भैरव रिसालले भने– ‘राष्ट्रघाती शासकहरुलाई खोजी खोजी सजाय दिनुपर्छ, नेपाली भूमि फिर्ता गराउन दिल्लीसँग घुँडा धसेर कुरा गर्नुपर्छ’

प्रकाशित मिति : २०७६ मंसिर १६


काठमाडौं । अग्रज पत्रकार तथा पूर्व प्रशासक एवम् सीमा बचाउ अभियानका अभियन्ता भैरव रिसालले राष्ट्रघात गर्ने शासकहरुलाई खोजी खोजी सजाय दिनु पर्ने र भारतले हडपेको भूमि फिर्ता गर्न दिल्लीसँग घुँडा धसेर नेपालका शासकहरुले कुरा गर्नुपर्ने विचार व्यक्त गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग, नेपाल, अखिल (क्रान्तिकारी) र अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघको संयुक्त आयोजनामा भएको विरोध ¥यालीसहितको सभालाई सम्बोधन गर्दै यस्तो विचार व्यक्त गरेका हुन् ।

उनले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र भारतले आफ्नो नक्सामा पारी जारी गरेको एक महिना बितिसक्दा पनि नेपालको सरकारले केही नगरेको, दौडिनुपर्ने ठाउँमा हिड्दै नहिडेको टिप्पणी गर्दै सरकार के गरी बसेको छ भनी प्रश्न गर्दै भने, “अब सरकारले मिचिएको भूमि फिर्ता गर्न प्रमाणसहित घुँडा धसेर कुरा गर्नु पर्छ । लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको हो भन्ने म पनि एउटा जिउँदो प्रमाण हुँ । मैले नै त्यस भूभागमा बस्ने नेपालीहरुको जनगणना गरेको छु ।”

इतिहासका विभिन्न कालखण्डमा नेपाली शासकहरुले ठूल्ठूला राष्ट्रघात गरेको भन्दै ती राष्ट्रघाती शासकहरुलाई खोजी खोजी सजाय दिनुपर्ने बेला आएको बताए । उनले जनतालाई भने, “खुरु खुरु भोट हाल्ने मात्रै होइन देश बचाउन पनि जनता अब सडकमा आउनु पर्छ । अहिले देशैभर जनतामा राष्ट्रियता प्रति जागरण पैदा भएको छ । माहौल तातेको छ । तातेकै बेलामा पिट्यो भने मात्र फलामलाई चाहेको आकार दिन सकिन्छ । त्यसैले अहिलेको यो आन्दोलनलाई सेलाउन दिनु हुँदैन । अझ देशव्यापी रुपमा जागरुक बनाउनु पर्छ ।”

रिसालले राष्ट्रिय प्रतिरोध आन्दोलनको क्रममा आफूले पटक पटक पुलिसबाट यातना खाएको र त्यसले आफूलाई अझ स्पातिलो बनाएको अनुभूति समेत सुनाएका थिए ।