नेपाली भूमि मिचेर बसेका भारतीयहरुलाई अब खोजी खोजी लखेट्नुपर्छ : प्रवक्ता कँडेल

प्रकाशित मिति : २०७६ मंसिर १४

विराटनगर । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा प्रवक्ता हरिभक्त कँडेलले नेपाली भूमि मिचेर बसेका भारतीयहरुलाई नेपाली जनता र सुरक्षाकर्मीको सहयोगमा खोजी खोजी नेपाली भूमिबाट लखेट्नुपर्छ भनेका छन् । क्रान्तिकारी माओवादी मोरङले शनिबार विराटनगरमा आयोजना गरेको जुलुससहितको कोणसभालाई सम्बोधन गर्दै प्रवक्ता कँडेलले यस्तो बताएका हुन् ।

नेता कँडेलले भारतीय विस्तारवादी अतिक्रमणका विरुद्ध आफ्नो पार्टी, मोर्चा तथा सबै जनवर्गीय संगठन निरन्तर आन्दोलनमा रहेको जानकारी दिंदै अतिक्रमित भूमि फिर्ता नभएसम्म आन्दोलन जारी राखिने बताए । नेपाली टोपी लगाएर भारतीय विस्तारवादी शासकहरुको चाकडी गर्ने र सत्तास्वार्थ अनुसार सार्वभौमिकतासमेर दाउमा राख्ने राष्ट्रघाती दलालहरु सत्ता र सरकारमा रहेको र व्यवस्था पनि त्यही किसिमको रहेको भन्दै नेपाल राष्ट्रको सार्वभौमिकता, भौगोलिक अखण्डताको रक्षा गर्न यहाँको दलाल संसदीय व्यवस्थाको विकल्पमा उत्पीडित जातिहरुको पहिचानमा आधारित संघीय जनगणतन्त्रात्मक व्यवस्था स्थापना अपरिहार्य रहेको चर्चा गरे । नेता कँडेलले त्यसकारण राष्ट्रिय स्वाधीनता र जनतन्त्रको आन्दोलनलाई एकसाथ अगाडि बढाउनु पर्ने बताए ।

नेपालको कालापानी क्षेत्र लगायत दशहजार वर्गकिमि भूमि गायब पारिदा चुँसम्म नबोल्ने ओली नेतृत्वको सरकार देशव्यापी जनताको दबाबका कारण सरकारले कालापानी क्षेत्र नेपाली भूमि हो भने पनि उक्त भूमि फिर्ता गराउनका निम्ति कुटनीतिक तथा राजनीतिक रुपमा जुन पहलकदमी गर्नु पर्ने त्यो नगर्नु र यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नु हुँदैन भनेर भन्नुले यो सरकारकै सहमतिमा नै भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा आफ्नो नक्सामा गाभेको त होइन भन्ने गम्भीर आशंका उत्पन्न भएको पनि बताए ।

प्रवक्ता कँडेलले नेपाली सेना र सशस्त्रलाई सीमा सुरक्षाका लागि तत्काल परिचालन गर्नुपर्ने धारणा राख्दै आम देशभक्त र क्रान्तिकारी शक्ति एक भएर राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डता रक्षाका आन्दोलनलाई निर्णायक रुपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।

नेता कँडेलले बद्नाम, अलोकप्रिय र असफल भएको प्रतिक्रियावादी दलाल संसदीय व्यवस्थाले आयोजना गरेको कथित उपनिर्वाचनको बहिस्कार आन्दोलनको क्रममा आफ्नो पार्टीका नेता कार्यकर्ता गिरफ्तारी गरेको र अपराधीलाई झै हत्कडी लगाएर ओली सरकारले निरंकुश र फासिवादी कदम चालेको भन्दै सरकारको उक्त कदमको घोर भत्र्सना एवम् कडा शब्दमा निन्दा गर्दै गिरफ्तार गरिएका सबै नेता कार्यकर्ताहरुको अविलम्ब रिहाइको माग समेत गरे ।

पार्टीका मोरङ सचिव बादलले सञ्चालन गरेको कोणसभामा मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेपालका सचिव सुधिर मण्डल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय सदस्य सेवन्तराज भण्डारीलगायतले पनि भारतीय हस्तक्षेपको चर्को विरोध गरेका थिए ।