
काठमाडौँ, २९ पौष । लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता समेत समावेश गरी नेपालको नक्शा सार्वजनिक गर्दैै सीमा बचाऔँ अभियानले सरकारले नेपालकाे वास्तविक नक्सा जारी नगरे सशक्त आन्दाेलनमा उत्रने चेतावनी दिएकाे छ । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी नेपालको सम्पूर्ण भू-भाग समावेश गरी नक्शा सार्वजनिक गर्दै अभियानले सरकारसँग आधिकारिक नक्शा सार्वजनिक गर्न माग गरेको हाे ।
अभियानले यसलाई देशव्यापी बनाउने जानकारी दिएको छ । तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नक्शा हस्तान्तरण गरी कुटनीतिक पहलबाट समस्या समाधान गर्न अनुरोध गर्ने निर्णय समेत गरिएको जानकारी दिइयो । सार्वजनिक गरिएको नक्शालाई विश्वविद्यालय र विद्यालयका विद्यार्थीहरुका माझ वितरण गरिने अभियानले जनाएको छ ।
अभियानका संयोजक भैरव रिसालले भनेे, ‘कि त हामीले तयार पारेको नक्शा बेठिक भन्नुप¥यो कि सार्वजनिक गर्नुप¥यो,’ रिसालले भने, ‘देशको अतिक्रमित भूभाग समावेश गरी राज्यले तत्काल नक्शा सार्वजनिक गरोस् ।’ वर्तमान सरकारले आफ्नै देशको भूभाग समेटेर नक्शा सार्वजनिक गर्न अलमल गरिरहेको भन्दै आलोचना गरे । उनले प्रश्न गरे, ‘देशको नक्शा सार्वजनिक गर्न सरकारलाई केले रोक्यो ?’ सरकारले नक्शा सार्वजनिक गर्न आनाकानी गरेमा देशव्यापी अभियान चलाउने चेतावनी दिए । सरकारलाई जनस्तरबाट व्यापक दबाब सिर्जना गर्न आग्रह समेत गरे । यस विषयलाई लिएर गाँउ गाँउमा कार्यक्रम गर्ने योजना बनाएको जानकारी दिए ।
पूर्व सचिव द्धारिका डुंगेलले सरकासँग तत्काल अतिक्रमित भूभाग समावेश गरी नक्शा सार्वजनिक गर्न माग गरे । नगरिक स्तरबाट जारी गरेको नक्सा सरकारका मन्त्रीहरुसामु प्रस्तुत गरेर सार्वजनिक गर्न माग समेत गरिसकेको बताए । नापी विभाग सार्वजनिक गर्न स्वीकारे पनि भूमि सुधार मन्त्रालयले नमानेको कारण अहिलेसम्म नक्सा सार्वजनिक नभएको बताए । उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा आली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको कुराकानीले वैज्ञानिक आधारबाट सीमाको समस्या समाधान गरी निष्कर्षमा पु¥याउने भनिएकोमा त्यसबारे अझै कुनै ठोस पहल किन भइरहेको छैन ?’
परराष्ट्र मन्त्रालय तहबाट दुवै देशबीच भएको पत्राचारलाई अहिलेसम्म सरकारले प्रकाशित नगरकोमा प्रश्न गरे । सीमा बचाउने र आफ्नै नक्शा जारी गर्ने मामलामा सरकार उदासिन रहेको भन्दै आलोचना गरे । दार्चुलास्थित व्यास गाउँपालिकामा देशभित्रबाट नै पुग्ने बाटो नभएर भारतीय भूमी प्रयोग गर्नुपर्ने वाध्यात्मक अवस्था आउँदा भारतीय सेनाले अप्ठ्यारो पार्नेगरेको भन्दै तत्काल बाटो निर्माणको माग गरे । यसबारे गृहमन्त्रालयलाई आग्रह समेत गरिएको उनको भनाई थियो ।
प्रा.डा नरेन्द्र खनालले अभियानले जारी गरेको नक्सा सरकारले सार्वजनिक गर्नुपर्ने बताए । नेपाल र भारतबीचको सीमानामा रहेको सुस्ता ठूलो क्षेत्रफलको रहेको खुलाए ।