क्रान्तिकारी माओवादीले मनायो २३औं वीरता (बेथान स्मृति) दिवस

प्रकाशित मिति : २०७६ पुस २२


रामेछाप । नेकपा (क्रान्तिकारी माओवादी) रामेछाप जिल्लाको आयोजनामा २३औं वीरता (बेथान स्मृति) दिवस भब्यरुपमा सम्पन्न भएको छ । २०७६ पौष १९ गते रामेछाप जिल्ला सुनापति गाउँपालिका स्थित बेथानमा भएको स्मृति दिवस कार्यक्रममा क्रान्तिकारी माओवादीका नेताहरुले जनयुद्धको सुरुमा वेथानमा बगेको रगतलाई खेरजान नदिने बताएका छन् । क्रान्तिकारी माओवादीका पीबीएम प्रवेश लगायतका नेताहरुले यस्तो बताएका हुन् .

पार्टीका जिल्ला सदस्य जवानसिंहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका नेता प्रवेशले वेथानमा बगेको रगतलाई खेर जान नदिने र क.तीर्थ गौतम, क.फत्तेबहादुर स्माइली र क.दिलमाया बम्जनको सपना साकार गरी छाड्ने प्रतिबद्धतासहित बर्तमान सन्दर्भमा राष्ट्रिय स्वाधीनता रक्षाको प्रश्न जटील बन्दै गएको बेलामा सम्पूर्ण देशभक्त र क्रान्तिकारी जनसमुदाय मिल्नुको विकल्प नरहेको कुरा औल्याएका थिए ।

उनले भने, “देशभक्ति, शान्ति, विकास र समृद्धीको नारा फलाक्ने प्रतिक्रियावादी शासकहरु राष्ट्रिय समर्पणवादीे दीशामा गएको तथा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भुभाग समेटेर नेपालको वास्तविक नक्सा बनाउन र भारतीय विस्तारवादको हेपाहा प्रवृत्तिको विरोध र एमसिसिमार्फत् अमेरिकी प्रस्ताव मानेर सरकारले देशलाई बैधानिक औपनिवेश बनाउन खोजेको विरुद्धमा ज्ञापन पत्र बुझाउन जाने क्रान्तिकारी र देशभक्तमाथि दमन गर्ने सरकार अनैतिक र फासिवादी बन्दै गएको छ ।”

समृद्धिका नाममा करमाथि कर थोपारी जनताको ढाड सेकेको र भ्रष्टाचारमा विश्व रेकर्ड कायम गरेको छ भन्दै नेता प्रवेशले जनताको सहयोग, समर्थन र सहभागितामा जनविद्रोह र जनआन्दोलनको बलमा यसको मुखतोड जवाफ दिने चेतावानी दिए ।

पार्टी सेक्रेटरी लाङघालीले संचालन गरेको उक्त कार्यक्रममा अतिथिको हैसियतमा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला ईन्चार्ज गगनले जनयुद्ध र नेपालको कम्युनिस्ट आन्दोलनमा रामेछाप जिल्लाले निर्वाह गरेको योगदान ऐतिहासिक रहेको र आगामी जनविद्रोह र आन्दोलनमा पनि सशक्त भुमिका खेल्ने विचार व्यक्त गरे । वेथानमा बगेको रगतको एक एक हिसाव लिने प्रतिवद्धता सहित नेता गगनले कायरहरुले आत्मसमर्पण गरे पनि क्रान्तिकारीहरु रक्तबीज बनेर क्रान्तिको झण्डा उठाइरहने विश्वास व्यक्त गरे ।

अन्तमा कार्यक्रमका अध्यक्ष जुवानसिहं तामाङले कार्यक्रममा सहभागि सम्पूर्ण जनसमुदायलाई धन्यवादसहित कार्यक्रमको समापन गरेका थिए ।