क्रान्तिकारी माओवादीका प्रदेश सदस्य रमेश अधिकारीको दुर्घटनामा परी निधन

प्रकाशित मिति : २०७६ मंसिर २९

खोटाङ । नेकपा (क्रान्तिकारी माओवादी)का प्रदेश १ का सदस्य तथा खोटाङ जिल्ला सेक्रेटरी समेत रहेका रमेश अधिकारीको बलेरो जीप दुर्घटनामा परी निधन भएको छ । जिल्लाको रावाबेंशी गाउँपालिका ४ डुम्रेधारापानीमा शनिबार दिउँसो ना १ ज ३७४७ नम्बरको बलेरो जीप दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी अधिकारीको घटनास्थलमै निधन हुन पुगेको थियो ।
घाइते भएका चालक रामबहादुर कुँवरको पनि उपचारको क्रममा निधन भएको छ । सल्यानको शारदा नगरपालिका ४ शारदाका चालक कुंवरको टाउकोमा गहिरो चोट लागेको थियो । दुर्घटनाग्रस्त जीप अधिकारीको आफ्नै भएको बताइएको छ । डुम्रेधारापानीबाट कटहरे बेंशीतर्फ धान लिन जाने क्रममा जिप सडकबाट १ किलोमिटर तल खस्दा डुम्रेधारापानी रमितेका ४० वर्षीय अधिकारीको घटनास्थलमै निधन भएको प्रहरी जनाएको छ ।
यसैबीच, क्रान्तिकारी माओवादी १ नं. प्रदेश र जिल्लाले वक्तव्य जारी गरी दुर्घटनामा नेता रमेश अधिकारीको निधनको खबरले पार्टी स्तब्ध र मर्माहत बनेको र पार्टीलाई गम्भीर क्षति पुगेको भन्दै दिवंगत अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ र शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।