
काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङघको केन्द्रीय समितिको बैठक (पौष १८-१९, २०७६)ले वसन्त बाेगटीलाई महासङघको महासचिवमा चयन गरेकाे छ । महासङघका अध्यक्ष ईश्वर तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा(क्रान्तिकारी माओवादी) का महासचिव कमरेड किरण, पीवीएम सागर लगायतका नेताहरुकाे विशेष उपस्थिति रहेकाे थियाे ।
बैठकमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न मुख्यतः मजदुर वर्गको विशेष भुमिका रहने र मजदुर वर्ग नै क्रान्तिको आधारभूत शक्ति रहेको चर्चा गर्दै पार्टी महासचिव किरणले प्रशिक्षणमुलक मन्तव्य राख्नु भएको वसन्त बाेगटीले जानकारी दिए ।
बैठकमा पोलिटव्युरो सदस्य सागरले संगठन र आगामी संघर्षमा केन्द्रित रहेर मन्तव्य राख्नु राखेका थिए ।
बैठकले संगठन र संघर्षको क्षेत्रमा पनि नयाँ निर्णयहरु लिएको बताइएकाे छ । वैशाखमा सम्पन्न महासङघको राष्ट्रिय भेला पश्चात बनेकाे कार्य समिति विस्तार गरी वसन्त बोगटीलाई महासङघको केन्द्रीय महासचिवमा चयन गरियाे । बैठकले पौषदेखि मजदुर दिवससम्म २ चरणका अभियान सञ्चालन गर्ने निर्णय गरेको छ, जस अन्तरगत संगठन सुदृढीकरण र विस्तार गर्ने, राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई सशक्त रूपमा अघि बढाउने, विभिन्न पेशागत घटकभित्र मजदुर वर्गका समस्याको गहिरो अध्ययन सहित संघर्ष शुरु गर्ने, केन्द्रिय स्तरमा अन्तरक्रिया सञ्चालन गर्ने, केन्द्रिय स्कुलिङ्ग सञ्चालन गर्ने, मजदुर जागरण अभियान शुरु गर्ने लगायतका कार्यक्रमहरु रहेका छन् ।
२ दिन सम्म चलेको बैठकले महासंघका अध्यक्ष कमरेड ईश्वर तिमिल्सिनाले प्रस्तुत गरेको संक्षिप्त प्रतिवेदन आवश्यक सुझाव सहित सर्वसम्मत पास गरेको थियाे ।































