सरकारबाट बाहिरियाे समाजवादी पार्टी

सरकारबाट बाहिरियाे समाजवादी पार्टी

काठमाडौँ । अन्ततः समाजवादी पार्टी सरकारबाट बाहिरिएकाे छ । समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका छन् । यादवले राजीनामा दिएलगत्तै पार्टीका अर्का मन्त्री मोहम्मद इश्तियाक राईले पनि राजीनामा दिएका छन् । 

यादवले तत्कालीन संघीय समाजवादीसँग गरेको सहमतिबाट सत्तारुढ नेकपा पछि हटेको भन्दै राजीनामा दिएकाेे जनाएका छन् । उनको पार्टीले आजै यादव र सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राइले राजीनामा दिने निर्णय गरेको थियो।

संविधान संशोधनका लागि आफूले पुस ७ को मन्त्रिपरिषद बैठकमा लगेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेकाले आफ्नो पार्टीसँग नेकपाले गरेको दुई बुँदे सहमति तोडिएको भन्दै उनले राजीनामा दिएको दावी गरेका छन् ।
 

यादवले सोमबारको मन्त्रिपरिषद बैठकमा संविधान संशोधनका लागि विज्ञ समिति बनाउने प्रस्ताव गरेका थिए। तर, प्रधानमन्त्री ओलीले यसलाई ठाडै अस्वीकार गरेका थिए। प्रधानमन्त्रीले तत्काल संविधान संशोधन नगर्ने बताएपछि मंगलबार बसेको पार्टी पदाधिकारी बैठककाे निर्णय अनुसार सरकारबाट बाहिरिएकाेे हाे।