तेस्रो जनआन्दोलनको सुनामी सृष्टि गर्न आवश्यक

प्रकाशित मिति : २०७६ मंसिर २५

- हस्तबहादुर केसी

मुलुकलााई तेस्रो जनआन्दोलनको आवश्यकता परिसकेको छ । किनकि मुलुकको अवस्था गंभीर प्रकारको जटिलताबाट गुज्रिन बाध्य भइरहेको छ । भारत सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो राजनीतिक नक्सामा राखेर सार्वजनिक गरिसकेपछि मुलुकमा राष्ट्रिय स्वाधीनताको प्रश्न जटिल बन्न पुगेको छ । भारतले नेपालको सिमाना अतिक्रमण गरेको घटना भने नयाँ होइन । नेपाल–भारतबिच सम्पन्न असमान तथा अपमानजनक सन् १९५० सन्धिदेखि यता आएर भारतले नेपालको सुस्ता, महेशपुर, पशुपतिनगर, मानेभञ्ज्याङ, कालापानी लगायत करिब ७२÷७३ स्थानमा गरेर करिब ६० हजार हेक्टर नेपाली जमिन अतिक्रमण गरिसकेको छ ।

भारतीय विस्तारबादी शासकहरुले नेपाल लगायत अन्य छिमेकी मुलुकहरुमाथि थिचोमिचो गर्दै आएको छ । सीमा मिच्ने, अन्य थिचोमिचो गर्दै आएको छ ।
भारतीय शासक वर्गले नेपालमाथि गर्दै आएको थिचोमिचो र अवहेलानाका विरुद्ध नेपाली जनताले ठूला ठूला आन्दोलन र संघर्ष गर्दै आएका छन् ।

राष्ट्रिय स्वाधीनताको रक्षाका लागि नेपालका कम्युनिस्ट पार्टीहरुले ठूला ठूला संघर्ष चलाउदै आएका छन् । नेपालका कम्युनिस्टहरूको लक्ष्य जनवाद हँुदै वैज्ञानिक समाजवादको बाटो हुदै साम्यवादसम्म पुग्नु पर्ने भएकाले नेपालका कम्युनिस्टहरू अन्तर्राष्ट्रियतावादी हुँदाहँुदै पनि नेपाली क्रान्तिविना समाजवाद हँुदै साम्यवादमा पुग्न नसकिने भएकाले नेपालको राष्ट्रिय स्वाधीनता आवश्यक भएको हो ।

जंगबहादुर राणादेखि हालसम्मका नेपालका शासकहरु बृटिश–भारतका गुलाम, दलाल बन्दै भारतीय शासकहरुको चाकडी र च्याप्लुसी गर्दै शासन सत्तामा पुग्ने र नेपाली जनतामाथि शासन गर्दै आएका कारण करिब १८० वर्ष पहिलेदेखि नेपाली राष्ट्रिय स्वाधीनता धरापमा पर्दै आएको छ ।

नेपाली जनताको भोट लिए पनि जनताको विश्वास नमान्ने र भारतीय शासकहरुमाथि भर भर्दै आएको कम्युनिस्ट नामको दुई तिहाई भनिएको वर्तमान डब्बल नेकपाको सरकारले कुटनैतिक तथा राजनीतिक रुपले भारतसंग आन्तरिक रुपमा भारतसित वार्ता गरेर समस्या समाधान गर्ने र गुमेको भूभाग फिर्ता ल्याउन अधिकतम प्रयत्न गर्नु पर्नेमा वर्तमान दलाल सरकार झारा टार्ने र नेपाली जनताको आँखामा छारो हाल्ने षड्यन्त्रमा तल्लीन छ । यो दलाल सरकारबाट राष्ट्रिय स्वाधीनताको रक्षा गर्न र गुमेको भूमि फिर्ता हुने संभावना छैन । यसको निम्ति तेस्रो जनआन्दोलनको सुनामी आँधीवेरी सृष्टि गर्न आवश्यक छ । जनताको सशक्त जनआन्दोलनविना राष्ट्रिय स्वाधीनताको रक्षा गर्न र भारतद्वारा गुमाएको भूभाग फिर्ता गर्न संभव छैन ।

यसका अतिरिक्त इतिहासमै मुलुक भ्रष्टाचारले आक्रान्त बन्न पुगेको छ । नेकपाको वर्तमान कम्युनिस्ट नामधारी सरकार इतिहासमै भ्रष्ट सरकारको रुपमा नेपाली समाजमा दर्ज हुन पुगेको छ । यो सरकारकै संरक्षणमा भ्रष्टाचार मौलाइरहेको छ ।

