काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले स्थापना कालदेखि नै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई प्रमुखताका साथ उठाउँदै आएको छ । परिस्थितिको ठोस विश्लेषण अनुसार कार्यनीतिक रुपमा कहिले जनवाद त कहिले राष्ट्रियतालाई प्रधान बनाउँदै आएको छ । पार्टीको पछिल्लो केन्द्रीय समितिको बैठकले राष्ट्रिय स्वाधीनताको मुद्दालाई मूल मुद्दाको रुपमा उठाउने निर्णय गरेको छ । र, पार्टीका सम्पूर्ण योजना तथा कार्यक्रमलाई राष्ट्रिय स्वाधीनताकै मुद्दामा केन्द्रीत गरेको छ । सोही अनुरुप नै पार्टीका प्रदेश तथा जिल्ला, क्रान्तिकारी संयुक्त मोर्चा (देजमो) र जनवर्गीय तथा जातीय मोर्चाहरुका विभिन्न तहका बैठकहरु सम्पन्न हुने क्रममा रहेका छन् ।

क्रान्तिकारी संयुक्त मोर्चा अर्थात् देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन जाने क्रममा गरेको फासिवादी दमन, लाठीचार्ज र मोर्चाका अध्यक्ष र महासचिव लगायत १५ जना नेता कार्यकर्ताको गिरफ्तारी र सोही संख्यामा घाइते हुन पुग्नुले वर्तमान ओली सरकारको वास्तविक चरित्र के हो भन्ने छर्लङ्ग पुगेको छ भने राज्यको यो दमनले सेलाउँदै र शिथिल बन्दै गएको राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पुनःजागरण पैदा गरेको छ । र, एक पटक फेरि क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा नै राष्ट्रिय स्वाधीनताको सच्चा पहरेदार हो भन्ने कुरा पुष्टि भएको छ ।

हार्दिक शुभकामना !

त्यसैगरी यहि बीचमा दमन र धरपकडको काठमाडौं उपत्यका लगायत देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरी विरोध जनाइयो भने राष्ट्रिय स्वाधीनताकै मुद्दालाई केन्द्रविन्दु बनाउँदै क्रान्तिकारी पत्रकार महासंघले नवलपरासी, नवलपुर र कञ्चनपुरमा ‘राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पत्रकारको भूमिका’ विषयक अन्तक्र्रिया सम्पन्न गरेको छ । क्रान्तिकारी माओवादीले भारतीय विस्तारवादको अर्ध तथा नवऔपनिवेशिक अवस्थाबाट नेपाललाई मुक्त गरेर मात्र वास्तविक अर्थमा राष्ट्रिय स्वाधीनताको रक्षा हुन सक्ने विचार विश्लेषण प्रस्तुत गर्दै आएको छ । त्यसका लागि लिम्पियाधुरा, लिपुलेक, कालपानी, सुस्ता लगायत भारतीय विस्तारवादद्वारा अतिक्रमित सम्पूर्ण भूमि फिर्ता गरिनुपर्ने, नेपाल–भारत बीचको सीमा शील गरिनु पर्ने, सन् पचास लगायत यस बीचमा भएका सबै असमान सन्धि सम्झौताहरुको खारेज गरी परस्पर हितमा आधारित भएर नयाँ सन्धिहरु गरिनु पर्ने, राजनीतिक, आर्थिक तथा साँस्कृतिक हस्तक्षेप तथा अतिक्रमणलाई निस्तेज पार्न मुलुकको प्राकृतिक र मानवीय स्रोत साधनको स्वतन्त्रपूर्वक मुलुकको हितमा परिचालन गरी स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकास गरिनुपर्ने धारणा सार्वजनिक गर्दै आएको छ । उल्लेखित अवस्थाबाट नेपाललाई मुक्त गर्नका निम्ति विस्तारवादी तथा साम्राज्यवादी दलाल तथा नोकरशाही पुँजीवादमा आधारित वर्तमान प्रतिक्रियावादी राज्यव्यवस्था, सत्ता र संविधानलाई फालेर नयाँ जनवादी राज्यव्यवस्था स्थापना गरिनु अपरिहार्य रहेको ठहर क्रान्तिकारी माओवादीको रहँदै आएको छ ।

राष्ट्रिय स्वाधीनताको आन्दोलनको सवालमा क्रान्तिकारी माओवादीले भारतीय विस्तारवादको मात्रै विरोध गरेको छैन, अमेरिकी साम्राज्यवादको समे विरोध गर्दै आएको छ । पछिल्लो केही समययता अमेरिकाले नेपालमा प्रत्यक्ष उपस्थिति बढाएको मात्र छैन, नेपालमा आफ्नो साम्राज्यवादी नीति लागू गराउन विभिन्न रुपमा दबाब र हस्तक्षेप समेत गर्दै आएको छ । उसले इन्डो प्यासिफिक मिलिटरी मिशन अन्तर्गतको एमसीसी (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) लाई नेपालको कानुनभन्दा माथि अमेरिकी कानुन अधिनस्त हुने गरी संसदबाट पास गराउन निरन्तर दबाब दिंदै आएको छ । अमेरिकाको यो दबाब र हस्तक्षेपको क्रान्तिकारी माओवादीले वक्तव्य निकालेर वा सभा समारोहमा बोलेर विरोध वा प्रतिरोध गरिरहेको छ । एमसीसी नेपालमा लागू गरिए यहाँ अमेरिकी सैन्य अखडाहरु खडा गरिने र नेपाल रणभूमिमा परिणत हुने चेतावानी दिंदै आएको छ । यसको ठीक उल्टो सत्तारुढ डबल नेकपाको बहुमत पक्ष भने सुवास नेम्वाङलाई सभामुख बनाएर जसरी पनि एमसीसी पास गर्ने रणनीतिमा रहेको छ । पैसाको लागि देश बेच्न पाइन्छ ? भन्दै उक्त पार्टीका भीम रावलहरु भने विरोधमा वकालत गरिरहेका छन् । क्रान्तिकारी माओवादीले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादबाट नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथि गम्भीर संकट उत्पन्न भएको भन्दै सच्चा देशभक्त र क्रान्तिकारीहरुलाई गोलबन्द गरी वृहत् राष्ट्रिय राजनीतिक आन्दोलन चर्काउने तयारीमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर