आन्तरिक र वाह्य दुवै राष्ट्रियतामा ओली सरकारको घात ः सीपी गजुरेल

नेवाः राष्ट्रिय मुक्ति मोर्चा ललितपुरको सम्मेलन सम्पन्न, जगदीश्वर महर्जनको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटि निर्माण

प्रकाशित मिति : २०७६ पुस २०


ललितपुर । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले वर्तमान ओली सरकारले आन्तरिक राष्ट्रियता र वाह्य राष्ट्रियता दुवैमा घात गरेको आरोप लगाएका छन् । भारतीय विस्तारवादले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतको भूमि आफ्नो नक्सामा गाभेर जारी गरेको महिनौ दिन वितिसक्दा पनि ठोस पहल नगरेर ओली सरकारले वाह्य राष्ट्रियतामा गम्भिर घात गरेको र उत्पीडित जातीय पहिचानको आधारमा प्रदेशहरुको नामांकरण नगरेर आन्तरिक राष्ट्रियतामा पनि घात गरेको आरोप लगाएका हुन् ।


ललितपुरको बुङमतिमा नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल ललितपुर जिल्लाको तेस्रो सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष गजुरेलले बाह्य राष्ट्रियताका साथै आन्तरिक राष्ट्रियताको मुद्दालाई पनि जोड दिएर उठाउनुपर्ने विचार व्यक्त गरे । जनयुद्धले सेट ब्याक खाएसँगै मुलुकमा प्रतिक्रान्ति हावी हुन पुगेको र जनयुद्धले उठान गरेका उत्पीडित जातीय पहिचानसहितको संघीयतालगायतका मुद्दाहरुमाथि घात भएको चर्चा गर्दै नेता गजुरेलले ती मुद्दाहरुलाई स्थापित गर्न र उत्पीडित जातिहरुले वास्तविक अधिकार प्राप्त गर्न फेरि नयाँ क्रान्ति अपरिहार्य रहेकोमा जोड दिए ।
नेपालै रहन्छ कि रहँदैन भन्ने स्थिति पैदा भएको अहिलेको स्थितिमा सम्पूर्ण उत्पीडित जाति(नेवाः समुदायलगायत), क्षेत्र, वर्ग र लिङ्गका जनसमुदाय एक भएर राष्ट्रिय (बाह्य) स्वाधीनताका निम्ति लड्नुपर्ने बेला आएको बताए ।


कार्यक्रमलाई सम्बोधन गर्दै नेवाः राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले फास्ट्रयाक, स्मार्ट सिटी लगायतका योजनाको नाममा उपत्यकाको ३ लाख रोपनीभन्दा बढी जग्गा अधिग्रहण गर्ने, स्थानीय नेवाः समुदायको धार्मिक तथा ऐतिहासिक पहिचान झल्कने सम्पदाका विनास गरेर नेवाः समुदायको अस्तित्वमाथि नै सरकारले धावा बोलिरहेको भन्दै त्यसको विरोधमा नेवाः समुदाय आन्दोलित हुनुपर्ने विचार व्यक्त गरे । नदीको नामबाट प्रदेशको नाम राखेर ३ नं. प्रदेशको नेवाः र ताम्सालीङ पहिचान मेटाउन ओली सरकार लागिपरेको भन्दै त्यसका विरुद्ध पनि उत्पीडित नेवाः समुदाय आन्दोलनमा उत्रनुपर्नेमा जोड दिए ।
सम्मेलनले जगदिश्वर महर्जनको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ । जसमा अध्यक्ष जगदिश्वर महर्जन, उपाध्यक्ष मुकेश श्रेष्ठ, सचिव नरेन्द्रमान श्रेष्ठ, सहसचिव सविनराज बज्राचार्य, कोषध्यक्ष भाजुरत्न शाक्य र सदस्यहरुमा राजकुमार देउला, प्रेमबहादुर डंगोल, नगेन्द्र महर्जन, गौतम श्रेष्ठ, निरन तुलाधर, सम्पुर्ण शाक्य, सुर्जमुनि शाक्य, सुनिल माली, नानवेटी महर्जन,गोविन्द लाखे, राम महर्जन, दशराज शाक्य लगायत रहेका छन् ।
कार्यक्रममा पार्टी केस तथा ललितपुर इन्चार्ज क्षितिज, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, सेक्रेटरी दिपक लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।