमा थप गरेको छ । बैठकले पार्टी केन्द्र र प्रदेशको बैठकले लिएका निर्णय कार्यान्वयन गर्ने, राष्ट्रिय स्वाधीनताको पक्षमा अभियान तथा आन्दोलन सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ । बैठकमा जिल्ला इन्चार्ज रवि लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
बैठककै क्रममा क्रान्तिकारी माओवादीले दशवर्षे महान जनयुद्धको क्रममा २०६२ पौष २९ गते स्याङ्जाको मनकामनामा तत्कालीन शाही सेनाको हवाई आक्रमणमा परी सहादत प्राप्त गर्नुहुने २२ जना महान सहिदहरुको संयुक्त स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम समेत सम्पन्न गरेको थियो ।
कार्यक्रमलाई प्रमुख अतिथि समेत रहेका पीवीएम अटल, सेक्रेटरी किशोर लगायतका नेताहरुले पार्टीको कार्यदिशा, कार्यक्रम तथा समसामयिक राजनीतिक परिस्थितिका बारेमा प्रष्ट पार्दै जनयुद्धका महान सहिदहरुप्रति श्रद्धाञ्जली मन्तव्य दिएका थिए ।
स्मरण रहोस् कि दशवर्षे महान जनयुद्धको क्रममा तत्कालीन शाही सेनाको हवाई आक्रमणमा परी स्याङ्जाको मनकामनामा २२ जना जनमुक्ति सेनाका योद्धाहरुले सहादत प्राप्त गरेका थिए । जसमा सुर्खेतका नवलसिंह बिस्ट, जुम्लाका टंकबहादुर बुढा, सुर्खेतका ललित कार्की, जाजरकोटका नरेन्द्र सिंह, दैलेखका नवराज न्यौपाने, जाजरकोटकी मनु सिंह, हुम्लाका भरत रावल, दैलेखका रमेश रिजाल, कालिकोटका पेरक बिस्ट, जुम्लाका पैसरा शाही, जुम्लाका लालबहादुर शाही, जाजरकोटका डेविड खत्री, कालिकोटका भरत रेणवाला, कालिकोटकै नन्दबहादुर बोगटी, हुम्लाका विष्णु महतरा, कैलालीका दानबहादुर बोहरा, जुम्लाका जयबहादुर बुढा, सुर्खेतका प्रेमराज खत्री, जुम्लाकै शिवराज बुढा, हुम्लाका दिपक बोहरा, स्याङ्जाका रेलबहादुर गुरुङ रहेका थिए ।
यसैबीच, क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनणतान्त्रिक मोर्चा, नेपाल स्याङ्जाले शुक्रबार सीमा रक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जामार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।
देजमो स्याङ्जाका संयोजक तिलक अधिकारी, केन्द्रीय सदस्य खुमती गुरुङ, जिल्ला सदस्य सन्तबहादुर गुरुङसहितको टोलीले स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरमाङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा अतिक्रमित भूमि, लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्ता लगायतका भूमी समेटेर अविलम्ब नेपालको नक्सा जारी गर्नु पर्ने, भारतले नेपाली भूमि समेटेर तयार जारी गरेकोे नक्शा खारेज गर्नु पर्ने, कालापानीमा राखिएको भारतीय सेना हटाएर नेपाली सेना राख्नु पर्ने माग गरिएको छ ।
त्यसका लागि भारतका प्रधानमन्त्रीसँग नेपालका प्रधानमन्त्रीले प्रत्यक्ष वार्ता गरी समस्या हल गर्नु पर्ने, यसलाई अन्तराष्ट्रिय करण गरेर भए पनि समस्या समाधान गर्नु पर्ने लगायतका माग राखिएको छ ।
आफ्नो मागप्रति सरकार गम्भीर नभए आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ ।