आदिवासी जनजाति आन्दोलन र कम्युनिस्ट पार्टी

आदिवासी जनजाति आन्दोलन र कम्युनिस्ट पार्टी

अक्सर आदिवासी भन्दा जनजाति पनि झुन्डेर आउने जनजाति भन्दा आदिवासी पनि संगै आउने गरेको देखिन्छ । तर आदिवासी र जनजाति फरकफरक हुन । आदिवासी शव्दले भूगोल संग सम्बन्ध राख्दछ । जनजाति शव्दले समाज बिकासको चरण संग सम्बन्ध राख्दछ । सरल शब्दमा भन्नुपर्दा कुनै निश्चित भूगोलमा आदिकाल देखि बस्दैआएको व्यक्ति ,समुदायलाई आदिवासी भनिन्छ । त्यस्तै हिन्दु वर्णाश्रम व्यवस्था भन्दा बाहिर रहेको ,बसाईको निम्ति आ(आफ्ना निश्चित भूगोल रहेको ,आ(आफ्नै बेग्लाबेग्लै भाषा,संस्कार र संस्कृति भएको , मातृसतात्मक सत्ताको छाप रहेको ,कविलाई समाजदेखि माथि उठेको तर आफुलाई रास्ट्रको रुपमा बिकास गर्न नसकेको साथै राज्यको मुलधारमा नसमेतियको मानव समुदायलाई जनजाति भनिन्छ । यद्धपि स् नेपालको सन्दर्भमा नेपालका जनजातिहरु नै नेपालका आदिवासी हुन नेपालका आदिवासी भनेकै नेपालका जनजाति समुदाय हुन । तर सबै ठाउका आदिवासीहरु जनजाति हुदैनन् र सबै जनजातिहरु सम्बन्धित ठाउको आदिवासी हुनसक्दैनन् ।

सुनिन्छ , प्राय नेल्शन मन्डेला भन्नुहुन्थ्यो स् दक्षिण अफ्रिकामा कालाहरू आ(आफ्नै भूभागमा ,आ(आफ्नै धर्म,भाषा संस्कार र सस्कृतिमा रमेका थिए । उनीहरु स्वतन्त्र थिए,सम्पन थिए र खुशी थिए ,शुखी थिए । कालान्तरमा इंगल्याण्ड वाट केहि गोराहरु हातमा बाईबल लिएर आय र कालाहरुलाई भने स् हात थाप र आँखा चिम्ल । गोराहरूले भनेजस्तै कालाहरुले हात थापेर आँखा चिम्ले । जव कालाहरुले आँखा खोलि हेरे आफ्ना हातमा बाईवल भेटे ,गोराहरुको हातमा दक्षिण अफ्रिका । ठिक त्यसरी नै ,नेपालका आदिवासी जनजातिहरु आ(आफ्नै भूभागमा, आ–आफ्नै भाषा, धर्म, संस्कार र संस्कृतिमा मख्ख थिए । बाह्रौ सताब्दीको अन्त्यतिर हिन्दु–मुसलमान युद्धको त्रासले भागेका हिन्दु आर्यहरु जव दक्षिण तिर बाट हातमा हिन्दु ग्रन्थ लिएर नेपाल प्रवेश गरे त्यतिवेला देखिनै नेपालका आदिवासी जनजातिहरुलाई असहज ,अप्ठ्यारो र उकुसमुकुसको अनुभूति भयो । टाठा, बाठा स्वभावका आगन्तुक हिन्दु आर्यहरुले याहाँका आदिवासी जनजातिलाई भने हात थाप, आँखा चिम्ल । भोला, भाला, सोझा, सिधा आदिवासी जनजातिहरुले आगन्तुक हिन्दु आर्यहरुको आगाडि आँखा चिम्लेर हात थापे । जव उनीहरुले आँखा खोलि हेरे आफ्ना हातमा मनुस्मृति,गीता आदि ईत्यादि हिन्दु ग्रन्थहरु भेटे आगन्तुक हिन्दु आर्यहरुको हातमा नेपाल देखे ।’ राज्यसत्ता भन्दा तलका कुराहरु सबै भ्रम हुन्’ भन्ने माओका शिक्षालाई माओ जन्मनु भन्दा अघि नै बुझेका आगन्तुक हिन्दु आर्य हरुले सोझा स्वभावका आदिवासी जनजातिहरुको हातमा हिन्दु ग्रन्थ राखिदिएर उनीहरुलाई लट्ठ पारेर षड्यन्त्रपूर्ण ढंगले नेपालको राज्यसत्ता आफ्नो हातमा लिए ।

तत्पश्चात नेपाललाई ‘चार जात छत्तिस बर्ण को फुलवारी ‘ त भनियो तर याहा सबै फूलहरुले स(सम्मान फुल्ने र फक्रिने मौका पाएनन । केहि फूलहरु ढकमक्क फुलेर बारीमा मात्र होईन वारिपारि डाडाकाडा बिस्तार भए । बाँकी फूलहरु ओईलिएर ,सडेर अझ उखेलिएर नामोनिशाना मेटिए । हिन्दु धर्मलाई रास्ट्रिय धर्म र नेपाललाई हिन्दु अधिराज्य घोषणा गरियो । आदिवासी जनजातिका आ(आफ्नै मातृ धर्म का साथै अन्य धर्म र तिनका अनुयायीहरुलाई दुस्मनको ब्यबहार गरियो तत्कालिन नगन्य संख्याका नेपालीको बीच तेत्तिस करोड हिन्दु देवीदेवताका मठ मन्दिर निर्माण गर्ने र तिनमा अनिवार्य पुजापाठ गर्न उर्दी जारि गरियो । स्कुल,कलेज, दोबाता,चौबाटा,सडकपेटी,आर्मी ब्यारेक ,पुलिस चौकी ,घर,जंगल,कतै बाकि राखिएन जता ततै हिन्दु मठ मन्दिर स्थापना गरिए । नेपाली आदिवासी जनजातिका मौलिक परम्परा ,संस्कार ,संस्कृतिलाई जवर्जस्ती कुल्चेर हिन्दु संस्कार ,संस्कृतिलाई स्थापित गरियो । हिन्दु संस्कृति अनुसारको चाड दशैँ मान्न बाध्य पारियो । पन्ध्र दिन सम्म दशैको उत्सव गरेर नेपाललाई हिन्दुमय बनाउन प्रयास गरियो । दशैँ मान्न नचाहने आदिवासी जनजातिहरुलाई मृत्यु दण्ड सम्म दीईयो । ’ एउतै भाषा एउतै भेष ’ को नारा दिएर आदिवासी जनजातिहरुको आ(आफ्ना भाषा प्रयोग गर्न पाउने अधिकारमाथि बन्चरो प्रहार गरियो । र खस भाषालाई रास्ट्रिय भाषाको मान्यता दिएर सरकारी कामकाजी भाषा बनाईयो । आदिवासी जनजातिका सबै भाषालाई रद्दीको टोकरीमा मिल्काईयो । खस भाषालाई अस्विकार गर्नेहरुका निम्ति कडा कानुन बनाईयो ।

आगन्तुक हिन्दु आर्यहरुले जात अनुसारको सामाजिक मर्यादा र पेशा निर्धारण गरे । तोकिएको मर्यादा र पेशा बिपरित गरेमा डरलाग्दो दण्डको घोषणा पनि गरे । उनीहरुले ब्राहमण सबभन्दा ठुलो जात , त्यसपछि क्षेत्रि र आदिवासी जनजाति अनि दलित को मर्यादा कायम गरे । एउतै देशका उही मान्छेलाई पहिलो ,दोस्रो ,तेस्रो र चौथो दर्जाका मान्छेमा परिणत गरियो । दोस्रो,तेस्रो र चौथो दर्जाका मान्छेहरुले छोएको चिज पहिलो दर्जाका मान्छेले खान नहुने ,चौथो दर्जाको मान्छेले छोएको दोस्रो र तेस्रो दर्जाको मान्छेले पनि खान नहुने कडा ब्यबस्था गरियो । त्यसलाई पालना गर्न गराउनका निम्ति विभिन्न एन,कानुन हरु निर्माण गरियो । उनीहरुले ब्राह्मणको काम शासन सत्ता चलाउने ,क्षेत्रिकोकाम राज्यसत्ताको सुरक्षा गर्ने र अन्य अर्थात आदिवासी जनजाति र दलितको काम बस्तुभाउ पाल्ने , भारि बोक्ने, निर्माणका काम गर्ने र ब्यापार व्यवसायको काम गर्ने तोकियो ।

‘बन कुखुराले घर कुखुरा खेदे झैँ’ नेपालको शासन सत्ता आफ्नो हातमा लिएर मालिक बनेका आगन्तुक हिन्दु आर्यहरुले भाषिक, धार्मिक,सांस्कृतिक ,सामाजिक, राजनैतिक क्षेत्रमा जस्तै आर्थिक क्षेत्रमा पनि याहाका आदिवासी जनजातिहरुलाई खेद्ने काम गरे । उजाड भूमिलाई दुख्ख कस्ट गरि समथर , उब्जाउ खेतीयोग्य र बस्ति योग्य जमिन निर्माण गरि राहतको सास फेर्दै उज्यालो भबिस्यको सपना बोकेर आज सुतेको एउटा आदिवासी जनजाति भोलिको झिसमिसे मै जंगल तिर खेदिन बाध्य हुन्छ । जंगलमा पुगेर भाग्यको खेल भन्दै पुर्पुरोमा हात राखेर फेरि मेहनत गरि ,पसिना बगाई कहालीलाग्दो जंगललाई जब खेति योग्य र बस्ति योग्य बनाउछ पुनस् उ त्यहा बाट पनि खेदिन्छ र खोलाको किनारमा पुग्छ । आगन्तुक हिन्दु आर्यहरुको बर्बर शाशन सत्तामा पिल्सियका नेपाली आदिवासी जनजातिहरुको वास्तविक जीवन कहानी हो यो ।

बार्हौ शताव्दी देखि हाल सम्म ब्यबस्थामा सामान्य परिवर्तन भए । शासन सत्तामा केहि हेरफेर भए । कागजी एन,कानुनमा अंशत परिवर्तन भए । घुम्ने कुर्सीमा बस्ने मान्छेहरुको अनुहार फेरिए । तर आगन्तुक हिन्दु आर्यहरुले उति बेला बनायका जातीय नजिरहरु ब्यबहारत कुनैपनि फेरियनन । न पेशामा फेरिए , न सामाजिक मर्यादामा फेरिए ,न भाषा,धर्म र सस्कार सस्कृतिमा फेरिय । न राजनैतिक, आर्थिक क्षेत्रमा नै फेरिए सबै यथावत छन ।बाह्रौ सताव्दीको अन्त्यमा तत्कालिन आगन्तुक हिन्दु आर्यहरुले बनाएको जातीय नजिर नेपालमा आज एक्काईसौ सताव्दी सम्म किन कसरी कायम रह्यो ? वास्तवमा खारेज हुनुपर्ने यी काला नजिरहरु ब्यबहारमा सामान्य परिवर्तन सम्म पनि किन भएनन् ? यी महत्वपूर्ण प्रश्न हुन । यी प्रश्नहरुको सहि जवाफ नै नेपालका आदिवासी जनजाति समस्या समाधानका प्रस्थान बिन्दु हुन । त्यसकारण यी प्रश्न हरुका बारेमा छलफल र बहस चलाउनु आजका आदिवासी जनजाति आन्दोलनकर्मी हरुको कर्तब्य हो ।

वास्तवमा राज्यसत्ता नै सबथोक हो । राज्य सत्तामा जुन बर्ग छ त्यो बर्गले राज्यका सबै चिजहरु आफ्नो अनुकुल बनाउनु स्वभाविक हो । अब हामीले बुझ्नु पयो बाह्रौ शताव्दी देखिहाल सम्म नेपालको राज्य सत्ताको बर्गीय धरातल एउतै रह्यो । त्यो धरातल भनेको बुर्जुवा प्रतिक्रियावादी धरातल नै हो । नेपालका आदिवासी जनजातिहरु माथि बर्तमानमा भैरहेको सबै खाले शोषण,दमन,अन्याय,अत्याचार र विभेदको कारक भनेको बाह्रौ शताव्दी देखिको प्रतिक्रियावादी राज्यसत्ताको निरन्तरता हो । बाह्रौ शताब्दी देखि हाल सम्म बुर्जुवा प्रतिक्रियावादी धरातलकामा टिकेको राज्यसत्ता अन्तर्गत विभिन्न ब्यबस्थाहरु परिवर्तन भए । विभिन्न सरकारहरु परिवर्तन भए । सरकारको नेतृत्व गर्ने विभिन्न व्यक्तिहरु परिवर्तन भए । तर मुलरुपमा बुर्जुवा प्रतिक्रियावादी राज्यसत्ता परिवर्तन भएन । त्यो राज्यसत्ता धोस्त भएन ।
विभिन्न जातरजाति र धर्म ,बर्गका जनताले परिवर्तनको अनुभूति गर्नको निम्ति बुर्जुवा प्रतिक्रियावादी राज्यसत्ता अन्तर्गतको ब्यबस्था,सरकार र व्यक्ति परिवर्तन होईन स्वयं प्रतिक्रियावादी राज्यसत्ता नै परिवर्तन भएर त्यसको ठाउमा सर्वहारा बर्गीय क्रान्तिकारी राज्यसत्ता स्थापना भएको हुनुपर्ने थियो , त्यो भएन । त्यसको कारण त्यो राज्य सत्ता द्वारा हुने सबैखाले कूकर्महरु जीवित रहे । त्यसखालको प्रतिक्रियावादी राज्यसत्तालाई धोस्त नपारिकन आदिवासी जनजातिहरु माथिको सबैखाले विभेद ,अन्याय,अत्याचारको अन्त्य हुनेवाला छैन । बुर्जुवा प्रतिक्रियावादी स्वार्थका निम्ति बनेका बिधि,बिधान ,एन,कानुन र तिनका नजिरहरु त्यो बर्ग सत्तामा रहुन्जेल खारेज नहुनु अस्वभाविक होईन । बुर्जुवा प्रतिक्रियावादी बर्ग घमण्डी,ब्यईमान र पाखण्डी हुन्छ । त्यो बर्गको पेशा भनेकै शोषण,दमन ,अन्याय र अत्याचारमा रमाउनु हो । त्यसको बिपरित सर्वहारावर्ग सरल र ईमान्दार हुन्छ । सबै खाले अन्याय,अत्याचार र विभेदहरुको अन्त्यको निम्ति संघर्ष गर्नु सर्वहारा क्रान्तिको पेशा हो ।

बुर्जुवा ब्यबस्था भित्रका सबै समस्याहरुको एकमुष्ठ समाधान हो सर्वहारा क्रान्ति । सर्वहारावर्गको अग्रदस्ता हो कम्युनिस्ट पार्टी । त्यसकारण सर्वहारा क्रान्तिको नेतृत्व कम्युनिस्ट पार्टीले गर्दछ । (यद्दपि स् नेपालमा विभिन्न कालखण्डमा कम्युनिस्ट नामका तत्वहरु प्रतिक्रियावादी सत्तामा जाने र जनता माथि शासन गर्ने गरेको पाईन्छ । वास्तवमा ति कम्युनिस्ट होईनन कम्युनिस्टका बद्नाम गर्ने कलंकहरु हुन ) सबै प्रकारका अन्तरविरोध संगै जातीय अन्तरविरोधको हल गर्नेकाम पनि सर्वहारा क्रान्तिले गर्दछ ।

