माथिल्लाे कर्णाली जिएमआरलाई दिने सम्झाैता खारेजीकाे माग

प्रकाशित मिति : २०७६ माघ १


काठमाण्डौं ।
मंगलबार राजधानीमा आायोजित ‘माथिल्लो कर्णाली जिएमआरलाई दिने सम्झौता खारेजी सम्बन्धी’  अन्तर्क्रियामा वक्ताहरुले उक्त सम्झाैता राष्ट्रघाती रहेकाेले खारेजी गर्न जाेडदार माग गरेेका छन् ।
मंगलबार राजधानीको भोजनगृहमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेकपा (क्रान्तिकारी माअाेवादी)का नेता सीपी गजुरेल लगायतका नेताहरुले यस्ताे माग गरेका हुन् ।
कार्यक्रममा नेता सीपी गजुरेलले राष्ट्रियताको बहस नेता , कार्यकर्ता हुँदै जनतासम्म पुयाउनुपर्ने र देशभक्तहरुको बृहद आन्दोलनबाट राष्ट्रघात रोक्नुपर्ने बताए ।

कार्यक्रममा जनमाेर्चाका  नेता चित्र बहादुर केसीले भारतले नेपालका जलश्रोत मात्रै कब्जा नभएर नेपाली भू–भाग पनि कब्जा गर्ने योजना बनाइरहेको भन्दै यसमा सबै नेपाली मिलेर देश बचाउनु पर्ने बताए ।

‘भारतले तीनवटा भक्तपुर जस्तो नेपाली भू–भाग नक्सामा राखेर नेपाली जनतालाई च्यालेन्ज दिइसकेको छ कि यो हाम्रो भू–भाग हो तिमीहरुले देख्न पनि पाउँदैनौं,’ अध्यक्ष केसीले भने, ‘ राष्ट्रलाई यतिधेरै संकट परेको बेलामा गाउँ तथा शहर बजारमा यतिबेला स्वस्थानीको छलफल चल्छन्, स्वस्थानी ब्रतकथामा मान्छेको जमघट छ । यहि स्थिति हो भने अहिले हामीले भारतले पानी ओगट्यो भनिरहेका छौं, कोशी, गण्डकी, कर्णाली महाकालीको कुरा गरिरहेका छौं, अब ढिलो चाँडोे नेपालको सम्पूर्ण भू–भाग नै कब्जा गर्ने योजना अनुसार उनीहरु चलिरहेका छन् ।’

सोहि कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सी पी मैनालीले सरकारले राष्ट्रिय लज्जाको स्थिति बनाएको भन्दै सबै देशभक्त मिलेर संघर्षको आधि सिर्जना गर्नुपर्ने बताएका थिए ।

पूर्वउपप्रधानमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य भिम रावलले माथिल्लो कर्णाली आयोजना ३५० मेगावाटबाट रातारात कुनै टेण्डर नगरी गैरकानुनी किसीमले ९०० मेगावाट पुर्याइको बताउँदै त्यसको परियोजना विकास सम्बन्धी प्रारम्भिक मस्यौदामा कर्णाली नदिबाट कुनै किसानले एउटा कुलो लियो भने पनि जिएमआरलाई सोध्नुपर्ने रहेको बताए ।

‘त्यतिमात्र होइन, चिसापानीमा १० हजार ८ सय मेगावाट विद्युत् निकाल्न सकिन्छ भन्ने परिकल्पना गरेका छौं त्यसलाई कहिल्यै बन्न नदिने गरी माथिल्लो कर्णालीको प्रशारण लाइन चिसापानीमाथिबाट लाने त्यसमा प्रस्ताव थियो,’ नेता रावलले भने, ‘त्यसका अरु धेरै प्रावधान थिए, १६ वटा बुँदा सच्याइए, अरु बाँकी सकिएन ।’

सोहि कार्यक्रममा माओवादी केन्द्रका संयोजक गोपाल किराँतीले भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको लिम्पयाधुरा र कालापानीलाई हडपे लगत्तै सरकारले सर्वदलीय बैठक आव्हान गरेर भूमि फिर्ता र सीमा रक्षाको पक्षमा राष्ट्रिय सहमति घोषणा गरेपनि अहिले त्यो महिनौ बित्दा पनि भारतद्धारा हड्पिएको भूमि फिर्ता गर्ने र नेपालको सीमा रक्षा गर्ने काममा सरकारले नै जनताको आन्दोलन सिथिल बनाउन खोजेकामो शंका बढ्दै गएको बताए ।

पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भटराईको सभापतित्वमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा अभियन्ता भरत शाही, जनसमाजवादी पार्टीका सदस्य डम्बर बहादुर कार्की, नेकपा मसालका बागमती प्रवक्ता समिर सिंह लगायतले कर्णालीको राष्ट्रघात रोक्नुपर्ने बताएका थिए भने  भरतबहादुर शाही, साध्य बहादुर भण्डारी , र नारायण शर्माद्वारा लिखित कार्यपत्र भरतबहादुर शाहीले वाचन गरेका थिए ।
कार्यक्रम नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (माले), नेकपा (माओवादी-केन्द्र), जनसमाजवादी पार्टी नेपाल, माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान, पुष्पलाल अध्ययन समाज काठमाडौँ, राष्ट्रिय जागरण परिषद् नेपाल, पुष्पलाल मित्रता मञ्च, समृद्ध नेपाल राष्ट्रिय अभियान,राष्ट्रिय पुनर्जागरण अभियान, राष्ट्रिय जागरण मञ्च र पृथ्वी विचार अभियानसहित १४ वटा संस्था मिलेर आयोजना गरिएको थियो ।