क्रान्तिकारी माओवादी केन्द्रीय समिति बैठककाे निर्णय : भारतीय विस्तारवादी हस्तक्षेपका विरूद्ध चरणबद्ध संघर्ष सञ्चालन गर्ने

देजमो तथा सबै जनवर्गीय मोर्चाहरुको संयुक्त पहलमा “कालापानी जाऔं” अभियान चलाउने

प्रकाशित मिति : २०७६ मंसिर ३०

काठमाडौं  । २०७६ मङ्सिर २६ देखि २९ गतेसम्म नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको पूर्ण बैठक सम्पन्न भएकाे छ । बैठकले भारतीय विस्तारवादका विरुद्ध चरणबद्ध संघर्ष सञ्चालन गर्ने निर्णय गरेकाे छ ।

बैठकले पहिलो चरणमा पौष महिनामा पार्टी, जवस मोर्चाका बैठक बस्ने, विभिन्न पक्षसित अन्तक्र्रिया गर्ने तथा कार्यगत एकताका लागि छलफल चलाउने र आफ्नै पहलमा देशका विभिन्न शहरहरुमा विरोधप्रदर्शन कार्यक्रम सञ्चालन गर्ने, दोस्रो चरणमा माघदेखि देशव्यापी रुपमा पार्टी, संयुक्त मोर्चा, जबस मोर्चा सहितलाई समावेश गरी विभिन्न संयुक्त अभियानहरु सञ्चालन गर्ने र तेस्रो चरणमा देजमो तथा सबै जनवर्गीय मोर्चाहरुको संयुक्त पहलमा “कालापानी जाऔं” अभियान चलाउने लगायतका कार्यक्रम गर्ने निर्णय गरेकाे छ ।

बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न पार्टी महासचिव माेहन वैद्य किरणले जारी गरेकाे विज्ञप्तिमा वर्तमान कम्युनिस्ट नामधारी सरकार राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या समाधान गर्न असफल बन्न गएको र भारतीय विस्तारवादद्वारा बनाइएको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नेपाली भू–भागलाई भारतमा गाभिएको गंभीर स्थितिमा मुख्यतः राष्ट्रिय स्वाधीनता र पहिचान सहितको सङ्घीयता लगायत उत्पीडित वर्ग र समुदायका जनतन्त्र तथा जनजीविकाका समस्यालाई लिएर सङघर्ष अगाडि बढाउने, आफ्नै पहलकदमीमा सङ्घर्ष सञ्चालन गर्ने र मिल्न सकिने पक्षसित कार्यगत एकता वा संयुक्त मोर्चा गर्ने निर्णय लिइएको उल्लेख गरिएकाे छ ।

यस्ताे छ विज्ञप्तिकाे पूर्णपाठ :

    ” २०७६ मङ्सिर २६ देखि २९ गतेसम्म नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको पूर्ण बैठक महासचिव कमरेड किरणको अध्यक्षतामा सम्पन्न भयाे । बैठकले भयो । बैठकमा लिइएका महत्वपूर्ण निर्णयहरुबारे प्रेस विज्ञप्ति मार्फत निम्नानुसार सार्वजनिक रुपमा जानकारी गराइएको छ ः

१. बैठकको प्रारम्भमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका विभिन्न जनआन्दोलन, क्रान्ति र दश वर्षको जनयुद्धमा सहादत प्राप्त गरेका सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
२. बैठकमा पोलिट ब्युरो सदस्य कमरेड श्रीनाथ अधिकारीको गत असार र केन्द्रीय सल्लाहकार कमरेड राममणि अधिकारीको गत भाद्र महिनामा दुःखद निधन भएकोमा उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकप्रस्ताव पारित गरिएको छ । यसैगरी एक नं प्रदेश समितिका सदस्य क. रमेश अधिकारीको दुर्घटनामा परी असामयिक तथा दुःखद निधन भएकोमा १ मिनेट मौन धारण गरी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
३. महासचिव कमरेड किरणद्वारा वर्तमान राजनीतिक परिस्थिति, पार्टी कामको समीक्षा र आगामी कामको रुपरेखाबारे उल्लेख गरिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गरियो । व्यापक छलफल गरी आवश्यक संशोधन तथा परिमार्जन सहित सो प्रतिवेदन सर्बसम्मत रुपमा पारित भयो ।
४. सो प्रतिवेदनमा गत समयमा सङ्गठन र सङ्घर्षका क्षेत्रमा भएका कामको आवश्यक समीक्षा सहित कतिपय सीमा, समस्या र कमी कमजोरी रहे पनि पार्टी काममा प्रगति हुँदै गएको कुरा दर्शाइएको छ ।
५. वर्तमान कम्युनिस्ट नामधारी सरकार राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या समाधान गर्न असफल बन्न गएको र भारतीय विस्तारवादद्वारा बनाइएको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नेपाली भू–भागलाई भारतमा गाभिएको गंभीर स्थितिमा मुख्यतः राष्ट्रिय स्वाधीनता र पहिचान सहितको सङ्घीयता लगायत उत्पीडित वर्ग र समुदायका जनतन्त्र तथा जनजीविकाका समस्यालाई लिएर सङघर्ष अगाडि बढाउने, आफ्नै पहलकदमीमा सङ्घर्ष सञ्चालन गर्ने र मिल्न सकिने पक्षसित कार्यगत एकता वा संयुक्त मोर्चा गर्ने निर्णय लिइएको छ ।
६. सङ्घर्षलाई चरणबद्ध रुपमा अगाडि बढाउने ठेगान भएको छ । तदनुसार पहिलो चरणमा पौष महिनामा पार्टी, जवस मोर्चाका बैठक बस्ने, विभिन्न पक्षसित अन्तक्र्रिया गर्ने तथा कार्यगत एकताका लागि छलफल चलाउने र आफ्नै पहलमा देशका विभिन्न शहरहरुमा विरोधप्रदर्शन कार्यक्रम सञ्चालन गर्ने । दोस्रो चरणमा माघदेखि देशव्यापी रुपमा पार्टी, संयुक्त मोर्चा, जवस मोर्चा सहितलाई समावेश गरी विभिन्न संयुक्त अभियानहरु सञ्चालन गर्ने र तेस्रो चरणमा देजमो तथा सबै जनवर्गीय मोर्चाहरुको संयुक्त पहलमा “कालापानी जाऔं” अभियान चलाउने । आवश्यकता अनुसार सङ्घर्षका कार्यक्रमलाई परिमार्जित तथा समृद्ध तुल्याउँदै जान सकिने छ ।
७. सामान्यतः विकसित पुँजीवादी देशहरु र मुख्यतः संयुक्त राज्य अमेरिकाबाट हुने अनियन्त्रित हरित ग्यास उत्सर्जनका कारण विश्वभर पैदा भएको वातावरणीय असन्तुलन र त्यसले निम्त्याउने खतराबारे जनतालाई सचेत गराउने र त्यसका विरुद्ध आवाज उठाउने निर्णय गरिएको छ ।
८. बैठकको अन्तमा महासचिव कमरेड किरणद्वारा बैठक सफलतापूर्वक सम्पन्न भएकोमा सम्बन्धित सबै कमरेडहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै तथा सबै कमरेडहरुसित लिइएका निर्णयहरुको दृढतापूर्वक कार्यान्वयन गर्न विशेष जोड दिंदै बैठकको समापन गरियो ।
मिति : मङ्सिर २९, २०७६

किरण
महासचिव
ने.क.पा. (क्रान्तिकारी माओवादी)”