शैक्षिक माफिया र शैक्षिक कालाबजारीयाका कारण नेपालको शैक्षिक क्षेत्र निकै आक्रान्त बन्न पुगेको छ । सर्वसाधारण जनताले मौलिक हक अधिकारको रुपमा रहेको शिक्षा प्राप्त गर्ने कुरा पनि गंभीर बन्न पुगेको छ । जसका कारण हजारौं नेपाली विद्यार्थीहरु विदेश पलायन हुन बाध्ये भइरहेका छन् ।
स्वास्थ्य क्षेत्रमा पनि शैक्षिक माफिया र शैक्षिक कालाबजारीयाका कारण जनताको मौलिक हक अधिकारको रुपमा रहेको जनस्वास्थ्यको क्षेत्र ज्यादै चिन्ताजनक बन्न पुगेको छ । शैक्षिक माफियाकारण हजारौं विद्यार्थीहरु लाखौं पैसा तिरेर मेडिकल शिक्षा लिन बाध्य भइरहेका छन् । सरकारको संरक्षणमा शैक्षिक माफियाहरुले स्वास्थ्य क्षेत्र ज्यादै चिन्ताजनक बन्न पुगेको छ ।

कालाबजारिया, कमिशनखोर नाफाखोर, विचैलियाहरुको कारण महंगिले आकाश छोएको छ, जनताको ढाड सेकिदासम्म पनि सरकारले यसलाई कार्वाहीको विषय बनाउनु सट्टा उल्टै सरकारकै संरक्षणमा महंगीले आकाश छोएको छ ।

बेरोजकारकै कारण आज लाखौं नेपाली युवाहरु विदेशिन बाध्य भइरहेका छन् । आज नेपालका गाउँ घरहरु युवा युवती शुन्य भइसकेको छ ।
हत्या, हिंसा र बलात्कारका घटनाहरु सरकारकै संरक्षणमा बढिरहेका छन् । निर्मला पन्त लगायतका बलत्कारी र हत्याराहरु सरकारी संरक्षणमा छाती फुलाएर नेपाली समाजमा हिडिरहेका छन् ।

राजनीतिक मूल्य–मान्यता ह्रास भइरहेको छ । कम्युनिस्ट नामधारी डब्बल नेकपाले नेपाली समाजमा फासीवादी सरकार चलाइरहेको छ । विपक्षीहरुलाई पेलेरै शासन गर्ने हर्कत गरिरहेको छ । यसको ज्वलन्त उदाहरण विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउनु रहेको छ । विप्लव नेकपामाथि प्रतिबन्ध लगाउनुको कुनै अर्थ छैन । राजनीतिक प्रतिशोध बाहेक अरु कुनै कारण छैन ।

यिनै विविध कारणले गर्दा मुलुकको राजनीतिक अवस्था ज्यादै गंभीर मोडमा पुगेको छ । यसको अलवा राष्ट्रिय स्वाधीनताको प्रश्न जुन आज जटिल बन्न पुगेको छ, यसको एक मात्र तेस्रो जनआन्दोलन नै हो ।

नेपालमा १० र १० वर्षमा ठूला ठूला जनसंघर्ष र जनआन्दोलनका घटनाहरु उथलपुथलका रुपमा ज्वारभाटाका रुपमा उठ्ने गरेको छ । २०३५÷३६ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको पहिलो जनआन्दोलन, २०६२÷६३ सालको दोस्रो जनआन्दोलनलाई एउटा उदाहरण र शिक्षा लिन सकिन्छ ।

२०६२÷६३ सालको दोस्रो संयुक्त जनआन्दोलनले २४० वर्षेे शाह वंशीय सामन्तवादी राजतन्त्रको अन्त्य गरेर लोकतान्त्रिक व्यवस्थाको स्थापना गरेको थियो र आज यसले पनि १० वर्ष पार गरिसकेको छ । आज मुलुकमा गंभीर प्रकारको संकट पैदा भइरहेको छ .

यस प्रकारको अवस्थामा क्रान्तिकारी कम्युनिस्ट शक्तिहरु र परिवर्तनकारी जनताले नजरअन्दाज गरिरहने हो भने मुलुकमा गंभीर प्रकारको दुर्घटना घट्न सक्ने संभावनाहरुलाई मध्येनजरमा राखेर राजनीतिक परिवर्तनको निम्ति तेस्रो जनआन्दोलनको सुनामी सृष्टि गर्न अनिवार्य बन्न पुगेको छ ।

सानातिना संघर्षले राजनीतिक परिवर्तन भैहाल्ने नामधारी कम्युनिस्टको दुई तिहाइको फासीवादी सत्ताको उलटपुलट हुने संभावना पनि छैन ।

त्यसो भएर सम्पूर्ण देशभक्त जनतान्त्रिक कम्युनिस्ट शक्तिहरु, लेखक, पत्रकार, साहित्यकार, नागरिक समाज, विभिन्न जातीय संघ रसंगठन हरु र आम परिवर्तनकारी एवम् मुक्तिकामी जनसमुदायका बिचमा ब्यापक एकता कायम गरेर मुलुकको संरक्षण र जनताको उन्नति र प्रगतिको निम्ति तेस्रो जनआन्दोलनको सुनामी सृष्टि गर्नुको विकल्प छैन । यसले मात्र नेपाल राष्ट्र र नेपाली जनताको सुन्दर भविष्यको रेखा कोर्नेछ । र , नेपाली जनताका सुन्दर नेपाल निर्माण गर्ने सपनाहरु पुरा गर्ने बाटो तय हुनेछ ।