जातीय अन्तरविरोधको हल बिशुद्ध जातीय आन्दोलनले गर्न सक्दैन । बिशुद्ध जातीय आन्दोलन अन्तत साम्प्रदाईक दलदलमा फस्दछ । साम्प्रदाईकता जातीय अन्तरविरोधको समाधान होईन झन् ठुलो समस्या हो । जातिय अन्तरविरोधको हल रास्ट्रिय, अन्तरास्ट्रिय हण्डीमा चल्ने सरकारी,गैर सरकारी आदिवासी जनजाति संघ संस्था वाट पनि सम्भव छैन । उनीहरु जतिसुकै आदिवासी जनजाति हक अधिकारका निम्ति भनेर उफ्रिय पनि उनीहरु वाट कुनैपनि दिन आन्दोलनमा घात हुनसक्छ । किनकी उनीहरु आदिवासी जनजाति हक अधिकार प्रति होईन आफ्नो दाना(पानि प्रति बढी सचेत देखिन्छन । उनीहरुको लगाम आ(आफ्ना अन्नदाताहरुको हातमा हुन्छ । अन्नदाताहरुको स्वार्थमा थोरै धक्का लाग्ने बित्तिकै उनीहरुको लगाम खिचिन्छ ।

समस्या निश्चित जातिमा होईन ,व्यक्तिमा होईन चिन्तन र दृस्टीकोणमा हुन्छ । लेनिन रुसी जातिको हुनुहुन्थ्यो । रुसी जाति तत्कालिन सोभियत संघको उत्पीडक जाति हो । तर उहाले तत्कालिन सोभियत संघमा उत्पीडित जातिलाई आत्मानिर्णयको अधिकार दिनुभयो । त्यस्तै माओ हान जतिको हुनुहुन्थ्यो । हान जाति चीनको उत्पीडक जाति हो । माओले हान उच्च जातीय अहंकारवाद को सधै बिरोध गर्नुभयो । र वहाले चीनमा उत्पीडित जातिलाई स्थानीय स्वशासन दिनुभयो । नेपाल र संसारको सम्बन्धमा पनि यहि कुरा सत्य हो । नेपालका सबै ब्राह्मणहरु ब्राह्मणवादी होईनन र सबै आदिवासी जनजातिहरु आदिवासी जनजाति आन्दोलन प्रति ईमान्दार छैनन् ।

कतिपय ठाउमा सुनिन्छ जातीय आन्दोलन र कम्युनिस्ट पार्टी प्रतिधुर्वीय चिज हुन यी दुई संगै रहन सक्दैनन् । उनीहरु भन्छन कम्युनिस्ट पार्टी जातीय आन्दोलनको निम्ति होईन त्यो त बर्गीय आन्दोलनको निम्ति मात्र हो, यो गलत बुझाई हो । हो, कम्युनिस्ट पार्टी बर्गीय आन्दोलनको निम्ति हो त्यो सत्य हो । तर कम्युनिस्ट पार्टी बर्गीय आन्दोलनको निम्ति मात्र चाही होईन । सबैखाले शोषण,दमन,अन्याय , अत्याचार र विभेदका बिरुद्ध हो कम्युनिस्ट पार्टी । कम्युनिस्ट पार्टीले आवस्यकतामा लिंगीय मुक्ति आन्दोलन लड्न सक्दछ , जातीय मुक्ति आन्दोलन लड्न सक्दछ ,क्षेत्रिय मुक्ति आन्दोलन लड्न सक्दछ र रास्ट्रिय मुक्ति आन्दोलन लड्न सक्दछ । किनकी यी सबै लिंगीय,जातीय,क्षेत्रिय र रास्ट्रिय मुक्ति आन्दोलनहरु न्याय,स्वतन्त्रता र समानताका निम्ति गरियका आन्दोलन हुन र यी आन्दोलनहरु बर्गीय मुक्ति आन्दोलनकै अभिन्न अंगहरु हुन ।