भारतीय अतिक्रमणको विषयलाई अन्तर्राष्ट्रियकरण गरिनु पर्दछ : महासचिव किरण

पार्टी एकताका लागि सिंह, विप्लव र किरातीलाई आव्हान

प्रकाशित मिति : २०७६ कार्तिक २५

दाङ । नेकपा (क्रान्तिकारी माओवादी) पाँच नं. प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै पार्टी महासचिव मोहन वैद्य‘किरण’ले पार्टी एकीकरणका लागि नेकपा (मसाल)का महासचिव मोहनविक्रम सिंह, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किरातीलाई सार्वजनिक रुपमा आव्हान गर्नुभएको छ । दाङको घोराहीमा आयोजित पार्टी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै महासचिव किरणले नेपालको कम्युनिस्ट आन्दोलनको बारेमा चर्चा गर्दै एकता र फुटका कारणहरु स्पष्ट पार्नु भयो ।

सोही क्रममा महासचिव किरणले पार्टी एकताका लागि नेकपा (मसाल)ले डबल नेकपासँगको मोह त्याग्नुपर्ने, नेकपा (विप्लव)ले रहस्यमय कार्यदिशा छाडी राज्यसत्ताका विरुद्ध संघर्ष गर्ने नीति लिनुपर्ने र नेकपा (माके)ले संविधानको विषयमा आफूलाई प्रष्ट पार्नुपर्ने धारणा राख्नु भएको थियो । उहाँले सच्चा कम्युनिस्ट पार्टीबीच क्रान्तिकारी ध्रुवीकरणको आवश्यकता बढेर गएको विषयमा पनि जोड दिनु भयो ।

नवऔपनिवेशिक अर्थतन्त्रलाई स्वीकार गरेर समाजवाद नआउने ठोकुवा गर्दै महासचिव किरणले डबल नेकपाले भन्ने गरेको समाजवाद प्रतिक्रियावादी सामाजवाद भएको विचार व्यक्त गर्नुभयो ।

भारतीय विस्तारवादी अतिक्रमण तथा हस्तक्षेपको विषयमा बोल्दै महासचिव किरणले भारतीय अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने अर्थात् अन्तर्राष्ट्रिय मुद्दा बनाउनु पर्ने विषयमा जोड दिनु भयो । उहाँले बृहत् राष्ट्रय राजनीतिक आन्दोलनको पनि आवश्यकता औल्याउनु भयो ।

सो कार्यक्रममा पार्टी स्थायी समिति सदस्य तथा पश्चिम व्यूरो इन्चार्ज रामसिंह श्रीस, अनेमसंघ (क्रान्तिकारी)की केस शुशिला आचार्य, नेपाल पत्रका महासंघ दाङका अध्यक्ष सविन, नेकपा (माले)का पीवीएम गोविन्द केके, नेकपा (माके) केस विनोद उपाध्याय, नेकपा मसालका भरत भण्डारी, थारु राष्ट्रिय मुक्ति मोर्चाका महासचिव रामजीत थारु लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

पीवीएम तथा ५ नं.प्रदेशका सचिव प्रेम सुवेदीले अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन पीवीएम भुपेन्द्र न्यौपाने गरेका थिए भने स्वागत मन्तव्य पार्टी केस समिर केसीले राखेका थिए । कार्यक्रममा विप्लव नेतृत्वको नेकपा परित्याग गरी आएका यमलाल, घनश्याम पौडेललगायतलाई पार्टी प्रवेश गराइएको थियो । सम्मेलनको समापनसँगै बन्दसत्र सुरु भएको छ । भोलिसम्म चल्ने सम्मेलनले प्रदेशको आगामी नेतृत्व चयन गर्ने बताइएको छ ।