क्रान्तिकारी युवा, विद्यार्थी र मजदुरहरुले अतिक्रमणका विरुद्ध १६ गते विशाल प्रदर्शन गर्ने

प्रकाशित मिति : २०७६ मंसिर १४


काठमाडौं । राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई देशव्यापी रुपमा जारी राखेको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध क्रान्तिकारी युवा, विद्यार्थी र मजदुरहरुले संयुक्त रुपमा विशाल प्रदर्शन गर्ने भएका छन् । सो पार्टी सम्बद्ध क्रान्तिकारी युवा लिग, अखिल (क्रान्तिकारी), अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघको ३ नं. प्रदेशको आयोजनामा काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा विशाल प्रदर्शनको तयारी गरिएको छ । कार्यक्रम अनुसार १६ गते सोमबार १२ बजे शान्तिबाटिकामा जम्मा भई शान्तिबाटिकाबाट बागबजार, पुतलीसडक, पद्मोदयमोड, प्रदर्शनीमार्ग, भृकुटीमण्डप, भद्रकाली, सहिदगेट, सुन्धरा, एनएसी, वीरअस्पताल हुँदै पुनः रत्नपार्क शान्तिबाटिकामा पुगेर सभामा परिणत हुने गरी विरोध ¥याली प्रदर्शन गरिने छ ।


विरोधसभालाई देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, आयोजक संगठनका अध्यक्षहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै,  राष्ट्रिय स्तरका चर्चित कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजक संगठनका नेताहरुले बताएका छन् । उनीहरुका अनुसार कार्यक्रममा ठूलोे संख्यामा युवा, विद्यार्थी र मजदुरहरु उतार्ने तयारी गरिएको छ । विरोध प्रदर्शनको कार्यक्रमलाई प्रभावकारी बनाउन शनिबार कुपण्डोल कार्यालमा अन्तिम तयारी बैठक बस्यो । आयोजक संगठनका नेताहरुसहित पार्टीका स्थायी समिति सदस्य तथा मध्यब्यूरो इन्चार्ज गौरव, ३ नं. प्रदेश इन्चार्ज सागर, पीवीएम प्रभाकिरण, सेक्रेटरी प्रवेशलगायतका नेताहरुको उपस्थितिमा बसेको बैठकले कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन ठोस ठोस कार्यविभाजन गरेको नेताहरुले बताएका छन् ।

विरोध प्रदर्शनलाई लक्षित गरी आयोजक संगठनहरुले ‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, मंसिर १६ गते शान्तिबाटिका जाऔं’ शीर्षकमा पर्चा समेत प्रकाशन गरी व्यापक रुपमा वितरण गरेका छन् ।