अतिक्रमित भूमि फिर्ताकाे माग गर्दै देजमाे नवलपुरले बुझायाे ज्ञापन पत्र

प्रकाशित मिति : २०७६ मंसिर २६

कावासोती । देशभक्त जनगणतान्त्रिक मोर्चा जिल्ला समिति नवलपुरले आज कावासोतीमा रहेको जिल्ला प्रशासन कार्यालय ज्ञापन पत्र बुझाएको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरका केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष पिताम्बर तिवारी, नेकपा क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापा, महिला संघका केन्द्रिय अध्यक्ष गीता पाण्डे लगायतको नेतृत्वमा गएको टोलीले सिमा रक्षाको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै भारतीय पक्षले सिमा अतिक्रमण गरेको भूमि भारतसँग कुटनितिक पहल गरी फिर्ता गर्न माग गरेको हो ।
ज्ञापन पत्रमा कुटनितिक रुपमा पहल गरी अतिक्रमित भूमि फिर्ता लिन सरकारले ध्यान नदिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

ज्ञापन पत्रमा नेकपा क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले भारतीय सिमा अतिक्रमणको विषय र राष्ट्रियताको विषयमा पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएको भए पनि सरकारले चाँसो नदिएको आरोप लगाइएको छ ।