ओली गएनन्, प्रचण्डले भने-कालापनीकाे विषयलाई अन्तर्राष्ट्रियकरण नगराैं

प्रकाशित मिति : २०७६ कार्तिक २५

 

काठमाडौं । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बाेलाइए पनि प्रधानमन्त्री ओली गएनन् ।
बैठकमा प्रधानमन्त्रीको तर्फबाट भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल उपस्थित भइन् ।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग पनि परेको विषयमा छलफल आजको बैठकमा समितिले प्रधानमन्त्री ओलीलाई बोलाएको थियो।  त्यस्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक समितिको बैठकमा उपस्थित भएका छन्।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतबाट मिचिएको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई अन्तर्राष्ट्रियकरण तत्काल गर्न नहुने बताएका छन्।
राज्यव्यवस्था समितिको सदस्यका रुपमा आजको बैठकमा उपस्थित हुँदै अध्यक्ष प्रचण्डले उक्त धारणा राखेका हुन्।

समिति बैठकमा पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले यसलाई अन्तर्राष्ट्रियकरण गर्ने नभनौँ, यदि गम्भीर वार्ता गर्दा पनि समाधान नभए पछि हेरौँला।’ समितिले भारतले नेपालको सीमा मिचेको बारेमा छलफल राखेको हो।
समिति बैठकमा बोल्दै उनले ऐतिहासिक तथ्य, प्रमाण र दस्तावेज लिएर भारतसँग प्रस्ट कुरा गर्नुपर्ने बताए। उनले महाकाली नदीको मुहान लिम्पियाधुरा रहेको स्पष्ट दस्तावेज रहेकाले लिम्पियाधुरा पूर्वको क्षेत्र नेपाल र पश्चिम क्षेत्र भारत रहेको विषयमा कुनै अन्योल नरहेको बताए ।
यो विषय गम्भीर नभए पनि विगतमा दह्रो कुरा राख्न नसकेको कारण समस्या देखिएको उनको भनाइ छ ।