क्रान्तिकारी विद्यार्थीहरुले भारतीय दूताबासकै अगाडि जलाए भारतको नक्सा

प्रकाशित मिति : २०७६ कार्तिक २२


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरुले भारतीय लैनचौरस्थित भारतीय दूताबास अगाडि नै भारतको नक्सा जलाएका छन् । नेपालको कालापानी–लिपुलेक–लिम्पियाधुरा लगायतको भूभाग आफ्नो नक्सामा गाभेर जारी गरेको भारतीय नक्साको विरोधमा भारतीय दूताबास घेराउ गर्न गएका क्रान्तिकारी विद्यार्थीहरुले भारतीय नक्सा जलाएका हुन् । सो क्रममा उनीहरुले भारतीय विस्तारवाद मूर्दावाद भन्दै भारत विरोधी चर्का नारा समेत लगाएका थिए ।

यसरी दूताबास घेराउ गर्न जानेमा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी , नेकपा विप्लव, नेकपा (माके), समाजवादी पार्टी निकट विद्यार्थी संगठनहरु रहेको अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले बताए । उनले भने, “भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्ध क्रान्तिकारी विद्यार्थीहरुको आन्दोलन जारी रहने छ ।”