क्रान्तिकारी माओवादीका प्रदेश सम्मेलनहरु धमाधम सम्पन्न हुँदै, काठमाडौंले छान्यो प्रतिनिधि पर्यवेक्षक

प्रकाशित मिति : २०७६ कार्तिक २८


काठमाडौं । यतिखेर नयाँ जनवादी क्रान्तिको तयारीको प्रक्रियामा जुटिरहेको छ नेकपा (क्रान्तिकारी माओवादी) । क्रान्तिको लागि आवश्यक पर्ने तीन जादुगरी हतियारमध्येको पहिलो र महत्वपूर्ण रुपमा रहेको पार्टी संगठनलाई चुस्त, गतिशील र जुझारु बनाउने उद्देश्यलाई केन्द्रमा राखेर जिल्ला हुँदै अहिले प्रदेश सम्मेलनहरु धमाधम भइरहेका छन् । हालै पार्टीको ५ नं. प्रदेशको सम्मेलन सम्पन्न भइसकेको छ भने ३ नं. र २ नं. प्रदेशको सम्मेलन यही कात्तिकको २९ र ३० गते सम्पन्न हुँदैछ । २ नं. प्रदेशको सम्मेलनको उद्घाटन पार्टी महासचिव मोहन वैद्य‘किरण’ले गर्दै हुनुहुन्छ भने ललितपुरको चाङ्गाथलीमा हुने ३ नं. प्रदेशको सम्मेलनको उद्घाटन पार्टीका बरिष्ठ नेता तथा स्थायी समिति सदस्य सीपी गजुरेल गौरवले गर्दै हुनुहुन्छ । उता सदूरपश्चिम प्रदेशको सम्मेलन ३ र ४ मंसिरमा हुने कार्यक्रम तय गरिएको छ । यो प्रदेशको सम्मेलनको उद्घाटन पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीस राजवीरले गर्नुहुनेछ । अन्य प्रदेशको भने मिति ठोस भइसकेको छैन ।

३ नं. प्रदेश र २ नं. प्रदेश मातहतका जिल्लाहरुबाट सम्मेलनमा सहभागी हुने प्रतिनिधि पर्यवेक्षकहरु छनौट भइसकेको जनाइएको छ । सम्मेलनलाई व्यवस्थित र अनुशासित बनाउन आवश्यक सबै तयारी पूरा भएको सम्बन्धित प्रदेश पार्टी कार्यालयले जनाएको छ ।

यसैबीच, हालै ३ नं. प्रदेशको महत्वपूर्ण जिल्लाको रुपमा रहेको काठमाडौं जिल्ला पार्टीले एक भेलाको आयोजना गरी उक्त सम्मेलनका लागि प्रतिनिधि पर्यवेक्षक छनौट गरेको छ । २६ कात्तिकमा सम्पन्न भेलाले प्रदेश सम्मेलनका लागि ३१ जना प्रतिनिधि र १५ जना पर्यवेक्षक छनौट गरेको छ ।

पार्टीका पोलिटब्यूरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज प्रवेशको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको अध्यक्षता पार्टी केस तथा सेक्रेटरी सरुले गरेको थियो । भेलामा प्रमुख अतिथि लगायत पार्टी केस तथा ललितपुर इन्चार्ज क्षितिज लगायतका नेताहरुको उपस्थिति रहेको थियो । भेला सुरु हुनुपूर्व लिम्पियाधुरा–लिपुलेक–कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मूर्दावाद, सीमा अतिक्रमण बन्द गर, भारतीय विस्तारवाद कालापानी छोड लगायतका नाराहरुसहित विरोध प्रदर्शनसमेत गरिएको थियो ।